Kathmandu Press

यसकारण कोरोना निको भएकाले पनि लगाउनैपर्छ खोप

हालै गरिएका दुई नयाँ अध्ययनले खोप लगाएका मानिसमा कोरोना भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता वर्षौँसम्म रहने दाबी गरेका छन्। यी खोजले भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता छोटो...
यसकारण कोरोना निको भएकाले पनि लगाउनैपर्छ खोप
Hardik ivfHardik ivf

हालै गरिएका दुई नयाँ अध्ययनले खोप लगाएका मानिसमा कोरोना भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता वर्षौँसम्म रहने दाबी गरेका छन्। यी खोजले भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता छोटो समय मात्र हुन्छ भन्ने शंका निवारणको प्रयास गरेका छन्।

अध्ययनले कोभिड–१९ निको भइसकेका र खोप लगाएका अधिकांशलाई प्रतिरोधात्मक क्षमता बढाउन बुस्टरको आवश्यकता नपर्ने निष्कर्ष पनि निकालेका छन्। तर, संक्रमणमा नपरेका र संक्रमित भएर पनि कमजोर प्रतिरोधात्मक क्षमता भएका सबैलाई खोप आवश्यक हुने शोधकर्ताको ठम्याइ छ।

दुवै अध्ययन एक वर्षअघि कोरोना संक्रमणमा परेका मानिसमा केन्द्रित थिए। नेचर जर्नलमा प्रकाशित अध्ययनअनुसार भाइरसको अंश कायम रहने कोषहरू हड्डीको मासीमा स्थिर रहन्छ र आवश्यक पर्दा प्रतिरोधात्मक क्षमता निर्माण गर्छ।

बायोलोजिक अनुसन्धानसम्बन्धी अनलाइन ‘बायोरेक्सिभ’मा प्रकाशित अर्को अध्ययनअनुसार ‘बी’ कोषिकाहरू संक्रमणपछि कम्तिमा १२ महिनासम्म परिपक्व र बलियो अवस्थामा रहने देखिएको छ। ‘अध्ययनबाट कोरोना संक्रमण र खोपले बनाएको प्रतिरोधक क्षमता दीर्घकालीन हुने देखिएको छ,’ पेन्सिल्भेनिया विश्वविद्यालयका इम्युनोलोजिस्ट स्कट हेन्स्लेले भने।

यी अध्ययनबाट भाइरस प्रतिरोधात्मक क्षमता क्षणिक हुने र कोरोनाका कारण सामान्य रुघाखोकी लाग्ने शंका हट्ने शोधकर्ताको बुझाइ देखिन्छ। डा. हेन्स्लेका अनुसार भाइरसहरू केही वर्षमा परिवर्तित। ‘बारम्बार कोरोना संक्रमित हुने कारण रोग प्रतिरोधात्मक क्षमताको साटो भाइरसको भिन्नतासँग बढी सम्बन्धित हुनसक्छ।’

वास्तवमा कोरोना संक्रमणविरुद्ध निर्मित तथा खोपका साथ बढेको ‘मेमोरी बी’ कोषिकाहरू यति शक्तिशाली छन् कि भाइरसका प्रकारहरूलाई पनि विफल गराउन सक्षम छन्। न्युयोर्कस्थित रक्फेलर युनिभर्सिटीका इम्युनोलोजिस्ट मिसेल नुसन्जवेगले ‘मेमोरी बी’ कोषिकाबारे अध्ययन गरेका छन्।

‘संक्रमित भएका र खोप लगाएका मानिसको मेमोरी बी कोषिकामा वास्तवमै अनौठो प्रतिक्रिया हुन्छ, रोग प्रतिरोधात्मक क्षमता सिर्जना हुन्छ,’ उनले भने, ‘र, ती कोषिका लामो समय रहने आशा गर्न सकिन्छ।’

केवल खोप लगाएका कारण मात्र होइन, त्यसपछि विकसित हुने प्रतिरक्षा ‘मेमोरी’ का कारण पनि यस्तो परिणाम प्राप्त हुने उनले बताए। कोरोना संक्रमण नभएका र खोप नलगाएका मानिसलाई खोपको बुस्टर आवश्यक हुने उनको भनाइ छ।

भाइरस संक्रमणलगत्तै ‘बी’ कोषिकाहरू द्रुत गतिमा फैलिन्छन् र ठूलो मात्रामा रोग प्रतिरोधी क्षमता (एन्टिबडी) उत्पादन गर्छन्। ‘मेमोरी बी’ कोषिकाबारे अध्ययन गर्न सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयका अली एलेबेडीको नेतृत्वमा अनुसन्धानकर्ताले कोरोना संक्रमण भएको एक महिना बितेका ७७ जनाको रगत तीन महिनाको अन्तरालमा विश्लेषण गरे। तीमध्ये ६ जनालाई मात्र संक्रमणका कारण अस्पताल भर्ना गरिएको थियो, बाँकीमा हल्का लक्षण मात्र थिए। ती मानिसमा एन्टिबडीको स्तर कोरोना संक्रमण भएको चार महिनापछि द्रुत गतिमा खस्कियो। 

केही वैज्ञानिकले त्यसलाई प्रतिरक्षा क्षमताको कमीका रूपमा व्याख्या गरेका छन्। तर, अन्य विज्ञले त्यो अपेक्षाकृत नै रहेको बताएका छन्। उनीहरूका अनुसार यदि रगतमा उच्च मात्रामा एन्टीबडी तयार भयो भने तीव्र गतिमा बाक्लो फोहोरमा परिणत हुन्छ।

त्यसको साटो तीव्र संक्रमणपछि एन्टीबडीको रक्तस्तर त्यसरी नै गिर्छ। त्यतिबेला ‘मेमोरी बी’ कोषिकाहरू हड्डीको मासीमा मौन रहन्छन्। र, जब शरीरलाई आवश्यक पर्छ, बाहिर निस्केर भाइरसमाथि प्रकार गर्न थाल्छन्।

डा. एलेबेडीको टोलीले १९ जनाबाट कोरोना संक्रमित भएको लगभग सात महिना पछि हड्डीको मासीको नमूना संकलन ग¥यो। तीमध्ये १५ जनाको नमूनाबाट ‘मेमोरी बी’ कोषिका पत्ता लाग्यो। अन्य चारजनामा त्यस्ता कोष थिएनन्। त्यसबाट पत्ता लाग्यो, कसैमा ‘मेमोरी बी’ कोषिका नै हुँदैनन् भने कसैमा थोरै परिमाणमा हुन्छन्।

सोही कारण कोरोना संक्रमण निको भएका मानिसले पनि अनिवार्य खोप लगाउनुपर्ने उनी बताउँछन्।

(न्युयोर्क टाइम्सबाट)
 

प्रकाशित मिति: ०६:३२ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्