अर्थतन्त्रमा कोभिड महामारीको प्रभाव आगामी दशकसम्म

जसरी कोभिड–१९ निको भएका बिरामीले चिरस्थायी लक्षणहरू बेहोरिरहेका हुन्छन्, यस वर्ष अर्थतन्त्रमा कोभिड–१९ ले पारेको असरको हकमा पनि यही लागू हुनेछ । तथापि, कोभिड संकटबाट पार पाउन उपलब्ध गराइएको २६ ट्रिलियन डलरबराबरको सहायता र खोप वितरणमा तीव्रताले अर्थतन्त्रमा सोचेभन्दा छिटो ‘भी’ आकारको उपलब्धी हासिल हुने आशा छ ।

खासगरी, अविकसित मुलुकमा शैक्षिक अविकास, बेरोजगारीको बढ्दो ग्राफ, युद्धकालीनस्तरको ऋण, जाति, लिंग, पुस्ता र भौगोलिकताबीचको असमानतालगायत विषय अर्थतन्त्रलाई लयमा फर्काउन चुनौतिका रूपमा देखिएका छन् ।

‘एउटा दुष्कर वर्षलाई विदा गरेपछि अर्थतन्त्र पुनः ट्र्याकमा फर्किँदै गरेको संकेत प्राप्त भएको छ,’ युनिभर्सिटी अफ क्यानाडाकी शोधार्थी भेलोर अर्थीले भनिन्, ‘तर, हामीले देखेका ऐतिहासिक प्रभावहरू दशकौँसम्म रहने छन् र सजिलै समाधान हुँदैनन् ।’

ठूलो अपेक्षा 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यस वर्ष विश्वको अर्थतन्त्र ६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । सबैले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गत वर्ष भएको गिरावट अगस्ट १९२९ देखि मार्च १९३३ सम्मको महामन्दीयताकै सबैभन्दा ठूलो रहेको बताएका थिए । अन्तर्राष्ट्रिय श्रम संगठनको आकलनमा यो २५ करोड ५० लाख पूर्णकालिन रोजगारीबराबर हो । प्यू रिसर्च सेन्टरका शोधकर्ताको आकलनमा विश्व अर्थतन्त्र सन् १९९० यता पहिलोपटक मध्यम वर्गीय स्तरमा खुम्चेको छ ।

मूल्यमा अझै अनियमित ढंगबाट गिरावट हुने सम्भावना छ । अक्सफोर्ड इकोनोमिक्स लिमिटेडले एक सय ६२ मुलुकमा तयार पारेको ३१ मेट्रिकको स्कोरकार्डले फिलिपिन्स, पेरू, कोलम्बिया र स्पेनलाई दीर्घकालीन रूपमा असुरक्षित अर्थतन्त्रको रूपमा रेखांकित गरेको छ । अस्ट्रेलिया, जापान, नर्वे, जर्मनी र स्विजरल्याण्डलाई भने राम्रो स्थानमा राखिएको छ ।

‘प्रि–कोभिड स्थितिमा फर्कन समय लाग्नेछ,’ विश्व बैंककी प्रमुख अर्थशास्त्री कार्मेन राइनहर्टले भनिन्, ‘धेरै मुलुकका लागि पुनः कोभिडअघिकै अवस्थामा फर्कन धेरै गाह्रो छ ।’

तर, कोभिड महामारीले सबै अर्थतन्त्रमा समान असर पार्ने छैन । आईएमएफका अनुसार कोभिड महामारीमा धनी अर्थतन्त्र कम प्रभावित भएको देखिएको छ । तर, गरिब र उदीयमान अर्थतन्त्रहरू बढी प्रभावित भएका छन् । सन् २००९ को आर्थिक मन्दीमा अवस्था ठ्याक्कै उल्टो थियो । त्यो भनेको त्यतिबेला धनी मुलुक बढी प्रभावित भएका थिए भने गरिब मुलुक कम । जस्तो– आगामी वर्ष अमेरिकाको जीडीपी कोभिड–१९ महामारीअघि प्रक्षेपण गरिएभन्दा ठूलो हुने पूर्वानुमान छ । र, त्यसको आकार सोचेभन्दा खर्बौँ डलर ठूलो हुने अनुमान छ । आईएमएफको भनाइ मान्ने हो भने विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका कोभिड महामारीबाटै कम प्रभावित हुनेछ ।

विकासशील विश्वको मध्यमस्तर संकुचन

सन् २०२० मा विश्व अर्थतन्त्रमा तीन दशककै ठूलो गिरावट देखिएको छ । विश्व बैंकले गत जनवरीको रिपोर्टमा भनेको छ– तत्काल सुधारात्मक पहलकदमी नलिइएमा विश्व अर्थतन्त्रमा थप निराशा उत्पन्न हुनेछ । महामारीअघिको प्रवृत्तिभन्दा विश्वव्यापी उत्पादन सन् २०२५ सम्ममा ६ प्रतिसतले कम हुने विश्व बैंकको अनुमान छ । र, मुद्रास्फीतिमा हुने वृद्धिदर अर्को दशकमा दुई प्रतिशतभन्दा तल झर्नेछ, जुन सन् २००० को दशकमा ३.३ प्रतिशतबाट घटेर २.५ प्रतिशतमा पुगेको थियो ।

युनिभर्सिटी अफ क्यानाडाकी शोधार्थी अर्थीसहितका विशेषज्ञले अर्थतन्त्र सुधारका लागि उचित पहलकदमी लिइएमा आगामी उक दशकसम्म कोभिड महामारीको प्रभाव नरहने सुझाएका छन् । उनीहरूले कामदारहरूलाई थप सीपयुक्त बनाउन सुझाव दिएका छन् । त्यसो हुन सकेमा विश्व अर्थतन्त्रले नयाँ उचाइ लिन सक्छ । किनकि, केन्द्रीय बैंकहरू र अधिकांश सरकार पहिले नै अर्थतन्त्र सुधारको दिशामा लागिसकेका छन् ।

सिटी गु्रप इन्कर्पोरेटकी मुख्य अर्थशास्त्री क्याथरिन मानका अनुसार उचित नीतिगत सम्मिश्रणले अर्थतन्त्रलाई पूर्ण सुधारको दिशामा अगाढि बढाउन सक्छ । ‘इन्नोभेसनले उच्च उत्पादकत्व वृद्धिलाई मद्दत गर्छ र नयाँ लगानीले जीवनस्तर उकास्छ,’ उनले भनिन्, ‘उच्च उत्पादकत्वको अवसरको फाइदा लिन श्रमिकलाई थप तालिम दिँदै दक्ष बनाउने कुरा पनि रणनीतिक महत्त्वको हुन सक्छ ।’

‘भी’ आकारको उपलब्धी

कोभिड महामारीका बावजुद न्युजिल्यान्डको अर्थतन्त्र भी आकारमा देखाप¥यो । अर्थात्, एकपटक ह्वात्तै तल झर्‍यो र विस्तारै माथि उठ्यो । तर, सन् २०२० को अन्तिम तीन महिनामा न्युजिल्यान्डको अर्थतन्त्र फेरि संकुचनमा प¥यो । कारण– विश्वव्यापी यात्रा प्रतिबन्धका कारण पर्यटक आगमन शून्य रह्यो, जुन न्युजिल्यान्ड प्रमुख आर्थिक स्रोत थियो । र, त्यसलाई आन्तरिक पर्यटनले भरथेग गर्न सक्दैनथ्यो । ‘कोभिड रिजिलेन्सी र्‍याङकिङ’मा निरन्तर शीर्ष स्थानमा रहेको न्युजिल्यान्डको अर्थतन्त्रले उतारचढाव सामना गर्नुपरिरहेको छ ।

चीनमा जहाँ महामारी लगभग एक वर्षदेखि नियन्त्रणमा छ, फुटकर खर्चमा पनि व्यापक सुधार देखिएको छ ।

‘कोभिड महामारीबाट मानिसको उपभोग ढाँचा र व्यवहारमा कतिको परिवर्तन आयो भन्ने स्पष्ट छैन,’ पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सका अध्यक्ष एडम पोसेनले भने, ‘यदि मानिस फेरि रेस्टुराँमा खान गए, फुर्सदमा यात्रामा निस्किन थाले र जिममा व्यायाम गर्न थाले भने त्यस्ता धेरै उद्योग पुनर्जीवित हुनेछन् । तर, व्यक्तिको स्वादमै परिवर्तन आएको हुन सक्छ, जसले त्यस्ता उद्योगलाई पुनर्जीवन नदिन सक्छन् ।’

स्थायी परिवर्तन

कोभिड संकटले उत्पादन र सेवा उद्योगमा रोबोटको प्रयोगलाई तीव्र बनाएको छ । किनकि, कामदार र ग्राहकलाई रोगको प्रसारबाट जोगाउनु आवश्यक छ । रोबोटको बढ्दो प्रयोगले उत्पादकत्व वृद्धि हुने अपेक्षा त छ तर त्यसले लाखौँको रोजगारी गुम्ने जोखिम उत्तिकै छ । 

म्याकिन्जे एन्ड कम्पनीअनुसार विश्वका आठ ठूला अर्थतन्त्रका करिब १० करोड मानिसले सन् २०३० सम्ममा पेशा नै परिवर्तन गर्नुपर्ने हुन सक्छ । सम्भवतः सीपको कमीले पीडित हुनेहरू, कम शिक्षित, महिला, जातीय अल्पसंख्यक र युवा यसबाट पीडित बन्ने सम्भावना छ ।

जति लामो समय मानिस कामविहीन रहन्छ, त्यति नै उसको सीप क्षीण हुँदै जान्छ । ‘ती धेरै काम सदाका लागि बन्द हुन सक्छन्,’ स्ट्यान्डर्ड चार्टर्ड पीएलसीका अनुसन्धान प्रमुख एरिक रोबर्टसनले भने, ‘कामदारको तलब घटाउँदा पनि सीमान्तकृत कम्पनी वा क्षेत्र ऋणमा डुब्ने जोखिमबाट टाढा छैनन् । किनकि, त्यस्ता कम्पनी टाट उल्टिसकेका छन् ।’

केही मुलुकमा महामारीका कारण बालबालिका र विश्वविद्यालयका विद्यार्थीहरू एक वर्षको लागि कक्षा कोठाबाट टाढिए । त्यसको असर तत्काल नदेखिए पनि भविष्यमा उनीहरूको आयमा प्रष्ट देखिनेछ । खासगरी, हाल कक्षा १ देखि ११ सम्म अध्ययनरत विद्यार्थीले आफ्नो जीवनकालमा तीन प्रतिशत कम आम्दानीमा चित्त बुझाउनुपर्ने अवस्था आउन सक्छ । त्यसमा पनि गरिब वा अल्पसंख्यक पृष्ठभूमिका मानिसलाई सबैभन्दा बढी असर पार्न सक्ने ओईसीडीको चेतावनी छ ।
 
ब्लुम्बर्ग डट कमबाट
 

 Published Date: Wednesday, 21st April 2021 6:29:00 am