Kathmandu Press

यी स्टार खेलाडी जसले गुमाउँदै छन् युरोकप

११ जुलाईसम्म चल्ने युरोपकमा थुप्रै स्टार खेलाडीसँगै केही नयाँ खेलाडीले सहभागीता जनाउने छन् । यो युरोकपमा केही स्टार अनुहार भने देखिनै छैनन् । जसमा सर्जियो रामोसदेखि ज्लाटन इब्राहिमोभिचसम्म छन्। यीमध्ये केहीले चाटका कारण युरोकप गुमाए भने केहीको टिम नै युरोकपमा छनोट हुन सकेनन्।
यी स्टार खेलाडी जसले गुमाउँदै छन् युरोकप
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २८ : मिनि विश्वकप अर्थात् युरोकप शुक्रबार (आज)बाट सुरु हुँदैछ । युरोकपको १६ औं संस्करण युरोपका ११ सहरमा संयुक्तमा रुपमा आयोजना हुँदै छ।

आज राति रोममा इटाली र टर्कीबीचको खेलसँगै सुरु हुने युरोकपमा कोरोना महामारीका कारण दर्शकको उपस्थिति भने न्यून हुने छ। युईएफएले प्रत्येक खेलमा २५ प्रतिशत दर्शकलाई रंगशाला उपस्थित हुन अनुमति दिएको छ।

युरोकपको १६औ संस्करण खेलिरहेका २४ टिममध्ये ९ पूर्वविजेता छन् भने फिनल्यान्ड र नर्थ म्यासेडोनिया नयाँ टिम हुने छन्। फ्रान्स, पोर्चुगल, बेल्जियम, इटाली र जर्मनीलााई यो पटक युरोकपको दाबेदारका रुपमा हेरिएको छ।

११ जुलाईसम्म चल्ने युरोपकमा थुप्रै स्टार खेलाडीसँगै केही नयाँ खेलाडीले सहभागीता जनाउने छन् । यो युरोकपमा केही स्टार अनुहार भने देखिनै छैनन् । जसमा सर्जियो रामोसदेखि ज्लाटन इब्राहिमोभिचसम्म छन्। यीमध्ये केहीले चाटका कारण युरोकप गुमाए भने केहीको टिम नै युरोकपमा छनोट हुन सकेनन्।

यी हुन युरोकपमा नदेखिने ५ स्टार : 

सर्जियो रामोस (स्पेन)

सर्जियो रामोस लामो सयमदेखि स्पेनिस टिमको नेतृत्व गरिरहेका छन्। स्पेनले २ युरोकप र १ विश्वकप उपाधि जित्दा टिमको सदस्य रहेका रियल मड्रिडका डिफेन्डर रामोस यो पटक युरोकपमा देखिने छैनन् । उनी युरोकपमा नदेखिने सबैभन्दा ठूला स्टार हुन्।

यो सिजन चोटका कारण धेरै समय मैदान बाहिर रहेका ३५ वर्षीय रामोसलाई स्पेनिस टिमका प्रशिक्षक लुइस एनरिकेले युरोकपको टिममा राखेनन् । चोटमुक्त हुँदै मैदान फर्किसक्दा पनि रामोसलाई टिममा नराख्दा एनरिकेको खुबै आलोचना पनि भयो, यो निर्णयले धेरैलाई आश्चर्यमा परेको थियो।

सन् २००५ बाट स्पेनिस टिमको नियमित सदस्य रहँदै आएका रामोसले स्पेनका लागि १८० खेल खेल्दै २३ गोल गरेका छन्। उनी सक्रिय खेलाडीमध्ये स्पनेका लाागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्। खेलजीवनको उत्तरार्धमा रहेका रामोस अब सम्भवतः युरोकपमा अब कहिल्यै देखिने छैनन्।

ज्लाटन इब्राहिमोभिच (स्वीडेन)

युरोकपको १६औं संस्करणमा नदेखिका अर्का ठूला स्टार हुन्, स्वीडेनका ज्लाटन इब्राहिमोभिच। गत मार्चमा ५ वर्षपछि सन्न्यास फिर्ता लिँदै राष्ट्रिय टिममा फर्किए ३९ वर्षीय इब्राहिमोभिचले चोटका कारण युरोकप गुमाएका हुन्।

इटालियन क्लब एसी मिलानबाट व्यवसायिक फुटबल खेलिरहेका इब्राहिमोभिचले घुँडाको चोटका कारण युरोकप गुमाएका हुन्। सिरी एअन्तर्गत मे ९ मा भएको युभेन्ट्सविरुद्धको खेलमा इब्राहिमोभिचले चोट बोकेका थिए। एसी मिलानले ३–० ले जितेको उक्त खेलमा उनी ६६ मिनेटमा सब्स्टिच्युट भएका थिए।

म्यान्चेस्टर युनाइटेड, बार्सिलोना, पिएसजी इन्टरमिलानलागयत युरोपका ठूला क्लबमा खेलिरहका उनी ३९ वर्षको उमेरमा पनि लयमा छन्। उनी दुई वर्षअघि अमेरिकन क्लब एएस ग्यालेक्सीबाट एसी मिलान आएका थिए। त्यसयता उनले ४७ खेलमा २८ गोल गरेका छन्। 

सन् २०१६को युरोकपमा खराब प्रदर्शन गरेलगत्तै उनले ३४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए। उनले विश्वपक छनोटअन्र्गत मार्चमा भएको कोसोभोविरुद्धको खेलमार्फत उनले राष्ट्रिय टिममा पुनरागमन गरेका थिए।

गत मार्चमा सन्यास फिर्ता लिँदै ५ वर्षपछि उनी स्वीडेनको टिममा फर्किएका थिए । स्वीडेन फुटबल संघले इब्राहिमोभिचले चोटका कारण युरोकप खेल्न नसक्ने बताएको छ ।

सन् २००१ मा डेब्यु गरेका उनले स्वीडेनका लागि ११६ खेल खेलेका छन् । उनी स्वीडेनका सर्वाधिक गोलकर्ता समेत हुन् । राष्ट्रिय टिमका लागि ६२ गोल इब्राहमोभिच स्वीडिस फुटबलका सबैभन्दा ठूला स्टार हुन्।

भिर्गिल भान डाइक (नेदरल्यान्ड्स)

७ वर्षपछि नेदरल्याड्स विश्व फुटबलको ठूलो प्रतियोगिता खेल्दैछ, युरोकप । तर डच टिममा हुने छैनन् स्टार डिफेन्डर भिर्गिल भान डाइक। सन् २०१४मा ब्राजिलमा भएको विश्वकप खेलेयता नेदरल्याड्स ठूला प्रतियोगिता (विश्वकप र युरोकप)मा छनोट हुन असफल भएको थियो। 

इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भान डाइकले पनि चोटकै कारण युरोकप गुमाएका हुन्। उनी सातमहिना यता मैदान बाहिर छन्। घुँडाको चोटबाट मुक्त भएपनि युरोकप खेलेर रिस्क लिन नचाहेको भन्दै उनी आफैंले यरोकप नखेल्ने घोषणा गरेका थिए। इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकले युरोकप नखेल्ने भएका छन् । घुँडाको चोटका कारण रिहाबमा रहेकाले भान डाइकले अर्को महिनादेखि सुरु हुने युरोकप नखेल्ने भएका हुन्।

गत अक्टोबरमा प्रिमियर लिगअन्तर्गत एभर्टनविरुद्धको खेलमा भान डाइकको घुँडामा चोट लागेको थियो। एभर्टनको गोलकिपर जोर्डन पिकफोर्डको ट्याकलमा भान डाइकलाई घुँडाको चोट लागेको थियो । ‘लामो समय मैदान बाहिर रहेँ, त्यसैले युरोकप नखेल्ने निर्णय गरेको हुँ । शारीरिक रुपमा यो सही हो जस्तो लाग्छ । अहिले रिहाबै छु, र रिस्क लिन चाहन्न,’ युरोकप नखेल्ने घोषणा गर्दै भान डाइकले भनेका थिए।

२९ वर्षीय भान डाइक वर्तमान समयका विश्वकै सबैभन्दा उत्कृष्ट डिफेन्डर हुन् । उनले नेदरल्याण्ड्सका लागि ३८ खेल खेल्दै ४ गोल समेत गरेका छन् । ७ वर्षपछि ठूलो प्रतियोगिता खेल्न लागेको डच टिममा उनको अभाव खड्कने छ ।

अर्लिङ हालन्ड (नर्वे)

वर्तमान विश्व फुटबलका उदीयमान स्टार हुन् अर्लिङ हालन्ड । नर्वेका यी २० वर्षीय स्ट्राइकरले यो सिजन जर्मन क्लब बोरुसिया डर्टमन्डबाट गज्जबको फुटबल खेले । त्यसैले यो समर ट्रान्सफर विन्डोमा हालन्डलाई भित्र्याउन ठूला क्लबको होडबाजी नै चलेको छ। 

तर, तिनै युवा स्टार हालान्डलाई यो पटक युरोकपले मिस गर्नेछ, उनको गज्जबको फिनिसिङ हेर्दै दर्शक रमाउन पाउने छैनन् । उनको देश नर्वे छनोट चरणमै रोकिएपछि हालन्डले युरोकप खेल्ने अवसर गुमाएका हुन्।

२० वर्षीय हालान्डले राष्ट्रिय टिममा सन् २०१९ मा डेब्यू गरे, त्यसयता १२ खेल खेल्दै ९ गोल गरिसकेका छन् । यो सिजन उनले बोरुसिया डर्टमन्डबाट ४१ खेलमा ४१ गोल गरेका थिए । उनी यो सिजन च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता पनि हुन्।

जान ओब्लाक (स्लोभेनिया)

युरोपियन क्लब फुटबलमा परिचिना नाम हो, जान ओब्लाक । तर, ओब्लाक अन्तर्राष्ट्रिय फुटबलमा भने त्यति परिचित छैनन्।  स्लोभेनियाका २८ वर्षीय ओब्लाक सन् २०१४ यता स्पेसिन क्लब एट्लेटिको मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। त्यहाँ उनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्, र उनी अलिहे विश्वकै उत्कृष्ट गोलकिपरमा पर्छन्।

ओब्लालकलाई पनि यो पटक युरोकपमा गोलपोस्ट सम्हालेको देख्न पाइने छैन । किनभने उनको टिम स्लोभेनिया यरोकपको छनोट चरण पार गर्न असफल भएको थियो। 

ओब्लाककै उत्कृष्ट प्रदर्शन मद्दतमा एट्लेटिको मड्रिडले यो सिजन रियल मड्रिड र बार्सिलोनालाई पछि पार्दै ला लिगा उपाधि जितेको थियो। उनले एट्लेटिकोबाट ३०३ खेल खेलेका छन्।

सन् २०१२ मा स्लोभेनियाको टिममा डेब्यू गरेका उनले ३७ खेल खेलिसकेका छन्।

प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्