Kathmandu Press

महन्थ र राजेन्द्रको देउवासँग वार्ता, समीकरण फेरिने संकेत

सत्तारुढ एमालेमा एकताको कसरत चलिरहँदा विपक्षी गठबन्धनमा समीकरण हेरफेरको सम्भावना बढेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपा एक ढिक्का भएर नयाँ सत्ता गठबन्धन बन्ने सम्भावनाका रूपमा यसलाई अर्थ्याइएको छ ।
महन्थ र राजेन्द्रको देउवासँग वार्ता, समीकरण फेरिने संकेत

काठमाडौं, वैशाख ३० : सत्तारुढ एमालेमा एकताको कसरत चलिरहँदा विपक्षी गठबन्धनमा समीकरण हेरफेरको सम्भावना बढेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपा एक ढिक्का भएर नयाँ सत्ता गठबन्धन बन्ने सम्भावनाका रूपमा यसलाई अर्थ्याइएको छ ।

एमालेभित्रको द्वन्द्वले बिहीबार बिहान एकाएक ‘यू–टर्न’ लिएको छ । अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट गरिएको निलम्बन फुकुवा गरेका थिए ।

त्यस्तै ‘यु–टर्न’ जसपामा पनि देखिएको छ । हालसम्म विपक्षी गठबन्धनमा सामेल हुन आनाकानी गर्दै आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो एकाएक कांग्रेस सभापति शेरबहादुर देउवासँग वार्ता गर्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।

एमाले एक भएपछि त्यसका अध्यक्ष ओलीलाई आफूहरूको आवश्यकता नपर्ने बुझाइका कारण ठाकुर र महतो कांग्रेस सभापति देउवासँग वार्ता गर्न गएको बुझाइ जसपाभित्र छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । त्यसका लागि विपक्षी तीन दल एक ठाउँमा उभिए भने बहुमत पुग्छ ।

कांग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ (सभामुखबाहेक) र जसपासँग ३२ सांसद छन् । त्यो भनेको १४१ सांसद हुन् । हाल प्रतिनिधिसभामा कायम सांसद संख्या दुई सय ७१ छ । नयाँ सत्ता समीकरण बन्न एक सय ३६ सांसद आवश्यक हुन्छ ।
 

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्