Kathmandu Press

प्रदेशसभा १ को बैठक स्थगन, भोलि फेरि बस्ने

विराटनगर, चैत २६ : प्रदेश १ को प्रदेशसभाको आज (बिहीबार) को बैठक प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण स्थगन भएको छ।नेकपा माओवादीका तर्फबाट प्रदेश...
प्रदेशसभा १ को बैठक स्थगन, भोलि फेरि बस्ने

विराटनगर, चैत २६ : प्रदेश १ को प्रदेशसभाको आज (बिहीबार) को बैठक प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण स्थगन भएको छ।

नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोले एमालेमा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाई सांसद पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरुले नियमापत्ति गरेका थिए। 

Hardik ivf

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिए। सभामुखले बैठक नियमित रुपमा सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले उभिएर नै विरोध जनाएपछि बैठक स्थगन गरिएको हो ।

बैठक स्थगन हुनुअघि बोल्न समय पाएका कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश अहिले राजनीतिक र आर्थिक दुवै हिसाबले कमजोर भएको भन्दै विकास सञ्चालनका लागि स्रोतको सुनिश्चिता गर्न सरकारसँग माग गरे। उनले जबसम्म सरकारले संसदमा उठाइएका प्रश्नहरुको जवाफ दिँदैन, तबसम्म संसद् चल्न नदिने घोषणा गरे। 

यसअघि आजको शून्य समयमा सांसद उमीता विश्वकर्माले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रम अविलम्ब सञ्चालन हुनुपर्ने माग गर्दै सरकारले महिला सशक्तीकरण र दलित विधेयक ल्याउन नसकेको आरोप लगाए।

अर्का सदस्य नारायणबहादुर मगरले प्रदेशमा बह'वर्षीय सडकका योजना अलपत्रमा परेको, रकमको अभावमा ठेक्का लिएका कम्पनी पनि भाग्न लागेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

यस्तै अर्का सदस्य रामचन्द्र लिम्बूले सरकारले ८५ प्रतिशत प्रगति गरेको विवरण सदनमा जानकारी दिए पनि त्यसअनुसारको काम नभएकाले बजेट कहाँ गयो जवाफ दिनुपर्छ भने।

प्रदेशसभाको अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, चैत २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्