Kathmandu Press

अनलाइन कक्षा : कतै इन्टरनेटको पहुँच छैन, कतै विद्यालयकै कुनै योजना छैन

कक्षा ८, १० र १२ बाहेक अन्य कक्षाका विद्यार्थीलाई विद्यालयले बिनापरीक्षा पनि आन्तरिक मूल्यांकन गरेर माथिल्लो कक्षामा लैजान सक्छन्। तर, परीक्षा हुन नसक्दा कक्षा ७, ९ र ११ का विद्यार्थी अलमलमा छन्।
अनलाइन कक्षा : कतै इन्टरनेटको पहुँच छैन, कतै विद्यालयकै कुनै योजना छैन
Hardik ivfHardik ivf

काठमाडाैं, जेठ ११ : काभ्रेको पाँचखाल नगरपालिका–६ स्थित जोरपाटी माविमा ९ कक्षामा अध्ययरत सुजन मिजार यतिखेर अनलाइन कक्षामार्फत पढिरहेका छन्। तर, अनलाइन कक्षा प्रभावकारी हुन नसकेको उनको गुनासो छ। ‘पोहोर महिनामा एक साता पनि  अनलाइन कक्षा राम्रोसँग सञ्चालन हुन सकेन। अहिले (निषेधाज्ञामा) पनि अनलाइन कक्षा सञ्चालन भएको छैन,’ उनी भन्छन्, ‘सहरतिर अनलाइन कक्षा नियमित भएका होलान्, तर गाउँतिर भएको छैन।’

सामुदायिक विद्यालयमा अध्ययन गराउने शिक्षिक, शिक्षिका र अभिभावकले अनलाइन कक्षामा चासो नदिएका कारण र इन्टरनेटको अभावदेखि विविध प्राविधिक समस्याका कारण अनलाइन कक्षा नियमित सञ्चालन हुन नसकेको उनको भनाइ छ।

उनको विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद ढुंगाना विद्यार्थीले नेट तथा मोबाइल छैन भनेर गुनासो गरेपछि अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको बताउँछन्। ‘सामाजिक दूरी कायम गरेर भए पनि पढाइरहेका थियौँ,’ उनले भने, ‘जेठको अन्तिम साता गत वर्षको शैक्षिक सत्र सकाउने योजना थियो, वैशाख १६ गतेदेखि निषेधाज्ञा भएका कारण शैक्षिक सत्रमा ढिलाइ भएको छ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ०७६ को चैत १० देखि महिनौँसम्म देशभर लकडाउन भएपछि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन  सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ ल्याएको थियो। सोहीबमोजिम ०७७ को साउनबाट रेडियो, टेलिभिजन, अनलाइनमार्फत कक्षा सञ्चालन गर्न भनिएको थियो। साउनदेखि सुरु भएको अनलाइन कक्षा माघ ७ गतेसम्म कायम रह्यो। माघ ७ पछि विद्यालय सञ्चालनमा आएका थिए।

सबै जिल्लाका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएका कारण जेठ अन्तिमसम्म गत वर्षको शैक्षित सत्र रहने शिक्षा मन्त्रालयले जनाएको थियो। तर, विद्यालय सञ्चालनको तीन महिना नबित्दै दोस्रो लहरको कोरानाका कारण यही वैशाख १६ देखि पुनः निषेधाज्ञा गरियो। र, पुनः अनलाइन कक्षाबाटै पठनपाठन सुरु हुन थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन्।

‘सिकाइलाई कसरी अगाडि बढाउने त्यो विद्यालयको जिम्मामा पर्छ,’ प्रवक्ता शर्माले भने।

पहिलो चरणको लकडाउन सुरु हुनअघि सुजनले कक्षा ८ को परीक्षा दिइसकेका थिए। २०७७ को नयाँ सत्र सुरु भएसँगै कोभिडका कारण विद्यालय सञ्चालन हुन सकेन। उनी कक्षा ९ भर्ना त भए तर हालसम्म ९ कक्षाको अन्तिम परीक्षा दिन पाएका छैनन्। अहिले सुजन कक्षा १० मा भर्ना हुनुपर्ने हो, तर विद्यालयले केही नभनेका कारण उनी  अलमलमा छन्।

प्रधानाध्यापक ढुंगाना भन्छन्, ‘जेठको अन्त्यसम्म विद्यालय सञ्चालन गर्न नसके विद्यालयले लिएको अघिल्लो परीक्षा, विद्यार्थीको अनुशासन, उपस्थितिका आधारमा पास गराइदिने र कक्षा सञ्चालन गर्ने योजनामा छौँ।’

काठमाडौं तारकेश्वर नगरपालिका–७ मा रहेको नागार्जुन माविमा कक्षा ५ मा अध्ययनरत मनिष बिसुन्केले कक्षा ५ को अन्तिम परीक्षा दिन पाएका छैनन्। त्यसमाथि पढाइ राम्रो नभएको उनको भनाइ छ।  ‘पहिलाको लामो समयको लकडाउनमा पनि दुई महिना राम्रोसँग पढाइ भएन,’ मनिष भन्छन्, ‘दोस्रो लहरको निषेधाज्ञामा एक–दुई दिनभन्दा अनलाइन कक्षा सञ्चालन भएको छैन।’

तनहुँको ब्यास नगरपालिका–९ स्थित श्री सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रश्र बोहोराले कक्षा ७ मा आएदेखि दुई महिना पनि विद्यालय गएर पढ्न पाइनन्। अनलाइन कक्षा सञ्चालन गर्ने वा नगर्ने भनी विद्यालयले जानकारी दिएको छैन। ‘विद्यालयले केही भनेको छैन,’ उनले भनिन्, ‘के गर्ने हो केही थाहा छैन।’

ब्यास नगरपालिका–९ कै श्री माहिन्द्री माविमा कक्षा ५ मा पढ्ने आकृति बानियाँ कहिले विद्यालय खुल्छ भन्ने आशामा बसेकी छन्। उनलाई पनि विद्यालयले अनलाइन कक्षा सञ्चालन हुने वा नहुने भनी जानकारी दिएको छैन। उनी भन्छिन्, ‘अनलाइन कक्षा सञ्चालन हुँदा नबुझेको कुरा सोध्न मिल्दैन, बरु स्कुल नै खोले हुने।’

त्यस्तै, काभ्रे पाँचखाल नगरपालिकास्थित सर्वमंगला उच्च माविमा स्नातक पहिलो वर्षमा अध्ययनरत अस्मिता लम्साल अनलाइन कक्षाबाट पढिरहेको बताउँछिन्। तर, नेटको समस्या भएकाले पढाएको नबुझिने उनी बताउँछिन्। उनी भन्छिन्, ‘अनलाइन कक्षा पढिरहँदा घरमा पनि पढेको सोच्दैनन्। कलेज जाँदा मात्र सिकिन्छ जस्तो सोच्नुहुन्छ।’

त्यस्तै, नुवाकोटको बेलकोटगढी– ११ मा रहेको श्री पञ्चकन्या माविमा कक्षा ९ मा अध्ययनरत सुस्मिता रैला अनलाइन कक्षा दैनिक सञ्चालन नहुने गुनासो गर्छिन्। ‘नेटको पहँुच छैन। डाटाबाट चलाउनुपर्छ। त्यो पनि त्यति राम्रो टिप्दैन। त्यसैले पढाएको कम बुझिन्छ,’ उनले भनिन्।

आफ्नो कक्षामा २५ जना मात्र विद्यार्थी र गाउँकै शिक्षकशिक्षिका भएकाले सामाजिक दूरी कायम गरी वा रुटिङ मिलाएर विद्यालय सञ्चालन भइदिए हुने उनको धारणा छ।

अनलाइन कक्षा सम्भव भएका स्थानमा अनलाइन कक्षा सञ्चालन गर्न तथा अनलाइन कक्षा सञ्चालन गर्न सम्भावना नभएको स्थानमा विद्यालय र विद्यार्थी सम्पर्कमा रही सिकाइलाई प्राथमिकता दिन भनिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार,  कक्षा ८, १० र १२  बाहेक अन्य कक्षाका विद्यार्थीलाई विद्यालयले बिनापरीक्षा पनि आन्तरिक मूल्यांकन गरेर माथिल्लो कक्षामा लैजान सक्छन्। कक्षा ८, १०, १२ कक्षाको परीक्षा गर्ने वा नगर्ने भन्नेबारे विज्ञसँग छलफल चलिरहेको उनको भनाइ छ।

कोभिड–१९ का कारण ०७७ को शैक्षिक सत्र ०७८ को जेठ अन्तिमसम्म सञ्चालन गर्ने भनिएको छ। ०७८ असार १ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भनिए पनि दोस्रो लहरको कोरोनाका कारण केही पछि सार्नेबारे छलफल भइरहेको प्रवक्ता शर्माको भनाइ छ। तर, यही अवस्थामा कक्षा कक्षा ७, ९ र ११ का विद्यार्थी अलमलमा छन्।

 

प्रकाशित मिति: १२:४७ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्