Kathmandu Press

एम्बुलेन्स चालकहरू कोभिड बिरामी बोक्दा बोक्दै आफैँ संक्रमित

‘एम्बुलेन्स चालकसँग पर्याप्त स्वास्थ्य सामग्री नहुँदा यात्रुबाट मात्रै होइन, स्वयं चालकबाटै कोरोना संक्रमण फैलन सक्छ । एक चालक संक्रमित हुनेबित्तिकै ४०/५० जनालाई सर्न सक्छ।'
एम्बुलेन्स चालकहरू कोभिड बिरामी बोक्दा बोक्दै आफैँ संक्रमित
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २३ : कसैलाई कोरोना संक्रमणको लक्षण देखियो र रोगले च्याप्न वा गलाउन थाल्यो, नजिकै अस्पताल छ भने उनी आफन्तको सहारामा हिँडेर पुग्छ, अस्पताल टाढा छ भने एम्बुलेन्स वा कुनै सवारीसाधन खोज्छन्। निषेधाज्ञाका बेला धेरैले गुहार्ने एम्बुलेन्सलाई नै हो। अस्पतालमा पुगेर चेकजाँच गर्दा उनलाई कोरोना संक्रमण देखिन पनि सक्छ।

कोरानाको सामान्य लक्षणमै कोही हिँडेर वा कुनै सवारी साधनबाट अस्पताल पुगी चेकजाँच गरे र अवस्था सामान्य आएकाले उनी घरमै आएर बसे, भरे उनलाई कोरोना पजेटिभ देखियो, उनी घरमा बस्दाबस्दै थलिन पुगे भने उनले गुहार्ने पनि एम्बुलेन्सलाई नै हो। यसरी कोरोना संक्रमित चिकित्सकभन्दा पहिले एम्बुलेन्स चालकको सम्पर्कमा आउँछन्। एम्बुलेन्स चालकले निकै सावधानी अपनाउनुपर्छ, अर्थात् जोखिम मोलेरै काम गरिरहनुपरेको छ। एम्बुलेन्स चालकलाई सावधानी वा सुरक्षाका लागि केही स्वास्थ्य सामग्री अत्यावश्यक हुन्छ। यसरी जोखिम मोलेर काम गर्ने एम्बुलेन्स चालकको सुरक्षाका लागि सरकारले केही पहल नगरेको संयुक्त एम्बुलेन्स चालक संघ गुनासो गर्छ।

संघका अध्यक्ष तथा एम्बुलेन्स चालकको अनुभव भएका गोवद्र्धन गोविन्द सापकोटा भन्छन्, ‘एम्बुलेन्स चालकको पीडा कसैले बुझेनन्। कोभिड बिरामी बोक्ने समयमा सञ्चारमाध्यमले खोजी गरे पनि समस्या समाधान गर्न दबाब दिएका छैनन्।’

एम्बुलेन्स चालकका समस्या के के छन् त ? यसको जवाफ एउटा वाक्यमा आउँदैन, समस्या धेरै छन्। यतिखेर एम्बुलेन्स चालक आफ्नो परिवारसँग बस्न पाएका छैनन्। होटलले कोठा दिँदैन। खाजा, खाना, पानी किन्न खोज्दा पनि पसले नजिक पर्न नचाहने अध्यक्ष सापकोटाको गुनासो छ। ‘सरकारी अस्पतालबाट सञ्चालन हुने एम्बुलेन्सले स्वास्थ्य साम्रगी तथा सहयोग पाएका होलान्, तर निजी एम्बुलेन्स चालकको संगठनलाई सरकारले जोखिमका बेला सहयोग गर्न सकेन,’ अध्यक्ष सापकोटा भन्छन्, ‘एम्बुलेन्स चालकलाई पर्याप्त स्वास्थ्य सामग्री नहुँदा यात्रुबाट मात्रै होइन, स्वयं चालकबाटै कोरोना संक्रमण फैलन सक्छ। एक चालक संक्रमित हुनेबित्तिकै ४०÷५० जनालाई सर्न सक्छ। किनभने एम्बुलेन्स चालक, बिरामी, डाक्टरदेखि घरपरिवारको सम्पर्कमा हुन्छ।’

कोरोनाको संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले प्रयोग गर्ने महत्त्वपूर्ण सामग्री हो, पिपिई। जसको न्यूनतम मूल्य दुई हजार रुपैयाँ पर्छ। एम्बुलेन्स चालकले बिरामी बोके अनुसार पिपिई परिवर्तन गर्नुपर्छ। एक प्याकेट पन्जाको एक हजार पाँच सय रुपैयाँ पर्छ। एउटा मास्ककै १० रुपैयाँ। जसका कारण कोभिड बिरामी ओसारपसार गर्न सेवाग्राहीले महँगो शुल्क तिर्न बाध्य हुनुपरेको अध्यक्ष सापकोटा बताउँछन्।

उनका अनुसार, कोभिड सुरु भएदेखि एकपटक पनि सरकारले स्वास्थ्य साम्रगी सहयोग प्रदान गरेको छैन। जसका कारण कोभिड बिरामी बोक्दा पिपिईको मूल्य समेत जोडेर सेवाग्राहीबाट थप शुल्क लिन आफूहरु बाध्य भएको उनको भनाइ छ। ‘सेवाग्राहीको अस्पतालसम्म पु¥याएको सेवा शुल्कबाहेक पिपिइ शुल्क थप गरेर लिने गरिन्छ। सरकारले पिपिई मात्र प्रदान गरेमा सेवाग्राहीलाई शुल्कमा केही राहत मिल्थ्यो,’ उनले भने।

आर्थिक अवस्था न्यून भएका बिरामीलाई कम शुल्क लिएर अस्पतालसम्म पु¥याउने गरिएको पनि छ। ‘पिपिइको मूल्य उच्च भएका कारण निःशुल्क बिरामीलाई ओसारपसार गर्न सकिँदैन,’ अध्यक्ष सापकोटा भन्छन्, ‘एम्बुलेन्स चालकलाई पिपिईको व्यवस्थापन गरिदिएमा हामी सेवाग्राहीसँग पिपिई शुल्क लिँदैनौँ।’ अहिले पिपिई, मास्क, पन्जासहित गरेर सेवाग्राहीसँग दुई हजार पाँच सय रुपैयाँ थप शुल्क लिने गरिएको उनको उनको भनाइ छ।

विगत तीन वर्षदेखि एम्बुलेन्स चलाउँदै आइरहेका ३१ वर्षीय विनोद पौडेल अहिलेसम्म कुनै संघ संस्थाले पिपिई सहयोग नगरेको बताउँछन्। उनले सिन्धुपाल्चोकदेखि काठमाडौं बिरामी ओसारपसार गर्ने गर्छन्। कोभिडको बिरामी ओसारपसार गर्दा सिन्धुपाल्चोक जिल्लाले केही रकम सहयोग गर्ने भने पनि हालसम्म कुनै सहयोग प्राप्त नभएको उनको भनाइ छ। ‘बिरामीको आर्थिक अवस्था नाजुक छ भने घाटा भए पनि पिपिइ शुल्क लिन्नँ,’ चालक पौडेल भन्छन्, ‘सरकारले चालकलाई पिपिई मात्रै दिए पनि सेवाग्राहीलाई सहज हुन्थ्यो जस्तो लाग्छ।’

अध्यक्ष सापकोटाका अनुसार, देशभर लगभग ६ हजार एम्बुलेन्स चालक छन्। संयुक्त एम्बुलेन्स चालक संघमा भने चार हजार एम्बुलेस चालक दर्ता छन्। काठमाडौं महानगरपालिकाले मात्र नगरवासीको सुविधाका लागि नन कोभिड बिरामी बोक्न १० वटा एम्बुलेन्सबाट निःशुल्क सेवा दिइरहेको छ। ‘निषेधाज्ञाको समयमा नगरबासीलाई अस्पतालसम्म पुग्न सहज बताउन नन् कोभिड बिरामी बोक्ने एम्बुलेन्स परिचालन गरिएको हो,’ अध्यक्ष सापकोटा भन्छन्, ‘काठमाडौं नगरपालिका बाहेक अन्य कुनै स्थानमा कोभिड बिरामी बोक्ने र नन कोभिड बोक्ने एम्बुलेन्स छुट्ट्याइएको छैन। देशभर कोभिड र नन कोभिड बिरामी एम्बुलेन्सले बोकिरहेका छन्।’

चिकित्सक १२ देखि १८ घन्टा डियुटी गर्छन् तर एम्बुलेन्स चालक २४ घन्टा खटिनुपर्छ। उनका अनुसार, कोभिड संक्रमित बढेका बेला एम्बुलेन्स चालक दिनरात नै खटिनुपर्छ।

 

प्रकाशित मिति: १३:११ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्