Kathmandu Press

कसरी सुरु भयो इजरायल–प्यालेस्टाइन द्वन्द्व ?

यस कहानीको बीचमा आउँछ, प्रथम विश्वयुद्ध र बालफोर घोषणा । यही घोषणालाई अहिलेको इजरायल–प्यालेस्टाइन द्वन्द्वको जड पनि मानिन्छ । प्रथम विश्वयुद्ध चलिरहँदा अटोमन साम्राज्य हार्ने अवस्थामा पुगेको थियो । तत्कालीन ब्रिटिस विदेशमन्त्री आर्थर बालफोरले ‘प्यालेस्टाइनमा यहुदीहरुका लागि राष्ट्रिय घर’ दिने घोषणा गरेका थिए ।
कसरी सुरु भयो इजरायल–प्यालेस्टाइन द्वन्द्व ?
Hardik ivfHardik ivf

काठमाडाैं, जेठ ३ : दुनियाँको सबैभन्दा पुरानो धर्ममध्ये एक हो, यहुदी धर्म। यस धर्मको इतिहास करिब चार हजार वर्ष पुरानो मानिन्छ। यस धर्मको सुरुवात जेरुसलेम सहरबाट हुन्छ, जुन आज इजरायलको राजधानी हो।  

यहुदी धर्मको सुरुवात अब्राहमले गरेका थिए, जसलाई इसाई र मुस्लिम धर्मका मानिसले समेत भगवानको दूतका रूपमा मान्छन्।

अब्राहमका छोरा इसहाकबाट दुई छोरा जन्मिए– एसाब र याकुब। याकुबलाई इजरायल भनियो। याकुबका १२ छोरामध्ये एकको नाम यहुदा थियो, यिनकै नामबाट यहुदी जातिको नाम रहन गयो। यिनीहरुको भाषा हिब्रु हो। यसरी यहुदी राज्य अस्तित्वमा आएको थियो। यस राज्यमा राजा सोलोमनले इसापूर्व १०औँ शताब्दीतिर एक मन्दिर बनाएका थिए। राजा सोलोमनको शासनपछि यस राज्यको बिस्तारै पतन हुन थाल्यो। पछि इसापूर्वको छैटौँ शताब्दी आएर बेबिलोनका शासकको आक्रमणबाट सोलोमनको मन्दिरमाथि तोडफोड भयो।  
यस हमलाबाट मन्दिरको एउटा गारो मात्रै बचेको थियो, जुन आज पनि यहुदीका लागि सबैभन्दा पवित्र तीर्थ मानिन्छ।

विभिन्न युद्ध र आक्रमणबाट यहुदीहरु युरोपभर छरिन पुगे। पछि इसाको १४औँ शताब्दीमा आएर यस क्षेत्रमा अटोमन साम्राज्य खडा भयो। जसले करिब करिब मध्य एसियामा कब्जा जमाएको थियो। प्रथम विश्वयुद्धपछि १९औँ शताब्दीको पूर्वाद्धतिर यो साम्राज्य विघटन भएको थियो। यही अटोमन साम्राज्यमा प्यालेस्टाइन रहेको थियो।

१९औँ शताब्दीमा विश्वभर राष्ट्रवादी भावना मौलाएको थियो। राष्ट्रवादको भावना यहुदीमा पनि आएको थियो। यहुदीमा राष्ट्रवादी भावना जगाउन थिओडर हर्जल नामका व्यक्तिको भूमिका थियो। १९औँ शताब्दीमा यहुदी आन्दोलन भयो, जसमा यहुदीहरु पुनः इजरायल फर्कन चाहे।

खासगरी पूर्वी युरोपका देशहरुमा यहुदीहरुमाथि अत्याचार गर्न थालिएको थियो। यहुदी धर्ममाथि प्रतिबन्ध लगाइएको पनि थियो। यसरी यहुदीहरु पुरानो इजरायल आउने क्रम सुरु भयो।

यस कहानीको बीचमा आउँछ, प्रथम विश्वयुद्ध र बालफोर घोषणा। यही घोषणालाई अहिलेको इजरायल–प्यालेस्टाइन द्वन्द्वको जड पनि मानिन्छ। प्रथम विश्वयुद्ध चलिरहँदा अटोमन साम्राज्य हार्ने अवस्थामा पुगेको थियो। तत्कालीन ब्रिटिस विदेशमन्त्री आर्थर बालफोरले ‘प्यालेस्टाइनमा यहुदीहरुका लागि राष्ट्रिय घर’ दिने घोषणा गरेका थिए। युद्ध अन्त्य भएपछि यहुदीहरुलाई प्यालेस्टाइनमा बासको व्यवस्था गर्न ब्रिटिसले सहयोग गर्ने घोषणा गरिएको थियो।

यस्तै, ब्रिटिसले अर्कोतिर फ्रान्स र रसियाका साथ पनि सम्झौता गरेको थियो। जुन सम्झौतामा ब्रिटिसले प्यालेस्टाइन आफ्ना लागि राखेको थियो भने सिरिया र जोर्डन क्षेत्र फ्रान्सलाई दिइएको थियो। टर्कीको केही क्षेत्र रसियालाई दिइएको थियो। अर्कोतिर, ब्रिटिसले प्यालेस्टाइन अरबलाई दिने पनि भनेको थियो। किनभने अरब अटोमन साम्राज्यको विरुद्धमा थियो। अरब एक जातीय समूह हो,  अरबी भाषा बोल्नेहरुमा साउदी अरेबिया, इराक, इजिप्ट लगायत धेरै देश पर्छन्।

प्रथम विश्वयुद्ध सकिएपछि प्यालेस्टाइनमा नयाँ सरकार बन्छ। त्यहाँको प्रशासनलाई ‘द ब्रिटिस म्यान्डेट फर प्यालेस्टाइन’ भनिन्छ। जसमा आजको पूरा इजरायल र जोर्डन देश सामेल थियो।

अटोमन साम्राज्यका बेला प्यालेस्टाइनमा तीन प्रतिशतमा मात्र यहुदी थिए, तर पछिल्लो ३० वर्षजतिमा यो बढेर ३० प्रतिशत हुन पुग्यो। विभिन्न ठाउँका यहुदी आएर प्यालेस्टाइनमा जमिन किनेर बस्न थालेका थिए।

पछि ब्रिटिससँगको सम्झौता अनुसार जोर्डन र लेबनान इलाका फ्रान्सले पायो। इराक ब्रिटिसकै थियो।

सन् १९३६ मा प्यालेस्टिनीले ब्रिटिस म्यान्डेटविरुद्ध विद्रोह गरे। यस विद्रोहलाई दबाउन ब्रिटिस सरकारले यहुदी सेनाको साथ लियो। अरबलाई शान्त गर्न ब्रिटिसले यहुदीहरु प्यालेस्टाइनमा भित्रिने क्रममा कमी ल्यायो। यस नियमलाई यहुदी सेनाले मनपराएको थिएन।

यसपछि सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो। यसबीचमा युरोपमा भयानक त्रासदी फैलियो, जसलाई ‘होलोकास्ट’ भनिन्छ, यसमा यहुदीमाथि नरसंहार भएको थियो। त्यतिबेला झन्डै ४० लाख यहुदी मारिएको भनिन्छ। हिटलरले यहुदीलाई ग्यासको चेम्बरमा राखेर मारेको पनि भनिन्छ। त्यसपछि यहुदीहरु ज्यान जोगाएर आफ्नै पुरानो इजरायल आउन थाले।

दोस्रो विश्वयुद्धपछि प्यालेस्टाइनको समस्याबाट ब्रिटिसले हात झिक्न खोज्यो। त्यहाँको समस्या निकै जटिल बनेको थियो। यहाँको समस्या समाधानका लागि युनाइटेड नेसन (युएन, जुन सन् १९४५ मा गठन भएको थियो) लाई जिम्मेवारी दिइयो। फेब्रुअरी १९४७ मा त्यहाँ यहुदीका लागि नयाँ देश (इजरायल) बनाउनेबारे भोटिङ भयो। भोट इजरायलको समर्थनमा गयो। यसरी प्यालेस्टाइन अरब र यहुदी राज्य गरी यस क्षेत्र दुई हिस्सामा बाँडियो। यहुदीको आवादी बढी भएको क्षेत्र इजरायलले पाएको थियो।

तर, जेरुसलेममा भने ठूलो समस्या थियो, यहाँ आधा जनसंख्या मुस्लिम र आधा जनसंख्या यहुदीको थियो। त्यसैले यस सहरलाई अन्तर्राष्ट्रिय रुपमा नियन्त्रणमा राख्ने फैसला युएनले लियो।

भोटिङपछि आधा आधा जस्तो हिस्सा बाँडिएपछि अरबी देशले इजरायलमा हमला गरे। यसरी पहिलो अरब–इजरायल युद्ध भयो, सन् १९४८–४९ मा।

इजिप्ट, सिरिया, इराक, जोर्डनले यस नयाँ बनेको इजरायल क्षेत्रमा आक्रमण गरेका थिए। तर, युद्धमा इजरायलले आक्रमणकारीलाई हराउँदै आफ्नो क्षेत्र झनै विस्तार ग¥यो। यस युद्धले अर्को समस्या खडा ग¥यो, इजरायल क्षेत्रमा रहेका अरबी विस्थापित भएर अन्य देशमा गएर बस्न थाले। यस लडाइँबाट गाजा क्षेत्र इजिप्टको कब्जामा र वेस्टब्यांक क्षेत्र जोर्डनको क्षेत्रमा पर्यो। यस युद्धबाट करिब सात लाख प्यालेस्टिनी विस्थापित हुन पुगे। स युद्धपछि १९४७ मा जुन भूभाग प्यालेस्टाइनले पाएको थियो, त्यो खत्तम भएर गयो।

पछि सन् १९६७ मा यस क्षेत्रमा ६ दिन युद्ध भयो। इजिप्ट, जोर्डन र सिरियासँग इजरायलको सम्बन्ध राम्रो थिएन। यही तनावका बीच इजिप्टले आफ्नो सेना इजरायलको सीमामा तैनाथ गरेको थियो। इजरायलले पनि आफ्नो तयारी अगाडि बढायो। ६ दिन चलेको युद्धमा इजरायलले इजिप्ट, जोर्डन र सिरियालाई पुनः हरायो। यस युद्धबाट इजरायलले सिरियाको गोलन हाइटमा कब्जा जमायो। त्यस्तै, इजिप्टको गाजा क्षेत्र कब्जामा लियो। सिनाइ पेनिनसुला, जो इजिप्टकै क्षेत्र थियो, त्यसमाथि पनि इजरायलले कब्जा जमायो। वेस्ट ब्यांक, जो जोर्डनको कब्जामा थियो, यसमाथि पनि इजरायलले कब्जा जमायो। त्यस्तै, जेरुसलेमको आधा हिस्सामा पनि कब्जा जमायो।

इजिप्ट र सिरियाले आफूले गुमाएको भूभाग फिर्ता लिन सन् १९७३ मा इजरायलमाथि हमला गरे। यस हमला योम किपुर (यहुदीको प्रमुख पर्व)को दिन भएको थियो। यस हमलाबाट इजिप्ट वार्ताका लागि तयार भयो। १९७८ मा गएर इजिप्ट र इजरायलका बीचमा एक सम्झौता भयो, यस सम्झौताबाट सिनाइ पेनिनसुला इजरायलले इजिप्टलाई फिर्ता दियो। यसपछि इजिप्टले इजरायललाई एक देशका रुपमा मान्यता दियो, यसअघि अरब देशले इजरायललाई देशको रुपमा स्वीकार गरेका थिएनन्।

यहाँसम्मको इतिहास अरब–इजरायलबीचको द्वन्द्वसँग सम्बन्धित छ। यसपछि भने प्यालेस्टाइन–इजरायल द्वन्द्व सुरु हुन्छ।

सन् १९६४ मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेस (पिएलओ) जन्मिएको थियो। पिएलओले प्यालेस्टिनीको मुक्तिका लागि संघर्ष सुरु ग¥यो। पिएलओका चर्चित नेता थिए, यासिर अराफात।

सन् १९८७–९३ सम्म पहिलो इन्टिफिडा चल्यो, अरबी भाषामा इन्टिफिडाको अर्थ विद्रोह भन्ने लाग्छ। जब इजिप्टले इजरायलसँग सम्झौता गर्यो, त्यसयता इजरायलले केही दमनकारी नीति चालू राखेको थियो। उसले प्यालेस्टिनीहरुलाई अधिकार दिएन। यसविरुद्ध पिएलओ लागेको थियो। यस विद्रोहबाट हिंसा भड्किएको थियो।

यसै दौरानमा सन् १९८७ मा प्यालेस्टाइनलाई मुक्त गर्न अर्को संगठन बन्यो– हमास। हमास अझ बढी राष्ट्रवादी र कट्टर पनि थियो। आफ्नो भूभागमा यहुदी आएर कब्जा गरेकाले त्यसलाई आफूहरुले नछाड्ने हमासको मान्यता देखिन्थ्यो।

सन् १९९३ मा आएर इजरायल र प्यालेस्टिनीका बीचमा शान्ति सम्झौदा भयो। यो सम्झौता इजरायल सरकार र पिएलओका नेता यासिर अराफातबीच भएको थियो। यसको मध्यस्थकर्ता थिए, अमेरिकी राष्ट्रपति बिल क्लिन्टन। यस सम्झौतालाई ‘ओस्लो एकर्डस्’ भनिन्छ।

यस सम्झौतापछि पिएलओले इजरायललाई मान्यता दियो, अर्कोतिर इजरायल सरकारले पिएलओलाई प्यालेस्टिनीहरुको प्रतिनिधि भनेर मान्यो। यसअघि पिएलओलाई इजरायलले आतंकारी समूहको दर्जा दिएको थियो। यस सम्झौतामा पाँच वर्षसम्म सबै समस्या समाधान गर्ने भन्ने थियो। यही सम्झौतापछि वेस्ट ब्यांक र गाजा क्षेत्र जहाँ बहुसंख्यक प्यालेस्टिनी छन्, त्यहाँ प्यालेस्टिनीको सरकार बन्यो। जसका लागि प्यालेस्टाइन अथोरिटी (पिए), वा प्यालेस्टाइन नेसनल अथोरिटी (पिएनए) पनि भनिन्छ, को गठन भयो। यसअघि वेस्ट ब्यांक र गाजा पूरै इजरायलको कब्जामा थियो।

इजरायल–प्यालेस्टाइन बीचको द्वन्द्व पाँच वर्षभित्र समाधान भएन। सन् २००० को वार्ता असफल भएपछि दोस्रो विद्रोह चल्यो, सन् २०००–२००५ सम्म।

सन् २००६ मा गाजामा चुनाव भयो, जसमा हमासले चुनाव जितेर निकै प्रभावशाली भएर उदायो। पिएलओसँग सम्बन्धित अर्को पार्टी थियो, फताह, जसले हमासलाई सरकारमा लिन चाहेन, केही समय लिए पनि। सन् २००७ मा हमासले गाजा क्षेत्रमा कब्जा गर्यो। यसपछि प्यालेस्टाइनमा दुई राजनीतिक शक्ति उदाए– फताह र हमास। सत्तामा आएपछि हमासले इजरायलमाथि हमला गर्न थाल्यो, यसको विरुद्धमा इजरायलले गाजामाथि नाकाबन्दी लगायो। यसबीचमा सन् २००८, २०१२, २०१४ देखि अहिलेसम्म गाजा क्षेत्रमा प्यालेस्टाइन र इजरायलबीच युद्ध चलिरहेछ।

इजरायल र प्यालेस्टाइनको द्वन्द्वका बीचमा धेरै समस्या छन्। त्यसमध्ये जेरुसलेम पनि आउँछ, जुन क्षेत्र यहुदी, मुस्लिम र क्रिस्चियनको पवित्र स्थल हो।

इजरायलले जेरुसलेमलाई आफ्नो राजधानी बनाएको छ। यहाँ सोलोमनको मन्दिर छ। यस्तै, यहाँ अल अक्सा मस्जिद छ। त्यस्तै यहाँ वेस्ट्रन वाल पनि रहेको छ, जुन यहुदी धर्ममा महŒवपूर्ण छ।

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा अर्को समस्या छ, प्यालेस्टिनी शरणार्थी। सन् १९४८, १९६७ मा भएको युद्धमा इजरायलबाट करिब ५० लाख प्यालेस्टिनी सिरिया, जोर्डन, इजिप्ट लगायत अन्य अरबी देशमा शरणार्थी हुन पुगेका छन्। यी सबै शरणार्थीलाई फिर्ता ल्याउन इजरायलले चाहेको छैन। त्यस्तै, इजरायलले आफ्ना नागरिकलाई वेस्ट ब्यांकमा बस्न प्रेरित गरिरहेको छ, जबकि युएनले यो भूमि प्यालेस्टिनीलाई दिएको थियो।

इजरायलले वेस्ट ब्यांकमा पर्खाल लगाएको छ, उसको भनाइ छ कि यो उसले आतंकवादी हमलाबाट जोगिन बनाएको हो। यति समस्याका बीच इजरायल–प्यालेस्टाइन द्वन्द्व छ। द्वन्द्वको समाधान इजरायल र पालेस्टाइन दुई देशको अस्तित्वलाई मानिएको छ। गाजा र वेस्ट ब्यांकलाई छाडेर इजरायलले अलग देश प्यालेस्टाइन बनाउन चाहेर मात्र हुँदैन, अर्को ठूलो समस्या शरणार्थीको छ। सबै शरणार्थी इजरायल फर्कने हो भने आफूलाई समस्या हुने इजरायलको आकलन छ।

पछिल्लो १० मेमा इजरायली पुलिस अल एक्सा मस्जिदमा पुगेपछि तनाव उत्पन्न भएको थियो।

- एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति: १५:१६ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्