नगरप्रमुख संक्रमितलाई कोसेली बोकेर घरघरमा

खलंगा, जेठ २ : चन्दननाथ नगरपालिकाकाले  होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई कोसेली लिएर घरघरमा भेट्ने अभियान शुरुआत गरेको छ। अभियानमा नगरप्रमुख कान्तिका सेजुवाल सहित प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल र स्वास्थ्य शाखाका प्रमुख पृथ्वीनाथ योगी  छन्। 

स्यानिटाइजर, मेडिकल मास्क, भिटामिन ‘सी’ र ‘डी’, च्यवनप्रास, एक क्यारेट अण्डा, साबुन र चना लिएर नगरपालिकाको टोली सङ्क्रमितको घरमा पुगेको नगरप्रमुख सेजुवालले जानकारी दिए। सङ्क्रमितको स्वास्थ्य अवस्थाको चिन्ता गरी घरदैलो अभियानमार्फत कोसेली दिने कामको शुरु भएको स्वास्थ्य शाखाका प्रमुख योगीले बताए। 

सङ्क्रमित भएका बिरामीलाई पौष्टिक तत्वको कमीले गर्दा स्वास्थ्य अवस्थामा समस्या नहोस् भनेर कोसेली लिएर घरमा पुगेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए। आइसोलेशनमा बसेका नागरिकबाट अरू व्यक्तिमा कोरोना सर्न सक्ने भएकाले सचेत रहन सुझाव दिने काम भएको नगरपालिकाले जनाएको छ।

गाउँमा सङ्क्रमित भएका कोरोनाका बिरामीहरुले भान्सा,  शौचालय, खानेपानी धारा एउटै प्रयोग गरेको हुनाले अरू मानिसलाई सचेत हुन नगरपालिकाले आग्रह गरेको छ। सङ्क्रमितहरुलाई आफू सुरक्षित भइ घरपरिवार र समाजलाई सुरक्षित राख्न तथा नगरपालिकाले दिएको पौष्टिक तत्वको सेवन गर्न सल्लाह दिएको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ। सङ्क्रमितलाई स्वास्थ्य अवस्था गाह्रो भएमा खबर गर्न पनि  नगरपालिकाले आग्रह गरेको छ। 

सङ्क्रमित भएकाहरुलाई मास्कको नियमित प्रयोग गर्न, साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सल्लाह दिइएको छ। आत्मबल कमजोर भएका  सङ्क्रमितको मनोबल बढाउन र गाउँमा हुने विवाह व्रतबन्धलगायत कार्यमा सरिक नहुन नगरप्रमुख सेजुलाले सबै नागरवासीलाई आग्रह पनि गरेका छन्। 

नगरपालिकाभित्र ५२ सङ्क्रमितहरु  आइसोलेशनमा छन् । घरमा बसेका सङ्क्रमितलाई  हेलचक्र्याइँ नगर्न भनिएको छ। नगरपालिकाको टोली कोसेली बोकेर घरमा पुग्दा  सङ्क्रमित निकै खुशी भएको स्थानीयवासी केशवनाथ योगीले जानकारी दिए।
 

 Published Date: Sunday, 16th May 2021 2:15:00 pm