Kathmandu Press

‘मखमली चोलो चाहिँदैन’ की गायिका मीरा राणाको जमाना

गोपाल योञ्जनले मीरालाई ‘मखमली चोलो चाहिँदैन’ बोलको गीत गाउन दिए । यही गीतले मीरालाई आमनेपाली माझ चिनायो । मीरा भन्छिन् ‘रेडियो नेपालबाहेक त्यतिवेला सभागृह, नाचघर, प्रज्ञा प्रतिष्ठानमा गीत–सङ्गीतका कार्यक्रम हुन्थे, मानिसहरूले टिकट काटेर गीत सुन्न आउँथे । स्टेजमा पनि मैले ‘मखमली चोलो चाहिँदैन’ गाउँथे ।’
‘मखमली चोलो चाहिँदैन’ की गायिका मीरा राणाको जमाना

काठमाडौं, वैशाख १२ : जमाना रेडियो नेपालको थियो । आमनेपाली, खासगरी मध्यम वा उच्चवर्गीय नारीका पनि सपना र चाहना त्यति ठूला थिएनन्, समाजका मूल्य–मान्यताले खुम्च्याइदिएर पनि । त्यो वेला खासगरी पहाडी नारीहरू मखमली चोलो, रेशमको सारी, नाकैमा फुली र कानैमा ढुङ्ग्री चाहन्थे । त्यसैमा नारीहरू भुलेको र ढकमक्क फुलेको मानिन्थ्यो । त्यही जमानामा एउटा विद्रोही लाग्नेजस्तो गीत रेडियोमा घन्कन थाल्यो— मखमली चोलो चाहिँदैन, रेशमको सारी चाहिँदैन ।

मखमली चोलो उर्फ मीरा राणा, नेपाली सङ्गीतप्रति मन राख्ने नेपालीका लागि नौलो नाम होइन । मीराले झन्डै १६ सयजति गीत गाइसकेकी छन् । छिन्नलता, गोरखा दक्षिण बाहु, नारायणगोपाल युवा सङ्गीत पुरस्कार, नातिकाजी पुरस्कारलगायत थुप्रै पुरस्कार थापिसकेकी छन्।

यो लामो साङ्गीतिक यात्रा कसरी अगाडि बढ्यो होला ?

Hardik ivf

‘बुवा, म तारादेवीको मुख हेर्छु’

‘हिमालको काखमा छ सानो मेरो गाउँ ।
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ ।।’

चञ्चले मीराको मन रेडियोमा बजिरहने यी शब्दले लुट्यो । १२–१३ की मीरा यो गीत गुनगुनाई पनि रहन्थिन् । यति राम्रो गीत गाउने पर्वतकी छोरी अर्थात् तारादेवी कस्ती होलिन् ? मीरालाई तारादेवीको मुख हेर्ने रहर जाग्यो । यस्तो अनौठो रहर कमैमा जाग्छ ।

उनले आफ्ना बुवालाई भनिन्, ‘बुवा, म तारादेवीको मुख हेर्छु ।’

‘तारादेवीको मुख हेर्ने भए तिमीले एउटा गीत गाउनुपर्छ,’ उनका बाबुले गज्जबको सर्त राखे । बुवाको कुरामा मीरा राजी भइन्, जसरी पनि उनलाई तारादेवीको मुख हेर्नु थियो ।

सङ्गीत प्रवीण तबलावादक शम्भुप्रसाद मिश्र, मीराका बुवा, उनी रेडियो नेपाल र राजदरबारमा तबलावादक थिए । मीराको पारिवारिक माहोल साङ्गीतिक थियो ।

गायिका मीरा राणा

शम्भुप्रसादले छोरीमा गाउने क्षमता देखिसकेका थिए सायद । त्यसैले उनले छोरीलाई आफ्नै सङ्गीतमा गीत गाउन दिने भए । मीरा गीत गाउन मन्जुर भइन्, त्यो पनि रेडियो नेपालको प्रतियोगिता– ०२२ का लागि । जतिवेला उनी १४ वर्षकी थिइन् । उनको जन्म १९ असोज ००८ मा भएको हो, काठमाडौं कमलपोखरीमा ।

मीराका बुवा बिहान रेडियो नेपाल र दिउ“सो दरबारमा जागिर गर्थे । उनले बिहान मीरालाई एउटा गीतको सुर, लय र ताल सिकाए । अनि, उनी आराम गर्न थाले । तर, मीरा गीत अभ्यास नगरी साथीसँग खेल्न गइन् ।

‘मलाई गीत गाउनुभन्दा पनि तारादेवीलाई हेर्ने मात्रै रहर थियो । त्यसैले गीत गाउने अभ्यास गरिनँ,’ मीरा सम्झन्छिन्, ‘पछि बुवा उठिस्यो, मलाई बोलाएर अघिको गीत सुनाउ भनिस्यो, मैले त गीतै बिर्सेंछु । एउटा गीत सम्झन सक्ने होइन, तारादेवीलाई भेट्न जाने ? भनेर बुवाले मलाई खुब गाली गरिस्यो ।’

मीरालाई बुवाले मुखले गाएर तवेलाको तालमा गीत सिकाएका थिए, गीतको लय उनले पनि बिर्सेछन् । मीरा घरमै रोएर बसिन्, उनका बुवा दरबार गए ।

‘हार्मोनियम बुवाले नबजाउने, हार्मोनियममा गाएको भए सायद सम्झिसिन्थ्यो,’ मीरा भन्छिन्, ‘बुवा साइकल चढेर राजदरबार जा“दै होइसिन्थ्यो, जय नेपाल हलनेर (नारायणहिटी दरबारछेउको चलचित्र हल) पुगेपछि बुवालाई गीतको ट्युन याद भएछ । अनि, दरबारै नगई फर्केर आइस्यो, मलाई गीत सिकाइस्यो ।’

त्यसपछि मीराले यति ध्यान दिएर अभ्यास गरिन्, उनलाई त्यो गीत अहिलेसम्म याद छ । भन्छिन्, ‘मलाई त्यो गुरुमन्त्र नै भयो, त्यसपछि मैले शब्द हेरेर गाउनुमा विश्वास गरिनँ ।’

भोलिपल्ट मीरालाई बुवाले सङ्गीत प्रवीण नरराज ढकालकहाँ लिएर गए । त्यहाँ उनले एक–डेढ घन्टा अभ्यास गरिन् । त्यसको भोलिपल्टै फेरि उनले रेडियो नेपालको प्रतियोगितामा गीत गाइन्, ‘नसिब कहाँ सबको उही हुन्छ र’ बोलको गीत, जुन मविवि शाहको रचना थियो ।

त्यतिवेला उनले कुनै उपाधि त जितिनन्, तर जसको मुहार हेर्न रेडियो नेपाल गएकी थिइन्, उनको भने मन जितिन् । 

मीराले गीत गाउनुअघि तारादेवी रेडियो नेपालको चौरमा बसिरहेकी थिइन् । मीराका बुवाले भने, ‘तारा नानी, यो मेरी छोरी ।’ मीराले नमस्कार गरिन् । तर, तारादेवीले फर्काइनन् ।

‘तारादिदीले नमस्कार नफर्काएपछि मेरो कलिलो मस्तिष्कमा प¥यो– उहाँ ठूलो गायिका भएर म सानो मान्छेको नमस्कार नफर्काको होला,’ मीरा सम्झन्छिन्, ‘मलाई अझ इगो आयो– म पनि तिमीजस्तै ठूली गायिका बन्छु ।’

त्यही दिन गीत गाएर बाहिर निस्कँदा नातिकाजीले मीराका बुवासँग मीराको प्रशंसा गरे । नजिकैको क्यान्टिनमा तारादेवी थिइन् । उनी आएर भनिन्, ‘शम्भुदाइ, छोरीले राम्रो गाउँदी रैछन् ।’ तारादेवीले प्रशंसा गरेपछि मीरालाई पुग्यो । उनी शास्त्रीय सङ्गीत सिक्न थालिन् ।

उनको गीत सुनेपछि नातिकाजीले मीरालाई चारवटा गीत गाउन दिए । त्यतिवेला रेडियो नेपालमा लाइभ गाउनुपथ्र्यो । एउटा गीत गाएबापत मीराले १० रुपैयाँ पाइन् । रेडियो नेपालमा गीत गाउन स्वर परीक्षा दिएर पास हुनुपथ्र्यो, तर मीराको स्वर सुनेपछि नातिकाजीले परीक्षा लिनै आवश्यक ठानेनन् । मीराले स्वर परीक्षा नदिई गीत गाइन् । यसपछि भने उनलाई गायनको नशा चढ्न थाल्यो ।

पहिलोपटक रेडियो नेपालमा गाएदेखि नै उनले सङ्गीत सिक्न थालिन् । गीत–सङ्गीतमा दिल बस्दै गएपछि औपचारिक शिक्षालाई अगाडि बढाउन सकिनन् । कक्षा १० सम्म पढेर पूर्णतः उनी सङ्गीतको विद्यार्थी बनिन् । सुरुमा उनी सङ्गीत महाविद्यालय पुतलीसडक भर्ना भएकी थिइन्, जहाँ सूर्यराज शर्मा गुरु थिए । त्यहाँ ६ वर्षसम्म सिकेपछि नरराज ढकालसँग सिक्न थालिन् । सङ्गीत सिक्दै गर्दा उनले इलाहाबादबाट लिइने परीक्षा पनि दिँदै गइन्, शास्त्रीय सङ्गीतमा बिम्युज गरिन् ।

गोपाल योञ्जनसँगको भेट र मखमली चोलो

महेन्द्र पुलिस क्लबमा राजाको जन्मोत्सवदेखि विभिन्न राजकीय उत्सव मनाउँदा गीत गाइन्थ्यो, यस्तो वेला दुई–तीन महिना अघिदेखि नै कलाकारले गीत अभ्यास गर्थे । मीरा पनि ०२५÷२६ सालतिर गायिकाको रूपमा पुलिस क्लब पुगिन् ।

पुलिस क्लबमा गोपाल योञ्जन थिए । उनले मीराको स्वर जाँचेर पहिलोपटक नै शास्त्रीय आधारको गीत गाउन दिए, ‘चिरेर मुटु यो तिमीले के पायौ’ बोलको । पछि यो गीत रेडियो नेपालमा रेकर्ड भयो ।

त्यसपछि गोपालले मीरालाई ‘मखमली चोलो चाहिँदैन’ बोलको गीत गाउन दिए । यही गीतले मीरालाई आमनेपाली माझ चिनायो । मीरा भन्छिन् ‘रेडियो नेपालबाहेक त्यतिवेला सभागृह, नाचघर, प्रज्ञा प्रतिष्ठानमा गीत–सङ्गीतका कार्यक्रम हुन्थे, मानिसहरूले टिकट काटेर गीत सुन्न आउँथे । स्टेजमा पनि मैले ‘मखमली चोलो चाहिँदैन’ गाउँथे ।’

त्यसपछि गोपालले मीरालाई अर्को गीत गाउन दिए– ‘के खोली धाउनु के पानी हाल्नु सुकेको है दिदी पातैलाई, फर्सीको भेट्नु के मरिमेट्नु मर्दको है दिदी जातैलाई’, यो गीत पनि दर्शक–श्रोताले निकै मन पराए ।

उनी स्टेजमा चर्चित हुन थालिन् । उनी भन्छिन्, ‘त्यतिवेला हामी पैसाका लागि गीत गाउँदैनथ्यौँ । कसैले हाम्रो यस्तो कार्यक्रम हुँदै छ, गाइदिनुप¥यो भन्यो भने मैले गाइदिन्थेँ, त्यतिवेला पैसाभन्दा पनि कसरी कलाकार हुने भन्ने ध्यान हुन्थ्यो, माहोल पनि त्यस्तै थियो ।’

उनी कुनै पनि गीत गाउँदा संगीतमा डुबेर गाउँछिन् । एकपटक नेवारी भाषामा गीत प्रतियोगिता भएको थियो, सभागृहमा । हुतराज शर्माले आफ्नो सङ्गीतमा गीत दिए, मीराले गाइन् । मीराको गीत सुनेर दर्शक भावुक भए, हलै स्तब्ध भयो । त्यहाँ मीराले प्रथम पुरस्कार जित्न सफल भइन् ।

‘सङ्गीतमा यति डुबेर गाएँ कि म सङ्गीतमा डुबेँ, दर्शक शब्दमा डुबेर भावुक हुनुभयो । किनभने, शब्दको अर्थ नै ‘मर्न परे पनि तेरै लागि मर्छु, म पागल भए पनि तेरो नाम कहिल्यै बिर्सन सक्दिनँ’ भन्ने थियो,’ मीरा भन्छिन्, ‘यसको श्रेय पनि मेरो बुवालाई नै जान्छ । बुवाले पहिलो गीत गाउँदा नै शब्दमा भन्दा सङ्गीतमा डुबेर गाउन सिकाइस्याथ्यो ।’

‘नाचेर गाउने पहिलो नारी’

विश्वव्यापी रूपमा लहर नै आयो, स्टेजमा गीत गाउँदै नृत्य गर्नु । अहिले त यो एक शैली नै बन्न पुगेको छ । तर, ऊ वेला नेपालमा नारीले नाच्नु, गाउनुलाई त्यति राम्रो मानिदैनथ्यो । घरकै साङ्गीतिक माहोल र बुवाको साथले गर्दा मीरा गायनमा आइन् । गाउँदा अनायसै नृत्य गर्न पनि पुगिन् ।

‘सुरुसुरुमा स्टेजमा गाउँदा मैले धेरै कुरामा ध्यान दिनुपथ्र्यो– सुर, लय, ताल । मैले ताल नबिग्रिओस् भनेर ताल मिलाउन हात हल्लाउँदै गाउँथे, खुट्टा पनि हल्लाउँथेँ । यसो गर्दा छिटो तालको गीतमा त म नाचेजस्तै भएछ,’ मीरा ती पुराना दिन सम्झन्छिन्, ‘अनि, दर्शकले वान्स मोर भन्न थाल्नुभयो । ऊ वेला एकचोटि गीत गाउँदा मैले आधा वा एक घन्टा स्टेज छोड्न पाउँदिनथेँ । नेपालमा स्टेजमा नाचेर गाउने पहिलो महिला म नै हुँ सायद । मलाई स्टेजमा बोलाउँदा स्टेज क्विन र नेपाली आशा भोस्ले भनेर पनि बोलाइन्थ्यो ।’

रेडियो नेपाल प्रवेश

बाहिर स्टेजमा नाच्दै गाउने केटीका रूपमा चिनिएपछि मात्रै मीरा रेडियो नेपाल प्रवेश गरेकी हुन्, ०२९ सालतिर । योबीचमा उनले रेडियो नेपालमा केही गीत गाइसकेकी थिइन् । उनी २०२८ को रेडियो नेपालको राष्ट्रिय प्रतियोगितामा प्रथम भइन् । यसपछि उनले रेडियो नेपालमा एउटा गीत गाएबापत ३५ रुपैया“ पाउने भइन्– कसैस“ग युगल गाए पनि, कसैको गीतमा हमिङ भ्वाइस् दिए पनि वा सिङ्गो गीत नै गाए पनि ।

एक दिन उनलाई रेडियो नेपालले पैसा बुझ्न बोलायो, पैसा सात सय रुपैयाँ भएको रहेछ । त्यतिवेला त्यो निकै ठूलो पैसा थियो । पैसा बुझेको भोलिपल्ट मीराको रेडियो नेपालमा रेकर्डिङ थियो, तर उनलाई गाउन नदिने कुरा भएछ । 

‘सात सय रुपैयाँ बुझेको थाहा भएपछि मलाई गीत गाउन दिनुहु“दैन भन्ने कुरा उठेछ,’ मीरा भन्छिन्, ‘एकजना गोविन्दलाल भन्ने हुनुहुन्थ्यो, रेडियो नेपालकै कर्मचारी, उहाँ मेरो घरमा आएर यति मात्रै भन्नुभयो, भोलि तिमी रेडियोमा गीत गाउन नआऊ । उहाँले नआऊ मात्रै भन्नुभयो, किन भन्ने भन्नुभएन ।’

मीराको मनले मानेन र उनी एकचोटि रेडियो पुगिन् । पुगेपछि मात्रै आफूलाई गीत गाउन नदिने कुरा भएको थाहा पाइन् । उनी भन्छिन्, ‘तर, त्यहाँ बजाउने सङ्गीतकारहरूले मलाई सहयोग गर्नुभयो । उहाँहरुले ‘आज गीत गाउन भनेर जसलाई तोकिएको हो, उसको गीत रेकर्ड हुन्छ भने हामी बजाउँछौँ नत्र बजाउँदैनौँ’ भन्नुभयो ।’

धेरैले साथ दिएपछि उनले गाउन पाइन् । यो कुरा रेडियोका कर्मचारीबीच चर्चाकै विषय बन्यो । त्यतिवेला रेडियो नेपालमा भोग्यप्रसाद शाह डाइरेक्टर थिए, उनले मीरालाई बोलाएर सोधे, ‘मीराजी, तपाईं रेडियो नेपालमा जागिर खानुहुन्छ ?’

मीराले सोधिन्, ‘मैले के गर्नुपर्छ ?’

‘गीत गाउनुपर्छ ।’

गीत गाउने मान्छेलाई गीत गाउने नै जागिर ! उनी खुसी भइन् र नातिकाजीलाई सुनाइन् । ‘उहाँले खरदारका लागि फर्म भर भन्नुभयो,’ मीरा भन्छिन्, ‘खै उहाँले के सुरमा त्यसो भन्नुभयो, मैले घरमा आएर श्रीमानसँग बुझेँ, खरदारभन्दा माथि नायबसुब्बा हुँदो रैछ । मैले बिम्युज गरिसकेकी थिएँ, अधिकृतमै पाउँथे, नायबसुब्बामा भरेँ ।’

लोकसेवाले जाँच पनि लियो, उनले एक नम्बरमा नाम निकालिन् । २० पुस २०३५ देखि उनले करारमा जागिर खाइन् । सुरुको मासिक तलब थियो, तीन सय रुपैयाँ । आठौँ तहसम्म बढुवा भएर उनले ०६६ सालमा अवकाश लिइन् ।

घरबार

०२६ सालतिर, जतिवेला मीरा महेन्द्र पुलिस क्लबमा गीत रिहर्सल गर्न जान्थिन् । एक दिन उनी साझा बस चढेकी थिइन्, उनको भाडा कसैले तिरिदिएछ, उनलाई थाहै भएन । बसको कर्मचारी पैसा उठाउँदै आए, मीराले भाडा दिइन् । कन्टेक्टरले भने, ‘तपाईंको भइसक्यो ।’

‘कसरी भयो, मैले दिएकै छैन,’ मीराले सोधिन् ।

कन्टेक्टरले बाहिर कसैलाई औँल्याए, जो भाडा तिरेर बसबाट ओर्लिसकेका थिए । उनी थिए– उदयजंग राणा । मीरा सम्झन्छिन्, ‘उहाँले बाहिर उभिएर दुइटा टिकट देखाइस्यो ।’

उदयको सञ्चय कोषमा जागिर थियो । एउटै बाटो परेकाले उनीहरूको अर्को दिन फेरि भेट भयो र लगातारजसो भेट भइरह्यो ।

‘अर्को दिन भेट हुँदा मलाई बोल्न डर र लाज भयो । उहा“ पनि बोलिसेन,’ मीरा त्यो पहिलो प्रेम सम्झन्छिन्, ‘बाटो एउटै परेकाले भेट भइरह्यो, हुँदाहुँदा कसोकसो बोलियो, अनि घुम्न पनि गइयो ।’

एक दिन उनीहरू भक्तपुर घुम्न गएका थिए । संयोगले उदयका दाइ पनि त्यतै गएका रहेछन्, उनले भाइ र हुनेवाला बुहारीको फोटो खिचिदिए ।

‘ऊ त्यही फोटो हो,’ उनले बैठक कोठामा झुन्डिएको ब्ल्याक एन्ड ह्वाइट फोटो देखाइन्, जसमा मीरा भर्खरकी तरुनी देखिन्छिन् ।

उनीहरूबीचको अफेयर झन्डै दुई वर्ष चल्यो । परिवार आफन्तको सहयोगबाटै ०२८ सालमा उनीहरूको बिहे भयो । ‘हाम्रो बिहे बम्बईमा भयो, उहाँकी सानोमुमाको बिहे इन्डियनसँग भएको थियो, सानोबुवा भेक्स कम्पनीको चेयरमेन होइसिन्थ्यो, सानोमुमाले हाम्रो बिहे गरिदिन्छु भन्नुभएको थियो, हामी भागेर बम्बई गयौँ ।’

भागेर गएको दुई महिनापछि उनी बम्बईबाट फर्किन्, जतिवेला उनका बुवा बिरामी परेका थिए । उनी बुवालाई भेट्न हस्पिटल गइन् । तर, मन दुखाएर फर्कनुप¥यो । ‘दिउँसो १ बजेतिर म हस्पिटल पुगेँ । हस्पिटलमा बुवामुमा दुवै होइसिन्थ्यो,’ मीरा त्यो मन दुःखेको क्षण सम्झिन्छिन्, ‘दुवैले एकछिन मलाई हेरिस्यो । मैले दर्शन भने“ । फर्काइबक्सेन । म त्यहाँ २०–२५ मिनेट उभिएँ, उहाँहरूले हेर्दै नहेरेपछि फलफूल त्यहीँ राखेर फर्कें ।’

मीरा हस्पिटलबाट बाहिरिँदै गर्दा कोही महिला पछ्याउँदै आएर भनिन्, ‘नानीको झोला छुटेको रैछ ।’

मीरा भारी भइन् । उनले लगेको फलफूल कोसेली आमाबुवाले फर्काएका रहेछन् । मीराले केहीबेर उभिएजस्तो गरेर त्यो झोला मानिसहरूको भीडमा छाडेर हिँडिन् । तर, आमाबाबुको मन न हो, त्यही सालको दसैँमा उनीहरूले छोरीज्वाइँलाई स्विकारे ।

२२ पाने कापीभरि मिरु–मिरु

बिहेपछि मीरा झनै स्वतन्त्र भएर सङ्गीतमा लाग्न पाइन् । पहिले उनी सङ्गीत क्षेत्रमा लागेको उनकी आमालाई त्यति मनपरेको थिएन । त्यतिवेला छोरी मान्छे गाउने–नाच्ने काममा हिँडेको राम्रो मानिँदैनथ्यो । मीरा भन्छिन्, ‘मुमाले यो गाउने–नाच्ने काम नगर भन्नुहुन्थ्यो । त्यो जमाना नै त्यस्तै थियो, मुमाले त्यसमा मेरै हित देख्नुहुन्थ्यो । तर, बुवाको सधैँ साथ पाए“ ।’

बिहेपछि पनि उनलाई परिवारबाट पूर्ण सहयोग रह्यो, उनी सङ्गीत कर्ममा निरन्तर लागिरहिन् । उनको वैवाहिक जीवन सुन्दर छ । यो बीचमा उनका दुई छोरा भए । ‘हाम्रो बिहे भएको ४८-४९ वर्ष भयो, अहिलेसम्म हामी झगडा गरेर पाँच मिनेट नबोलेको भन्ने छैन,’ मीरा भन्छिन्, ‘म विदेश गएर फर्कंदा मिरु–मिरु–मिरु लेखेर भरिएको २२ पाने कपी उहाँले मलाई दिइसिन्थ्यो ।’

तारादेवीकी प्यारी बहिनी

पछि रेडियो नेपालको जागिरे जीवनमा तारादेवी र मीरा असाध्यै मिल्ने दिदी–बहिनी बने । मीरा भन्छिन्, ‘हामी अति नै मिल्ने भयौँ । पछि–पछि तारादिदीले मलाई ‘प्यारी’ भनेर बोलाउन थाल्नुभयो ।’

दिनभरिको जागिर सकिएर दुवै सँगै निस्कन्थे । दुवै न्युरोडको एउटा कफी सपसम्म हिँड्दै जान्थे र कफी खाएर छुट्टिन्थे । जाँदा–जाँदा त्यहाँ तारादेवी र मीरा राणा सधैँजसो कफी खान आउँछन् भन्ने थाहा भयो । मीरा भन्छिन्, ‘पछिपछि त हामीलाई चिन्ने, माया गर्ने श्रोता त्यहीँ आउन थाल्नुभयो, हामीसँग अटोग्राफ लिनुहुन्थ्यो ।’

यो सङ्गतमा तारा र मीराले एक–अर्काको सङ्गीतमा थुप्रै गीत गाए । दुवैले धेरै समय रेडियो नेपालमा सँगै काम गर्न भने पाएनन् । बहुदल आएपछि सरकारले कर्मचारीको ३० वर्षे उमेर हदबन्दी तोक्यो । तारादेवीले जागिर गरेको ३० वर्ष पुगिसकेको थियो ।

‘तारादिदी र म सँगसँगै हाजिर गर्न गएका थियौँ । तारादिदी अगाडि हुनुुहुन्थ्यो, उहाँले हाजिरकापी पल्टाउनुभयो, उहाँले हाजिर गर्ने ठाउँमा सबै रातो मसीले केरिएको थियो,’ मीरा भन्छिन्, ‘तारादिदी केही नबोली बाहिर निस्केर मलाई पर्खनुभयो । हामी दुवै माथि कोइलीदेवी दिदीको कोठामा पुग्यौँ । कोइलीदिदीले ‘तारा नानी भर्खर आको’ भनेर सोध्नुभयो । केही नबोली तारादिदी रुन थाल्नुभयो । तारादिदी र मेरो कोठा सँगसँगै थियो, भोलिपल्टदेखि कोठामा उहाँलाई नदेख्दा मलाई रुन मन लाग्थ्यो ।’

मीराले रेडियो नेपालमा एउटा साङ्गीतिक कार्यक्रम चलाइन्, पुष्पाञ्जली, जुन कार्यक्रम अति नै चर्चित बन्यो । सुरुमा मीरालाई सरिता भट्टले साथ दिएकी थिइन्, पछि तारा थापा आइन् ।

‘कार्यक्रम दुई घन्टाको थियो । सुरुमा फर्माइसको गीत बजाइन्थ्यो, त्यसपछि प्रत्यक्ष दर्शकलाई समावेश गरिन्थ्यो । अनि, आधा घन्टा हिन्दीका चर्चित गीत बजाइन्थ्यो,’ मीरा भन्छिन्, ‘त्यही हिन्दी गीतको कार्यक्रम चलाउन हामीले दीपकराज गिरि र दीपाश्री निरौलालाई दियौँ । मैले नै हो, दीपकराजको रामविलास र दीपाको धनियाँ नाम राखिदिएको ।’ रामविलास र धनियाँको जोडी रेडियो नेपालमा चर्चित बन्यो । 

त्यो वेला विभिन्न देशमा गएर आफ्नो देशको कला–संस्कृति प्रस्तुत गर्ने गरिन्थ्यो । ०३४ सालतिर मीरा जर्मनी गइन्, एउटा साङ्गीतिक फेस्टिबलका लागि । मीरा भन्छिन्, ‘त्यहाँ मलाई एउटा साङ्गीतिक माहोल भएको घरमा राखिएको थियो, त्यस घरका छोरीहरूसँग मैले अलिअलि जर्मन गीत गाउन सिकेँ, मैले पनि उनीहरूलाई नेपाली गीत गाउन सिकाएँ ।’ 

त्यसयता उनी फ्रान्स, युगोस्लाभिया, बेल्जियम, स्विट्जरल्यान्ड, चीन, बर्मा, कोरिया, हङकङ, दुबई, बहराइन्, जापान, मलेसिया, बेलायत, अमेरिका लगायत देश गएकी छन् ।


 

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्