Kathmandu Press

‘अझै दुई वर्ष तेस्रो मुलुकका पर्यटक आउँदैनन्, भारतीय पर्यटकबाटै आशा’

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत भन्छन्- अहिले भारतबाहेकका पर्यटकलाई उनीहरूकै मुलुकका धेरै प्रोटोकलले बाँधेका छन्। कोरोना नियन्त्रण भए पनि सन् २०२३ सम्म अन्तर्राष्‍ट्रिय पर्यटकको आवतजावतमा त्यति उत्साह नआउने सम्भावना नै बढी छ। त्यसैले हामीले भारतीय पर्यटकलाई लक्षित गरी योजना बनाउनुपर्छ।
‘अझै दुई वर्ष तेस्रो मुलुकका पर्यटक आउँदैनन्, भारतीय पर्यटकबाटै आशा’

कोरोना महामारीले सबै क्षेत्र प्रभावित छन्। महामारीका कारण थलिएको पर्यटन क्षेत्र अहिलेसम्म उठ्न सकेको छैन। कोरोनाकै कारण प्रभावित बनेको हवाई क्षेत्र पनि लयमा फर्किन सकेको छैन। उड्डयन उद्यमले वर्षदिनयता ठूलो घाटा बेहोरिसकेको छ।

यस्तो घाटा नेपाली उड्डयन उद्योगले मात्र बेहोरेको होइन, विश्‍वभरको हवाई क्षेत्रको अवस्था उस्तै छ। विश्‍वभर कोरोना संक्रमण फेरि बढ्दो छ। र, संक्रमण फैलिएका क्षेत्रमा निषेधाज्ञाको शृंखला नेपालमा पनि सुरु भएको छ। हवाई उद्योगले धेरै घाटा बेहोरिसकेको सन्दर्भमा यात्री गतिविधि थप ठप्प बन्दा आगामी दुई वर्षसम्म यो क्षेत्र उक्सिन नसक्ने नेपालको अग्रणी एयरलाइन्स बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्‍नेत बताउँछन्। कोभिड-१९ महामारीको अर्को लहरले हवाई क्षेत्रलाई पुर्‍याउने कठिनाइमाथि केन्द्रित रहेर काठमाडौं प्रेसका लागि सोनी शाहीले बस्‍नेतसँग गरेको संवादः

 

Hardik ivf

महामारीका कारण नेपाली हवाई क्षेत्रले कस्तो सकस बेहोर्नुपरेको छ ?

हवाई यात्रा खोल्ने सरकारको निर्णययता हामीले धेरै ‘रिकोभर’ गरिसकेका छौँ। तर, फेरि निषेधाज्ञा जारी हुने र यात्रु घट्ने क्रम सुरु भएकाले फेरि पनि घाटा बेहोर्नुपर्ने अवस्था सिर्जना हुने सम्भावना छ।

११ चैत ०७६ देखि अप्रत्यासित रूपमा लकडाउन सुरु भएको थियो। हामीले पूर्वतयारी गर्न पाएका थिएनौँ। त्यसैले हामीलाई धेरै सकस भएको थियो। एकातिर आम्दानी शून्यमा झरेको थियो, अर्कातिर कर्मचारीको समस्या पनि हेर्नुपर्ने थियो। हामीलाई त्यसका लागि कोष व्यवस्थापन गर्न निकै गाह्रो भएको थियो।

लकडाउन सुरु भएपछि हामीले लगभग एक महिनासम्म पुग्‍ने हिसाबले तयारी गर्‍यौँ। तर, सोचेजस्तो भएन। लकडाउन र निषेधाज्ञा बढाउँदा बढाउँदै साढे ६ महिना बित्यो।

त्यतिबेला बुद्ध एयरसँग ११ सय कर्मचारी थिए, जुन अद्यापि छँदै छन्। उनीहरूको आर्थिक समस्या बुद्ध एयरको कमाइबाट बेहोर्नुपर्ने थियो। एक-दुई महिना मात्र लकडाउन हुने अनुमानका साथ कर्मचारीको र अन्य खर्च बेहोर्‍यौँ। तर, लकडाउन लम्बिँदै जाँदा निकै समस्या खेप्‍नुपर्‍यो।

हामीले खर्च घटाउनेलगायत योजना बनाउँदै व्यवस्थापन गर्‍यौँ। लकडाउनको ६ महिनामा आन्तरिक यात्रुले त्रासका कारण बसभन्दा हवाई जहाज यात्रा रोज्ने आकलनका साथ उनीहरूलाई सुलभ टिकट वितरण गर्ने योजना बनायौँ। संक्रमणरहित उडानमा जोड दियौँ। ती सबै पक्ष समेटेर कार्यान्वयनमा ल्यायौँ।

सेप्टेम्बर २०२० मा उडान सुरु भएपछि सबै व्यवसायीमा एकप्रकारको आशा पलायो। त्यतिबेला सबै व्यवसायीलाई २५ प्रतिशत मात्र उडान भर्न पाउने भनिएको थियो। सुरुमा २५ प्रतिशत नै उडान गरिए पनि विस्तारै सबैमा हवाई सेवाबाट कोरोना नसर्ने विश्‍वास दिलाएपछि भने आवतजावत अलि बढ्यो।

हवाई गतिविधि सुरु भएसँगै देशको अर्थतन्त्र केही हदसम्म चलायमान बन्यो। तर, अहिले फेरि कोरोनाको अर्को लहर सुरु भएको छ। आगामी दिनमा बुद्ध एयरले के गर्छ भन्‍ने कुरा त ठ्याक्कै भन्‍न सक्दिनँ। तर, विगतको लकडाउनमा हामीले जुन समस्या भोग्यौँ, त्यसलाई दोहोरिन नदिई चुस्त-दुरुस्त तरिकाबाट हामी अगाडि बढ्ने छौँ।

लकडाउनले सिर्जना गरेको मुख्य चुनौती के थियो ?

हाम्रो मुख्य चुनौती भनेकै वित्तीय व्यवस्थापन थियो। अहिले त धेरै हदसम्म यो समस्या समाधान भइसकेको छ। हामीलाई ऋणको ठूलो बोझ थिएन। अनि महामारीका बेला बैंकहरूबाट पाएको सहयोगले हामीलाई धेरै हदसम्म राहत दियो।

लकडाउनभरिमा रेभेन्युतर्फ हामीले करिब चार अर्ब रुपैयाँ घाटा बेहोर्‍यौँ। ब्यालेन्स सिट घाटा भने गत आर्थिक वर्षमा लगभग १७ करोड रुपैयाँ भएको थियो। यस वर्ष कति हुन्छ भन्‍ने थाहा छैन तर घाटाको आकार बढ्ने सम्भावना बढी छ। यस वर्ष पनि २५ देखि ३० करोड रुपैयाँ घाटा बेहोर्नुपर्ने हाम्रो अनुमान छ।

बुद्ध एयरको आगामी योजना के छ ?

केही समययता आन्तरिक पर्यटकको चहलपहल सुरु भइसकेको थियो। हामीले पनि अन्तर्राष्‍ट्रिय पर्यटकको तत्काल आवतजावत सम्भव नदेखिएकाले आन्तरिक पर्यटक र यात्रुलाई लक्षित गरी उडान सञ्‍चालन गरिरहेका छौँ।

हामीले आफ्नो सेवा काठमाडौंबाहिरबाट पनि प्रदेशहरूलाई जोड्ने हिसाबले विभिन्‍न योजना बनाइरहेका छौँ। १ मे २०२१ देखि प्रदेश-प्रदेशलाई जोड्ने हिसाबले नयाँ गन्तव्य विस्तार गर्ने योजनामा छौँ। सोहीअन्तर्गत पोखराबाट सिमरा, विराटनगर र नेपालगञ्‍ज तथा भरतपुरबाट भैरहवा सजिलै पुग्‍न सकिनेछ।

तर, कोरोना महामारी बढिरहेको समयमा आगामी दिनमा फेरि यो क्षेत्र ठप्प भएमा सरकारको निर्णय मान्दै चुप लागेर बस्‍नुको विकल्प हामीसँग छैन।

पर्यटन क्षेत्रलाई फेरि लयमा फर्काउन के सुझाव दिनुहुन्छ ?

गत वर्ष लकडाउनअघि बुद्ध एयरबाट मात्रै दैनिक करिब चार हजार ६ सय यात्रु विभिन्‍न गन्तव्यमा पुग्थे। दुईतर्फी दैनिक करिब ९६ वटा उडान हुन्थे। अहिले त्यस्तो अवस्था छैन। कोरोना महामारी नियन्त्रण नभएसम्म पर्यटकको आवतजावत बढाउन सम्भव छैन।

नेपाल आउने अन्तर्राष्‍ट्रिय पर्यटकमध्ये पहिलो स्थानमा भारतीय नागरिक छन्। भारतीय पर्यटक आउनका लागि यहाँ सीधा उडान नियमित हुन्छ कि हुँदैन भन्‍ने थाहा छैन। तर, बुद्ध एयरले क्रस सिटी (एकअर्को प्रदेश) को योजना ल्याउनुको मुख्य उद्देश्य भारतीय पर्यटकलाई आकर्षित गर्ने नै हो।

पर्यटक पनि लकडाउनले आजित भइसकेका छन्। उनीहरू उडान नियमित हुनुपर्ने पक्षमा देखिन्छन्। त्यसैले हामीले अब रणनीति बताउन अत्यावश्यक भइसकेको छ।

संक्रमण कसरी फैलिन्छ र यसले कुन रूप लिन्छ भन्‍ने हाम्रो हातमा छैन। तर, हामी अहिले नै तयारीमा लाग्‍नुपर्छ। कसरी पर्यटक ल्याउने, नेपाल घुम्न को आउँछन्, उनीहरूलाई आकर्षित गर्न के-के गर्नेलगायत गृहकार्यमा जुट्नुपर्छ।

अहिले भारतबाहेकका पर्यटकलाई उनीहरूकै मुलुकका धेरै प्रोटोकलले बाँधेका छन्। कोरोना नियन्त्रण भए पनि सन् २०२३ सम्म अन्तर्राष्‍ट्रिय पर्यटकको आवतजावतमा त्यति उत्साह नआउने सम्भावना नै बढी छ। त्यसैले हामीले भारतीय पर्यटकलाई लक्षित गरी योजना बनाउनुपर्छ।

चिनियाँ पर्यटक हाम्रो वशमा छैनन्। त्यसैले नेपाल पर्यटन बोर्डलगायत निकायले शतप्रतिशत भारतीय पर्यटकलाई ‘फोकस’ गर्नुपर्छ।

स्वास्थ्य मापदण्डको दृष्‍टिबाट बुद्ध एयरलाई कति सुरक्षित मान्‍ने यात्रीले ?

हामीले जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गरेका छौँ। हाम्रा ९५ प्रतिशत कर्मचारीले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्। नलगाएका कर्मचारीलाई पनि खोप दिलाउन पहल गरिरहेका छौँ।

सबै कर्मचारीको बीमा गराएका छौँ। एक सय ५६ कर्मचारीलाई कोरोना संक्रमण भएको थियो, सबैलाई एक लाख रुपैयाँ बीमा रकम दिइरहेका छौँ।

यात्राअगावै यात्रुले सुरक्षा निर्देशिका पालना गरेको छ-छैन भन्‍ने अवलोकन गर्छौँ। कसैले निर्देशिका पालना नगरेको पाइएमा मास्क, स्यानिटाइजर प्रयोग गराउने, जहाज र गाडीलाई हरेक दिन स्यानिटाइज गर्नेलगायत आवश्यक सबै काममा कुनै कसर छाडेका छैनौँ।
 

प्रकाशित मिति: १७:०७ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्