Kathmandu Press

नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूको जमघट, फोरम बनाउनेसम्मको योजना

नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले बुधबार महाराजगञ्‍‍जमा जमघट गरे। त्यस जमघटमा १२ पूर्वमहानिरीक्षकहरू सहभागी थिए।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूको जमघट, फोरम बनाउनेसम्मको योजना
Hardik ivfHardik ivf

काठमाडौं, चैत २६ : नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले बुधबार महाराजगञ्‍‍जमा जमघट गरे। त्यस जमघटमा १२ पूर्वमहानिरीक्षकहरू सहभागी थिए।

जमघटको थलो थियो, पूर्वमहानिरीक्षक ध्रुवबहादुर प्रधानको घर। पूर्वमहानिरीक्षकहरू मोतीलाल बोहरा, अच्युतकृष्‍ण खरेल, श्यामभक्त थापा, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली त्यसमा सहभागी थिए।

नेपाल प्रहरीका १६ जना पूर्वमहानिरीक्षकहरू अवकाशको जीवन बिताइरहेका छन्। तीमध्ये खड्गजित बराल र दुर्लभकुमार थापा बिरामी अवस्थामा छन्। हेमबहादुर गुरुङ पोखरातिर भएकाले जमघटमा सहभागी भएनन्। यस्तै, प्रदीपशमशेर राणा पनि त्यसमा सहभागी थिएनन्।

यो जमघटको चाँजो पूर्वमहानिरीक्षक प्रधानले नै मिलाएका हुन्। उनी प्रहरीबाट अवकाशपछि राजनीतिमा छन्। पूर्वमहानिरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार प्रहरीको इतिहासमै पहिलोपटक यस्तो जमघट भएको हो।

‘यसअघि पूर्वमहानिरीक्षकहरूबीच प्रधान कार्यालयका औपचारिक कार्यक्रममा मात्र भेटघाट हुन्थ्यो, अब महिना-डेढ महिनामा यसरी नै जमघट गर्ने योजना छ,’ अर्यालले भने, ‘ध्रुव सा’बले चिया, खाजा खान सबैजनालाई बोलाउनुभएको थियो। म अलि ढिलो पुगेँ।’

उनका अनुसार पूर्वमहानिरीक्षकहरूको मञ्‍च बनाउने अन्तर्राष्‍ट्रिय अभ्यासबारे जमघटमा छलफल भएको थियो। तर, त्यस्तो मञ्‍च बनाइहाल्ने कुनै योजनाबारे निर्णय नभएको अर्यालले जानकारी दिए।

पहिलोपटक भेटेका जागिरे जीवनका विभिन्न घटनाक्रम सम्झिँदै ख्यालठट्टा गरेका थिए। अर्को पटक वरिष्‍ठताका आधारमा भेटघाटको थलो निश्‍चित गर्ने सहमति भएको छ।

‘हामी भेला भएका हौँ। एउटा फोरमका रूपमा यसलाई अगाडि बढाउन सकिने सम्भावना पनि छ। पछि सबैको घरमा पालो पालो गरेर जमघट गर्ने योजना छ,’ पूर्वमहानिरीक्षक अच्युतकृष्‍ण खरेलले भने, ‘धेरै मुलुकमा यस्तो अभ्यास छ।’ पूर्वमहानिरीक्षकहरूको मञ्‍च बनाउने कुरा अहिले परिपक्व नभइसकेको खरेलले बताए।

पूर्वमहानिरीक्षक ठाकुर ज्ञवालीले भने भविष्‍यमा यो जमघटलाई फोरमको रूप दिने योजना रहेको जानकारी दिए। ‘अन्य मुलुकमा पनि पूर्वप्रहरीमहानिरीक्षकहरूको फोरम बनाउने चलन छ। अवकाशप्राप्त मानिस एकप्रकारले सम्पर्कविहीन हुन्छ। प्रहरी संगठनको उपल्लो तहसम्म पुगेका मानिसको अनुभव महत्त्वपूर्ण हुन्छ,’ ज्ञवालीले भने, ‘आफ्नो कार्यकालमा गर्न नसकेका केही काम पनि होलान्। निम्नस्तरका कर्मचारीका केही समस्या होलान्, ती समस्या हामीले सम्बन्धित ठाउँमा राखिदिन सक्छौँ।’

संगठनको पुनर्संरचना र सुधारको पाटोमा पनि पूर्वमहानिरीक्षकहरूका सल्लाह, सुझाव विभागलाई पनि महत्त्वपूर्ण हुने ज्ञवालीले बताए। उनका अनुसार तिनै विषयका लागि भनेर पूर्वमहानिरीक्षकहरूको फोरम बनाउने योजना बनाइएको हो।
 

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्