Kathmandu Press

विपक्षी गठबन्धनको बहुमत दाबी कमजोर, प्रधानमन्त्रीमा ओली नै दोहोरिने सम्भावना

संविधानको धारा ७६ (२) अन्तर्गत् बहुमतको सरकार बनाउने विपक्षी गठबन्धनको प्रयास कमजोर बनेको छ ।
विपक्षी गठबन्धनको बहुमत दाबी कमजोर, प्रधानमन्त्रीमा ओली नै दोहोरिने सम्भावना

काठमाडौं, वैशाख ३० : संविधानको धारा ७६ (२) अन्तर्गत् बहुमतको सरकार बनाउने विपक्षी गठबन्धनको प्रयास कमजोर बनेको छ ।

संघीय संसद्को चौथो ठूलो दल जसपाको महन्थ ठाकुर– राजेन्द्र महतो समूहलाई सहमतिमा ल्याउन नसकिएपछि बहुमत दाबी कमजोर बनेको हो । एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसदले राजिनामा दिएर मार्गप्रशस्त गरिदिने विपक्षी गठबन्धनको आशा पनि पूरा हुन सकेन ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता नेपालबीच चार घण्टासम्म बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको वार्तापछि तत्काल सांसद पदबाट राजिनामा नदिने पक्षमा नेता नेपाल देखिएका छन् ।

प्रतिनिधिसभामा एमालेका एक सय २१ सांसद छन् । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (सभामुखसहित), जसपाका ३२ तथा राप्रपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । यस्तै, एक स्वतन्त्र सांसद पनि छन् ।

प्रतिनिधिसभामा हाल कायम सांसद संख्या दुई सय ७१ को बहुमतबाट मात्र विपक्षी गठबन्धनले सरकार बनाउन सक्ने थियो । त्यो भनेको कम्तिमा एक सय ३६ सांसद हुन् । कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई समूह, जनमोर्चा र स्वतन्त्र गरी विपक्षी गठबन्धनमा एक सय २७ सांसद मात्र छन् ।

सोही कारण विपक्षी गठबन्धनले बहुमतको सरकारको दाबी गर्ने अवस्था बाँकी छैन ।

अब संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभामा ठूलो दलका नेताको हैसियतमा केपी ओली नै प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको छ । प्रधानमन्त्री ओलीले धारा ७६ (२) अनुसार बहुमतकै सरकार बनाउन सक्ने आकलन पनि भइरहेको छ ।

एमालेका एक सय २१, जसपाको महन्थ–राजेन्द्र समूहका १३, नेमकिपा र राप्रपाका एक–एक सांसदसहित एक सय ३६ संख्या पुग्नेछ ।
 

प्रकाशित मिति: १९:२३ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्