कोभिड महामारीमा चीन–भारत सहकार्यको सकस
गत बुधबार भारतीय विदेशमन्त्री एस. जयशंकरले भारत–चीन सम्बन्ध एक ‘कठिन चरण’बाट गुज्रिरहेको बताए । चीनले बिनासल्लाह चिनियाँ सेनाको ठूलो हिस्सा एलएसी (लाइन अफ...गत बुधबार भारतीय विदेशमन्त्री एस. जयशंकरले भारत–चीन सम्बन्ध एक ‘कठिन चरण’बाट गुज्रिरहेको बताए । चीनले बिनासल्लाह चिनियाँ सेनाको ठूलो हिस्सा एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल)मा वा नजिक तैनाथ गरेको जयशंकरको आरोप थियो । यद्यपि, जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँगको कुराकानीमा भने भारतका केही कम्पनीले सामान आयातमा भोगिरहेको कठिनाइबारे बताएका थिए ।
जयशंकरको यो भनाइले चीन–भारत सम्बन्धमा भारतका उच्चस्तरीय अधिकारीहरूको मनोदशा झल्काउँछ । यसले देखाउँछ, दुई मुलुकको सम्बन्धलाई सामान्यीकरण गर्ने पाटोमा भारतीय अधिकारीहरू निराशावादी दृष्टिकोण राख्छन् । अहिलेको चीन–भारत सम्बन्धलाई कठिन अवस्थामा रहेको बताउन सकिन्छ । राजनीतिक आदानप्रदान र आपसी विश्वासमा गम्भीर अवरोध पैदा भएको छ । आर्थिक र सांस्कृतिक आदानप्रदान पनि प्रभावित भएको छ । यद्यपि, दुवै पक्षको सीमाबाट सेना हटाउने प्रक्रिया अझै जारी छ । तर, चीन–भारत सीमाको पश्चिमी भागमा रहेका बाँकी मुद्दा पूर्ण रूपमा समाधान भएका छैनन् ।
दुवै मुलुकले सीमाक्षेत्रबाट सैन्य तैनाथी हटाउन थालेपछि शान्ति र स्थिरता देखिएको छ । तर, दुवै पक्षले कूटनीतिक र सैन्य च्यानलहरूमार्फत मुठभेड कायम राखेका छन् । दुवै पक्षले फेरि तनाव नबढोस् पनि भन्न छाड्दैनन् ।
चीनले भारतलाई अक्सिजन जेनरेटरहरू प्रदान गरिरहँदा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणे २७ अप्रिलमा लद्दाख पूर्वी भेगमा सैन्य परिचालनबारे समीक्षा गर्दै थिए । चिनियाँ ‘अब्जर्भर’हरू भारतमा कोभिड–१९ महामारीले विकराल रूप लिँदै गरेको विषयमा चिन्तित देखिन्छन् । र, घरेलु संकटबाट ध्यान हटाउन भारत सरकार आफैँ सीमातिर विवाद उत्पन्न गराउन अग्रसर हुने गरेको उनीहरूको विश्लेषण छ ।
भारतमा महामारी भयावह बन्दै गएको मध्यनजर गर्दै नरेन्द्र मोदी सरकार भाइरस प्रसार कम गर्ने पाटोमा केन्द्रित देखिन्छ । महामारीको बढ्दो प्रभावका कारण मोदी सरकारसँग सैन्य टुकडीलाई सीमामा पठाउन सहज छैन । किनकि, भारतीय सेना पनि महामारी नियन्त्रणमा जुटेको छ ।
यस साताको सुरुमा भारतीय सञ्चार माध्यमको रिपोर्टअनुसार रक्षामन्त्री राजनाथ सिंहले बढ्दो कोरोना महामारी सामना गर्न दिल्लीमा सेनालाई प्रयोग वा तैनाथ गर्नेबारे विचार गरिरहेको बताएका थिए । यस्तो संकटमा भारतीय अधिकारीहरू सीमातिर सैन्य तैनाथी बढाउने कुरामा नहतारिन सक्छन् । त्यसैले गत वर्षजस्तो चीन र भारतबीच सीमा विवाद हुने सम्भावना कम देखिन्छ ।
भारतमा महामारीको दोस्रो लहरलगत्तै चीनले त्यसविरुद्ध लड्ने अत्यावश्यक सामग्री पठाएको छ । र, विदेशमन्त्री जयशंकरमा चीनको सहयोगप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् । ३० अप्रिलमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको टेलिफोन संवादमा जयशंकरले चीनको सद्भावनाका लागि धन्यवाद दिएका थिए । महामारीविरुद्ध लड्न भारत चीनसँग सहकार्यका लागि इच्छुक रहेको बताएका थिए । चीनको सहयोगप्रति भारतले विगतमा गरेको व्यवहारको तुलनामा भारत सरकारको यो धेरै सकारात्मक प्रतिक्रिया हो । र, भविष्यका लागि यसलाई महत्त्वपूर्ण कदमका रूपमा पनि हेर्न सकिन्छ ।
तथापि, कतिपय भारतीय नागरिकमा चीनप्रतिको गलत बुझाइ देखिन्छ । उनीहरूले चीनको सद्भावनालाई गलत रूपमा बुझ्नु दुःखद् हो । यो ‘ग्लोबल कम्युनिटी’को युग हो, जहाँ मानिसले आफ्नो साझा भविष्य निर्धारण गर्नुपर्छ । चीनले भारतलाई उपलब्ध गराइरहेको सहायता नैतिक दृष्टिकोणबाट प्रेरित छ । भारतले यसलाई कथित भूराजनीतिक सुविधा वा छुटका रूपमा प्रयोग गर्न खोज्ला भन्ने चीनको अपेक्षा छैन । यदि त्यस्तो सोच राख्ने हो भने त्यो अति संकुचित सोच हुनेछ ।
भारतीय नागरिकको एउटा हिस्सा अधिक व्यावहारिक र तर्कसंगत सोच राख्छन् । त्यसैले उनीहरूले असन्तुलित भूराजनीतिक पूर्वाग्रहका साथ होइन, चीनको सहयोगलाई सद्भावका रूपमा हेर्ने छन् । तथापि, भारतमा यति ठूलो स्तरमा कोरोना संक्रमण फैलिनुको मुख्य कारा भने राजनीति नै हो ।
चीन–भारत सीमामा सही र गलतबारे यसअसघ नै धेरै स्पष्टता छ । तर, भारत जहिल्यै चीनसँग सहमति कायम गर्न असमर्थ देखिन्छ र चीनलाई निरन्तर दोषारोपण गरिरहेको छ । लामो समयदेखि सीमा विवाद रहँदा भारतमा चीनविरोधी भावना घट्न सकेको छैन । तर, सत्य त्यही हो– चीन भारतसँगको सम्बन्ध सहज बनाउन प्रयत्नशील छ । त्यसको उदाहरण कोभिड–१९ महामारीमा चिनियाँ सहयोग पनि हो ।
त्यसका बावजुद भारतीय विदेशमन्त्री जयशंकरले भनेजस्तै चीन–भारत सम्बन्ध ‘धेरै कठिन चरण’बाट गुज्रिरहेको छ । दुई मुलुकबीच धेरै ऐतिहासिक विवाद छन् । त्यसैले कोभिड–१९ विरुद्ध सहयोग र सहकार्यका कारणले मात्र बेइजिङ र नयाँदिल्लीबीचको तनाव कम हुने अपेक्षा राख्नु पनि अव्यावहारिक हुनेछ । किनकि, ती विवाद छोटो समयमै सुल्झिने प्रकारका पनि छैनन् ।
(लेखक छिङह्वा विश्वविद्यालयको नेसनल स्ट्राटेटी इन्स्टिच्युट रिसर्च विभागका निर्देशक हुन् । ग्लोबल टाइम्स डट कमबाट)