किन बढे घरेलुहिंसा ? सञ्चारमाध्यममा बलात्कार समाचार बढी
महिलालाई हातपात गर्न हुन्न, गरे सहजै प्रमाण बन्छ भन्ने कतिपय पुरुषले बुझिसकेका छन् । त्यस्ता पुरुषले श्रीमतीलाई दैनिक गाली गर्ने, चरित्र हत्या गर्ने गरेको उजुरी आउँछन् ।काठमाडौं, वैशाख २९ : काठमाडौं बाफल बस्ने २७ वर्षीया कमला पहाडी लकडाउन अघिसम्म महानगरीय प्रहरी परिसर काठमाडौं महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटी (महिला सेल)मा दैनिक रूपमा धाउँथिन् ।
उनी चार वर्षजति वैदेशिक रोजगारी गरेर तीन महिनाअगाडि फर्किएकी हुन् । वैदेशिक रोजगारीमा रहँदा काभ्रेपलाञ्चोक कोसीपारि घर भएका बस्नेत थरका व्यक्तिसँग उनको प्रेम सम्बन्ध थियो । दुई साताअघि (वैशाख १५) कालीमाटी महिला सेलमा भेटिँदा कमलाले भनिन्, ‘वैदेशिक रोजगारीबाट कमाएर उसलाई तीन लाख रुपैयाँ दिएकी थिएँ, अहिले विवाह गर्न पनि मान्दैन, पैसा फिर्ता पनि दिँदैन।’
आफू वैदेशिक रोजगारीबाट फर्कंदाबित्तिकै विवाह गर्ने कुरा भएको उनको भनाइ छ । ‘मेरो भावनासँग खेलवाड ग¥यो,’ उनी भन्छिन्, ‘विवाह नगर्ने भए मेरो पैसा फिर्ता दिनु भन्दा भागिरहेको छ । त्यसैले उजुरी गर्न आएँ ।’
विवाह हुने कुरा आफूहरू दुवैको परिवारलाई थाहा भइसकेको उनी बताउँछिन् । पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेर आज आएर विवाह गर्न नमान्दा आफूले समाजमा बेइज्जती महसुस गर्नुपरेको उनको भनाइ छ।
सोही दिन महिला सेलको प्रमुखको कक्षअगाडि चारजना महिला एकआपसमा छलफल गर्दै थिए । एक पुरुषले महिलालाई हातपात गरेको विषयलाई लिएर उनीहरू त्यहाँ आएका रहेछन् । पीडित महिलाकी एक आफन्तका अनुसार, पीडित महिला र पीडक पुरुष एउटै कम्पनीमा काम गर्छन् । अफिसमै झगडा परेको र पुरुषले हातपात गरेकाले उजुरी दिएको उनको भनाइ थियो।
किन हुन्छ घरेलुहिंसा ?
धेरैजसो महिला आत्मर्निभर नभएका कारण हिंसाको सिकार बनिरहेको महिला सेल कालीमाटीकी प्रमुख अनु लामा बताउँछिन् । ‘सानै उमेरमा विवाह हुँदा कसैको परिवारले छोरी फिर्ता लग्छन्,’ उनी भन्छिन्, ‘जसको परिवारले आफ्नो खुसीले गएको भनेर सानै उमेरमा विवाह गर्न रोक्दैनन्, त्यस्ता धेरै महिला पछि गएर हिंसाको सिकार बनेको पाइएको छ ।’
श्रीमती अन्य पुरुषसँग लागेको, श्रीमान्को अर्की महिलासँग लसपस भएको, लिभिङ टुगेदरमा बसेको, पैसा खाएर भागेको, बहुविवाह गरेको, कुटपिट र गालीगलौज गरेको, बलात्कार गरेको जस्ता उजुरी आउने उनको भनाइ छ। ‘महिला मात्र होइन, पुरुष पनि उजुरी दिन आउँछन् । पुरुषको धेरैजसो उजुरीमा श्रीमती अरुसँग लागेको, पैसा खाएर भागेको उल्लखे हुन्छ,’ उनले भनिन्।
महिला सेलमा दैनिक २०÷२५ उजुरी आउने गरेको छ । जसमा शारीरिक र मानसिक हिंसाका आउने उनी बताउँछिन् । महिलालाई हातपात गर्न हुन्न, गरे सहजै प्रमाण बन्छ भन्ने कतिपय पुरुषले बुझिसकेका छन् । त्यसैले उनीहरूले श्रीमतीलाई दैनिक गाली गर्ने, चरित्र हत्या गर्ने गरेको लामाको भनाइ छ । ‘आफूले श्रीमानबाट मानसिक तनाव भोगेको सम्बन्धमा उजुरी आउँछन्, जसको खासै प्रमाण हुँदैन, त्यसैले न्याय दिलाउन मुस्किल हुन्छ,’ उनले भनिन् ।
घरेलु हिंसा हुनुमा धेरै अध्ययन भएका छन् । महिलाहिंसाका धेरै प्रकारमध्ये मानसिक तनाव दिनुलाई पनि एक मानिन्छ । यतिखेर कोभिड १९ कारण मानिसको दैनिकीमा परिवर्तन आएको छ । जसका कारण कृषि उत्पादनदेखि व्यापार, व्यवसायमा कमी भएको छ । आर्थिक असुरक्षा, करिअर, काम–पेसालाई लिएर मानिसमा निराशा र डर पैदा भएको पनि छ । पुरुषले घरमा त्यही बमोजिमका व्यवहार गर्दा हिंसाका घटना बढेको पाइएको पनि मनोविद् बताउँछन् ।
मनोविज्ञान केन्द्रीय विभागका उप–प्राध्यापक सन्देश ढकालका अनुसार, सामाजिक र परिवारिक अवस्था, पुस्तक, चलचित्रले पनि पीडक बनाउने भूमिका खेलेको देखिन्छ ।
हाम्रो सामाजिक, सांस्कृतिक मूल्य–मान्यता पनि हिंसा हुनुमा एक कारण बन्छन् । जस्तो : श्रीमतीले श्रीमानलाई मानसम्मान गर्नुपर्ने, श्रीमानले श्रीमतीलाई मानसम्मान नगरे पनि हुने । यस्ता पक्ष देखेर हुर्किएका कतिपय पुरुषका लागि महिला हिंसा, विभेद सामान्य लाग्न सक्छ । उसको त्यसरी नै मानसिकता निर्माण हुने भएकाले ऊ हिंसाप्रति उद्यत हुन सक्ने मनोविद् बताउँछन् । त्यस्तै, आर्थिक, सामाजिक अवस्था, महत्त्वाकांक्षा, करिअर आदिका कारण मानिस एक प्रकारको त्रास र तनावको अवस्थामा हुन्छ । यसले मानिसमा निराशापन, डर ल्याउँछ । त्यसपछि व्यक्तिले मादक पदार्थ तथा लागु प्रयोग गर्ने र हिंस्रक हुन सक्ने पनि मनोविद् बताउँछन् ।
घरेलुहिंसा समाज अध्ययनको पनि विषय हो । परम्परागत पुरुषवादी तथा आधुनिक सोच, आधुनिक रोजगार वा स्वरोगारका उपाय आदिबीच तालमेल नमिल्दा पनि घरेलु हिंसा निम्तिन सक्ने समाजशास्त्री बताउँछन् ।
समाजशास्त्री प्रनभ खरेलका अनुसार, पहिले परम्परागत सोचकै कारण महिलाहरू हिंसामा परेका थिए । अहिले समाजमा घरबाहिर निस्केर जागिर, पेसा गर्ने महिला पनि बढेका छन् । दुवै कामकाजी भए पनि पुरुषवादी सोच, आत्मर्निभर, आत्मसम्मान जस्ता विषयलाई लिएर घरेलुहिंसा बढ्ने गरेको खरेल बताउँछन् । अर्कोतिर समाजमा चेतना नफैलिएकाले महिलाको स्वतन्त्रता पनि हिंसाको कारण बनेको पाइन्छ । महिलाहरू सम्बन्ध बनाउने क्रममा गलत पुरुषसम्म पुग्ने र त्यसले हिंसा निम्त्याएको पाइएको उनको भनाइ छ ।
अर्कोतिर महिला पुरुष दुवै वैदेशिक रोजगारीमा जाने हुँदा त्यसबाट जन्मिएका शंका–आशंकाले पनि घरेलुहिंसा बढाएको पाइएको छ । त्यस्तै, महिला र पुरुष एउटै कार्यालयमा काम गरे पनि शंका उपशंकाको नजरले हेर्ने, महिलाले आफ्नो अस्तित्व जोगाउन हिंसाको आरोप लगाउने गरेको पनि पाइएको खरेल बताउँछन्। त्यस्तै, पछिल्लो समय लिभिङ टुगेदर समस्या बनेको छ । सँगै बस्दा हुन जाने गर्भ र गर्भपतनका कुरा, सम्बन्धलाई टुंगो लगाउन वा आधिकारिक बनाउने कुराले पनि हिंसा निम्त्याएको पाइएको छ ।
अर्कोतिर दाइजो, बालविवाह, अशिक्षा, आर्थिक अवस्था पनि घरेलु हिंसाको कारण बन्ने गरेको छ । कोक्याप (शान्तिका लागि साझा अभियान) की मानव अधिकारकर्मी अम्बिका पौडेल तीन साताअगाडि प्रदेश २ मा घरेलुहिंसाका बारेमा बोल्ने महिला अधिकर्मीलाई तालिम दिन पुगेकी थिइन् । त्यहाँ दाइजोलाई लिएर पनि श्रीमतीमाथि कुटपिट हुने गरेको पाइएको उनी बताउँछिन । ‘श्रीमानमा आर्थिक समस्या, शारीरिक समस्या हुँदा पनि श्रीमतीलाई कुटेर रिस शान्त पार्ने गरेको देखियो,’ उनले भनिन्, ‘महिलाले गल्ती नै नगरी घरेलुहिंसाको सिकार बनेका छन् ।’
धार्मिक आस्था र भौगोलिक आधारमा घरेलु हिंसाको स्वरुप फरकफरक हुने उनी बताउँछिन् ।
दैनिक ४८ घरेलुहिंसाको मुद्दा दर्ता
देशभर दैनिक ४८ घरेलुहिंसाको मुद्दा दर्ता हुने गरेका छन् । पछिल्लो दुई महिना (फागुन र चैत) मा २ हजार ६ सय ९६ घरेलुहिंसा दर्ता भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार, गत फागुनमा देशभर एक हजार दुई सय २९ घरेलु हिंसाका मुद्दा दर्ता भए । त्यस्तै, चैतमा एक हजार चार सय ६७ मुद्दा दर्ता भएको प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । ‘पछिल्लो समय घरेलुहिंसाका घटना बढ्दै गएको हो,’ उनले भने, ‘जनसंख्या बाक्लो भएको ठाउँमा धेरै मुुद्दा दर्ता भएका छन् भने कम जनसंख्या भएको ठाउँमा कम ।’
गत फागुनमा एक हजार दुई सय २९ र चैतमा एक हजार चार सय ६७ घरेलु हिंसा उजुरी दर्ता भएका थिए । जसमध्ये प्रदेश १ मा ७६, प्रदेश २ मा दुई सय ९८, वाग्मती प्रदेशमा एक सय १५, उपत्यकामा दुई सय ६७, गण्डकी प्रदेशमा एक सय २३, लुम्बिनी प्रदेशमा एक सय ९१, कर्णाली प्रदेशमा ६९, सुदूरपश्चिम ९० जनाले घरेलुहिंसा सम्बन्धमा उजुरी गरेका छन् ।
त्यस्तै, चैतमा, प्रदेश १ मा ४७, प्रदेश २ मा चार सय २५, बाग्मती प्रदेशमा एक सय ५२, उपत्यकामा तीन सय ३४, गण्डकी प्रदेश एक सय ४०, लुम्बिनी प्रदेश एक सय ९०, कर्णाली प्रदेश ७९, सुदूरपश्चिम प्रदेशमा एक सय घरेलुहिंसाका मुद्दा दर्ता भएका छन् ।
तीन वर्षमा २०,५२७ घरेलुहिंसा
देशभर आर्थिक वर्ष ०७५/०७६ देखि चालू वर्षको माघसम्म ४१ हजार ७६ लैंगिक हिंसाका उजुरी दर्ता भएका छन् । जसमा २० हजार पाँच सय २७ घरेलुहिंसाका उजुरी रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांक छ ।
आर्थिक वर्ष ०७५/७६ मा मात्र १४ हजार सात सय ७४ लैंगिक हिंसाका मुद्दा दर्ता भएका छन् । जसमध्ये एक हजार एक सय घरेलुहिंसाका मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।
प्रवक्ता कुँवरका अनुसार, ०७६/७७ मा १५ हजार सात सय ५७ लैंगिक हिंसाका मुद्दा दर्ता भएका छन । जसमा ११ हजार सात सय ३८ घरेलुहिंसाका मुद्दा छन्।
त्यस्तै, ०७७/७८ माघसम्म देशभर १० हजार पाँच सय ४६ लैंगिक हिंसाका मुद्दा दर्ता भएका छन् । जसमा ७ हजार सात सय ८८ उजुरी घरेलुहिंसा अन्तर्गतका छन्।
३,८५२ महिलाहिंसाका समाचार
पछिल्लो तीन वर्षमा तीन हजार आठ सय ५२ वटा महिला हिंसाका समाचार प्रकाशन भएको कोक्यापकी कार्यक्रम अधिकृत अर्पणा श्रेष्ठ बताउँछिन् । ‘हजारौँको संख्यामा महिलाहिंसाको तथ्यांक आइरहँदा कम संख्यामा मात्र सञ्चारमाध्यमले प्राथमिकता दिएको पाइयो,’ उनले भनिन्, ‘महिलाहिंसाका घटना कति सञ्चार माध्यम प्रसारण गर्छन् भनेर तीन वर्षदेखि तथ्यांक संकलन गरिएको हो ।’
विभिन्न अनलाइन, पत्रपत्रिका, लोकल न्युज, मानवअधिकार संस्थाका प्रकाशनमा आएका समाचारलाई कोक्यापले संकलन गरेको उनको भनाइ छ । ‘सञ्चारमाध्यममा महिला हिंसाका कति समाचार प्रकाशित हुन्छन् भनेर वकालत गर्न सहज हुने भएकाले तथ्यांक संकलन गरिएको हो,’ उनले भनिन् ।
यो अवधिमा देशभर ४१ हजारभन्दा बढी लैंगिक हिंसाका उजुरी दर्ता हुँदा र त्यसमध्ये २० हजारभन्दा बढी घरेलुहिंसाका उजुरी रहँदा सञ्चारमाध्यममा न्यून संख्यामा समाचार प्रसारण भएको उनको भनाइ छ ।
पछिल्लो तीन वर्षमा प्रकाशितमध्ये पाँच सय १३ घरेलुहिंसाका समाचार छन् । जसमा सन् २०१८ मा एक सय ८३, सन् २०१९ मा एक सय ९१ र सन् २०२० मा एक सय ३९ घरेलुहिंसाका समाचार प्रकाशन भएको श्रेष्ठ बताउँछिन् ।
त्यस्तै, महिला अपहरणमा परेका एक सय १३ समाचार प्रकाशित भए । जसमध्ये सन् २०१८ मा ८४, २०१९ मा ५०, २०२० मा ५ वटा महिला अपहरण परेका तथा महिलालाई सीमा क्षेत्रबाट फर्काइएका समाचार थिए ।
त्यस्तै, लैंगिक हिंसाका ७९ समाचार सम्प्रेषण भए । जसमध्ये सन् २०१८ मा १३, २०१९ मा २२, सन् २०२० मा ४४ समाचार छन् ।
त्यस्तै, यो अवधिमा दुई हजार नौ सय ८८ बलात्कारका समाचार प्रकाशनमा आए । जसमध्ये सन् २०१८ मा ९ सय २१, सन् २०१९ मा ९ सय ६६, सन् २०२० मा एक हजार एक सय एक बलात्कारका समाचार छन् । श्रेष्ठ भन्छिन्, ‘सबैभन्दा बढी बलात्कारका समाचार प्रकाशि भएका छन् ।’
त्यस्तै, दाइजोका कारण हिंसामा परेका ४४ समाचार प्रकाशित भए । जसमध्ये सन् २०१८ मा १४, सन् २०१९ मा २३, २०२० मा ७ छन् ।
महिलालाई बोक्सीको आरोप लगाइएका ८९ समाचार प्रकाशित भए । जसमध्ये सन् २०१८ मा ३६, सन् २०१९ मा ३०, सन् २०२० मा २३ वटा समाचार छन् ।
कोक्यापले घटनाहरूको रिपोर्ट संकलन गरेर नेपाल मनिटर बेबसाइटबाट सार्वजनिक गर्छ । कोभिड–१९ का लागि छुट्टै ड्यासबोर्ड विकसित गरिएको उनी बताउँछिन् ।