Kathmandu Press

महन्थ ठाकुरको पत्रका आधारमा राष्ट्रपतिले पार्टीबारे प्रश्न गर्न सक्नु हुन्न : जसपा नेता चेम्जोङ

महन्थ ठाकुरको पत्रका आधारमा राष्ट्रपतिले पार्टीका बारेमा प्रश्न उठाउन नसक्ने चेम्जोङले बताए। भने, ‘बहुमतको निर्णयबिना नै महन्थजीले जे गरिरहनुभएको छ, त्यो नितान्त व्यक्तिगत निर्णयबाट गरिरहनुभएको छ। संस्थागत निर्णयबाट उहाँले त्यो काम गरिरहनुभएको छैन।’
महन्थ ठाकुरको पत्रका आधारमा राष्ट्रपतिले पार्टीबारे प्रश्न गर्न सक्नु हुन्न : जसपा नेता चेम्जोङ
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २९ : संघीय संसद्को चौथो ठूलो दल जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले पार्टीमा दुई अध्यक्ष रहेको स्मरण गराउँदै आधिकारिक निकायको निर्णयबिना एकजना अध्यक्ष महन्थ ठाकुरले पठाएका पत्रहरूले मान्यता नपाउने बताएका छन्।

महन्थ ठाकुरको पत्रका आधारमा राष्ट्रपतिले पार्टीका बारेमा प्रश्न उठाउन नसक्ने उनले बताए। ‘हामी हरेक कदमका लागि आधिकारिक निर्णयका साथ जान्छौँ,’ उनले भने, ‘बहुमतको निर्णयबिना नै महन्थजीले जे गरिरहनुभएको छ, त्यो नितान्त व्यक्तिगत निर्णयबाट गरिरहनुभएको छ। संस्थागत निर्णयबाट उहाँले त्यो काम गरिरहनुभएको छैन।’

पार्टीका नियमित बैठकहरू धेरै लामो समयदेखि नभएको उल्लेख गर्दै चेम्जोङले यसबीचमा लुम्बिनी प्रदेश र वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा केही निर्णय भएको उल्लेख गरे। ‘लुम्बिनी प्रदेशको हकमा निर्णय भएर पनि कार्यान्वयनमा गइसक्यो। त्यसका लागि बोलाइएको बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतोहरू आउनुभएन। र, बहुमतको निर्णयबाट लुम्बिनी प्रदेशका चार सांसदमाथि कारवाही भइसकेको छ। उनीहरू पदमुक्त भइसकेका छन्,’ काठमाडौं प्रेससँग कुरा गर्दै चेम्जोङले भने।

आफूहरूले प्रधानमन्त्री केपी ओलीको सरकारलाई पार्टीले समर्थन नगरेको उनले प्रष्ट्याए। ‘अनाहकमा संसद् विघटन गर्नु बेठीक हो भनेर हामीले त्यसको विरोध गर्‍यौँ। संसद् विघटनको विरोध गर्ने निर्णय सर्वसम्मत रूपमा पार्टीको कार्यकारिणी समितिले गरेको थियो। र, त्यो प्रतिगमन नै हो भनेर निर्णय भएको थियो,’ चेम्जोङले भने, ‘त्यस आधारमा हामीले विरोध गर्दै आयौँ।’

प्रधानमन्त्रीको गलत कदमलाई सर्वोच्च अदालतले सच्याएपछि पनि उक्त कदम चाल्ने व्यक्ति परिवर्तन नभएको चेम्जोङले बताए। ‘र, व्यक्तिको नियतमा पनि परिवर्तन भएको छैन। प्रधानमन्त्रीको नियतमा परिवर्तन भएको छैन,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्री ओलीलाई समर्थन गर्न सकिँदैन भन्ने हाम्रो पार्टीका बहुमत साथीहरूको भनाइ रहिआएको छ।’

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतका हकमा पार्टीले बैठक बस्न नभ्याएको र पदाधिकारी बसेर गरेको निर्णय नै कार्यान्वयन भएको उनले जानकारी दिए। ‘प्रधानमन्त्री ओलीको पक्षमा भोट हाल्न मिल्दैन भन्नुको सन्देश भनेको उनलाई समर्थन गर्न सकिँदैन भन्ने हो। उनको विपक्षमा मतदान गर्न या तटस्थ बस्न दिइने तर पक्षमा मतदान गर्न मिल्दैन भन्ने नै त्यतिबेलाको निर्णय हो,’ चेम्जोङले भने, ‘त्यसैले पार्टीभित्रको अहिलेसम्मको लाइन भनेको केपी ओलीलाई समर्थन गर्न मिल्दैन, सकिँदैन भन्ने हो।’

पार्टी अध्यक्ष ठाकुरका गतिविधि आफूहरूले नजिकबाट नियालिरहेको उनले बताए। ‘उहाँले पार्टीको निर्णयबाहेक व्यक्तिगत निर्णय र व्यक्तिगत वक्तव्यबाजी गरेर उहाँ जसरी लागिरहनुभएको छ, त्यो आधिकारिक निर्णय होइन, पार्टीभित्र बहुमतको निर्णय पनि होइन,’ चेम्जोङले भने, ‘त्यो उहाँको व्यक्तिगत निर्णय हो।’

पार्टीमा दुईजना अध्यक्ष रहेको तथा कोही ठूलो र सानो नभई बराबरी हैसियतका अध्यक्ष रहेको उनले बताए। ‘दुई अध्यक्षमध्ये कसलाई निर्णयको अधिकार दिने भन्ने केन्द्रीय कार्यकारिणी समितिको अधिकारको विषय हो। कहिले कसको अध्यक्षतामा त कहिले कसको अध्यक्षतामा बैठक बस्छ,’ चेम्जोङले भने, ‘त्यसैले बहुमतको निर्णयबिना नै महन्थजीले जे गरिरहनुभएको छ, त्यो नितान्त व्यक्तिगत निर्णयबाट गरिरहनुभएको छ। संस्थागत निर्णयबाट उहाँले त्यो काम गरिरहनुभएको छैन।’

पार्टीको बैठकमा सर्वसम्मति हुन नसके बहुमतको निर्णय हुनुपर्ने र त्यो मात्र आधिकारिक हुने उनी बताउँछन्। ‘केन्द्रीय कार्यकारिणीको बहुमतले जसलाई अधिकार प्रदान गर्छ, उसैले अधिकार प्रयोग गर्छ,’ उनले भने, ‘त्यसैले पार्टी विधानले एकल अध्यक्षको परिकल्पना गरेको छैन, महन्थजी एकल ढंगले चलिरहनुभएको छ। त्यो विलकुल गलत छ। हामी सामूहिक र बहुमतका आधारमा चल्छौँ।’
 

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्