Kathmandu Press

वर्ष ०७८ : कोरोनासँगै बाँच्‍नुको छैन विकल्प

कोरोना संक्रमणको जोखिम बढेसँगै मानिसले भाइरसँगै जीवन चलाउनुको विकल्प तयार भएको छैन अझै। विज्ञहरू भन्छन्- कोभिड-१९ महामारीको अर्को लहर साम्य हुन थप ६ महिना लाग्‍न सक्छ।
वर्ष ०७८ : कोरोनासँगै बाँच्‍नुको छैन विकल्प
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख १ : कोरोना संक्रमणको जोखिम बढेसँगै मानिसले भाइरसँगै जीवन चलाउनुको विकल्प तयार भएको छैन अझै। विज्ञहरू भन्छन्- कोभिड-१९ महामारीको अर्को लहर साम्य हुन थप ६ महिना लाग्‍न सक्छ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्छन्, ‘यो भाइरस हाम्रोबीचमा सधैँ रहिरहन पनि सक्छ। त्यसैले जनस्वास्थ्यका मापदण्ड पालनालाई आफ्नो जीवनशैली बनाउनुपर्छ।’

जनस्वास्थ्यका मापदण्डलाई आफ्नो दैनिकीमा उतार्न सके तत्कालका लागि मात्र नभई भविष्‍यमा आउने चुनौतीलाई पनि सजिलै पार गर्न सकिने उनी बताउँछन्। ‘हामीले यसअघि पनि इबोला, स्वाइनफ्लूलगायत धेरै महामारी भोगिसकेका छौँ। त्यसैले अहिले नै जनस्वास्थ्यका मापदण्डलाई दैनिकी बनाउने हो भने भविष्‍यमा आउन सक्ने महामारीको सामना पनि सजिलै गर्न सकिन्छ,’ डा. पाण्डे भन्छन्।

संसारमा यस्ता धेरै महामारीले ठूलो जनसंख्याको ज्यान लिएका उदाहरण छन्। र, ती महामारीले लामो समय मानव जीवनलाई प्रभावित बनाएका थिए। त्यसमध्ये सबैभन्दा विनाशकारी महामारी हो, ‘ब्ल्याक डेथ’। सन् १३४७ मा सुरु भएर १३५१ मा मात्र पूर्ण नियन्त्रणमा आएको यो महामारीले करिब ४० करोडजनाको ज्यान लिएको थियो।

यस्तै, सन् १९१८ मा सुरु भएको स्पेनिस फ्लूको महामारीविरुद्ध सन् १९३८ मा मात्रै खोप विकास भयो र रोकियो। यसले करिब पाँच करोडजनाको ज्यान लियो। सन् १५२० मा सुरु भएर १८औँ शताब्दीमा मात्र उन्मुलन भएको बिफर महामारीले करिब पाँच करोड ६० लाखजनाको ज्यान लिएको थियो।

करिब पाँच करोड मानिसको ज्यान लिएको ‘प्लेग अफ जस्टिनियन’लाई नियन्त्रणमा लिन शताब्दियौँ लागेको थियो। सन् १९८१ मा पहिलोपटक रेकर्ड भएको एचआईभी-एड्स हालसम्म पूर्ण नियन्त्रणमा आएको छैन। यसबाट करिब तीन करोड ५० लाखजनाको ज्यान गइसकेको छ।

यस्तै, सन् १८५५ मा सुरु भएर सन् १९६० सम्म देखिएको ‘तेस्रो प्लेग’ले करिब एक करोड २० लाखको ज्यान लियो। ‘प्लेग अफ लन्डन’ नामक महामारी नियन्त्रणमा लिन पनि वर्षौँ लागेको थियो।

हालसम्म करिब २९ लाख ६० हजारको ज्यान लिएको कोभिड-१९ को पूर्ण नियन्त्रणमा पनि वर्षौँ लाग्‍न सक्छ। तर, माथि उल्लेखित अन्य महामारीको तुलनामा कोभिड-१९ को मृत्युदर कम छ। र, स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्दा कोरोना संक्रमणबाट टाढै रहन सकिन्छ।

कोभिड-१९ महामारी नियन्त्रणका लागि धेरै मुलुकमा जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारवाही र जरिवाना तिराउने नियम लागू गरिएको छ। नेपालमा पनि मास्क नलगाउने र भौतिक दूरी कायम नगर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने हो भने भाइरस प्रसार रोक्न सकिने डा. पाण्डे बताउँछन्।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि कोरोना भाइरस के हो र आगामी दिनमा कसलाई लाग्‍न सक्छ भन्‍ने स्पष्‍ट नभएका कारण सबैले सावधानी अपनाउनुपर्ने बताउँछन्। ‘अहिलेसम्म कोरोना भाइरसबारे पूर्णतः अध्ययन भइसकेको छैन। यो आगामी दिनमा अझै खतरनाक स्वरूपमा पनि देखिन सक्छ,’ डा. पुन भन्छन्, ‘त्यसैले सबैले अहिले नै सावधानी अपनाउन जरुरी छ।’

संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा भने कोरोना भाइरससँगै जीवन चलाउन सम्भव नरहेको बताउँछिन्। उनका अनुसार सुरुमा देखिएको कोरोना भाइरसले दीर्घरोगीलाई बढी र युवालाई कम असर गर्ने देखिएको थियो। तर, अहिले भाइरसका नयाँ भेरियन्टले ४० वर्ष मुनि र बालबालिकामा समेत बढी प्रभाव पारेको देखिएको छ। सोही कारण कोरोना भाइरस अझ धेरै फैलिन सक्ने जोखिम रहेको उनी बताउँछिन्।

‘यो अवस्था यथावत रहने हो भने भाइरससँग जीवन निर्वाह गर्न गाह्रो हुन्छ,’ डा. शेर्पा भन्छिन्, ‘कतिपय मानिस खोप लगाइसकेपछि सुरक्षित हुन्छ भनेर ढुक्क बन्छन्। तर, खोप लगाइसकेका मानिस पनि संक्रमित भएका धेरै उदाहरण छन्।’

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित भने कोरोना भाइरस सबैलाई लाग्‍ने तर सावधानी अपनाए कोरोना सँगैसँगै जीवनलाई सरल रेखाबाट चलाउन सकिने बताउँछन्। भन्छन्, ‘कोरोना संक्रमण सबै उमेर समूहलाई हुन्छ। यसको मतलब सबैको मृत्यु नै हुन्छ भन्‍ने पनि होइन। सावधानी अपनाउन सके यसबाट बच्‍न सकिन्छ।’

कोरोना संक्रमण सबैलाई हुने भए पनि निश्‍चित समूहलाई मात्र बढी असर पार्ने उनको भनाइ छ। अहिले युवालाई समेत कोरोना संक्रमण भएको देखिए पनि ज्येष्‍ठ नागरिक, बालबालिका र दीर्घरोगीहरूलाई यसले बढी असर पार्ने उनी बताउँछन्।

‘कोरोनासँगै जीवन निर्वाह गर्न सकिन्छ ? होइन सक्नुपर्छ,’ डा. दीक्षित भन्छन्, ‘हामीले कोरोनाको उच्च जोखिममा रहेका मानिसलाई मात्र बचाउन सक्यौँ भने पनि कोरोनासँगै बाँच्‍न सकिन्छ। तर, त्यसका लागि सबैले आवश्यक सतर्कता अपनाउने र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्छ।’

कोरोना एकप्रकारको रोग मात्र भएको र यसका लक्षणहरू रुघाखोकीजस्ता विगतमा भोगेकै रोगका भएकाले धेरै डराउन नहुने उनी बताउँछन्। ‘यस्ता लक्षणको समयमै उपचार गर्न सके शरीरमा कोरोना भाइरस भए पनि त्यसले खासै असर गर्न सक्दैन,’ उनी भन्छन्।
 

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्