Kathmandu Press

आकाशमा साइकल सरर

भर्खरै ‘स्काई साइक्लिङ’को अनुभव लिएकी मनिषाले रोमाञ्चित भावमा भनिन्, ‘यो मेरा लागि नौलो अनुभव हो। सुरुमा निकै डर लाग्यो, पछि बिस्तारै रमाइलो लाग्न थाल्यो। फेरि आउने सोचमा छु।’
आकाशमा साइकल सरर
Hardik ivfHardik ivf

काठमाडाैं, चैत २६ : भक्तपुरको सूर्यविनायक–७ घ्याम्पे डाँडामा भर्खरै खुलेको छ, योयो जिपलाइन। यहाँ युवालाई लक्षित गरी नयाँ प्रविधिको प्रयोगसहित लङ जिपलाइन (१.२ किमि), सर्ट जिपलाइन (४५० मिटर), स्काई साइक्लिङ (३५० मिटर), क्यानोपी साइक्लिङ (३५० मिटर) र स्विङ लगायत एड्भेन्चरस (साहसिक) खेल राखिएका छन्।

मंगलबार मनिषा तामाङ ‘स्काई साइक्लिङ’का लागि पहिलोपटक यहाँ पुगेकी थिइन्। भर्खरै ‘स्काई साइक्लिङ’ गरेकी उनले रोमाञ्चित भावमा भनिन्, ‘यो मेरा लागि नौलो अनुभव हो। सुरुमा निकै डर लाग्यो, तर बिस्तारै रमाइलो लाग्न थाल्यो। फेरि आउने सोचमा छु।’ साथीहरूबाट योयो जिपलाइनबारे सुनेर काठमाडौं बौद्धदेखि उनी यहाँ आएकी हुन्। उनीसँगै आएका दावा तामाङ पनि यहाँको ‘स्काई साइक्लिङ’ अनुभव निकै रोमाञ्चक रहेको सुनाउँछन्। यसअघि अन्य ठाउँमा स्काई साइक्लिङ गरिसकेका उनलाई काठमाडौंदेखि यति नजिकै साहसिक खेलको मजा लिन पाउँदा खुसी लागेको छ। ‘अन्य ठाउँको तुलनामा कस्तो होला भन्ने लागेको थियो। रोमाञ्चक र सुरक्षित लाग्यो,’ उनले भने, ‘यहाँ कर्मचारीको व्यवहार पनि राम्रो लाग्यो।’   

नवविवाहित जोडी आशिष र कामना अधिकारीले यहाँ ‘कपल लङ जिपलाइन’को अनुभव लिए। कामना भन्छिन्, ‘अविस्मरणीय रह्यो।’

नवविवाहित जोडी आशिष र कामना अधिकारी । तस्बिर : सुजल बज्राचार्य ।

गत चैत १ गते सफ्ट ओपनिङ भएको योयो जिपलाइनमा हरेक हप्ता ३५ देखि ४० जनासम्म ग्राहक आउन थालेका छन्। यहाँका अपरेसन म्यानेजर श्रीराम थापाका अनुसार, ओपनिङको पहिलो साता ३५ जना ग्राहक आएका थिए। ‘दोस्रो साता त्यो संख्या दोब्बर भयो,’ थापा भन्छन्, ‘यति नै आउँछन् भन्ने त छैन, तर आउनेको संख्या बढिरहेको छ।’ उनका अनुसार, धेरैजसो कपल लङ जिपलाइनका लागि आउँछन्।

यो जिपलाइन निर्माण सम्पन्न गर्न झन्डै एक वर्ष लाग्यो। अहिलेसम्म तीन सय करोड रुपैयाँ हाराहारी लगानी भएको छ। अझै पनि कतिपय संरचना निर्माणाधीन छन् भने थप संरचनाको निर्माणको योजना रहेको थापा बताउँछन्।

स्काई साइक्लिङ गर्दै मनिषा र दावा तामाङ ।

उपत्यकावासीलाई लक्षित

अहिले उपत्यकावासी धुवाँधुलोबाट प्रभावित छन्। विशेषतः युवाहरू सहरको भीड, कोलाहलबाट बेलाबेला केहीबेर कतै नजिकै जान चाहन्छन्। अर्कोतिर धेरैजसोलाई जागिर, पेसागत कामले थकान र तनाव महसुस भइरहेको हुन्छ, उनीहरूका निम्ति रोमाञ्चक साहहिक खेल तनावमुक्तिको अवसर हुन सक्छ। यही सोचले ‘योयो जिपलाइन’ सञ्चालनमा ल्याएको अपरेसन म्यानेजर थापा बताउँछन्।  उनको अनुभवमा अहिलेका युवा एड्भेन्चरस खेल खेल्ने र लाइफ टाइम मेमोरी बटुल्नमा बढी उत्साहित देखिन्छन्। उनी भन्छन्, ‘त्यसैले युवा वर्गलाई लक्षित गरी यस्ता खेल राखेका हौँ।’

यहाँ आन्तरिक मात्र नभई युके, जर्मनी, भारत लगायत देशबाट पर्यटक आइसकेको थापा बताउँछन्।
 
कति सुरक्षित ?

अपरेसन म्यानेजर थापाका अनुसार, यहाँ सञ्चालिन हरेक खेल सुरक्षित छन्। यहाँ हार्नेस प्रविधि र पुलीको प्रयोग गरिएको छ। एउटा पुलीले लगभग २२ सय किलोसम्म तौल धान्छ। ‘साथै सेफ्ट हेलमेट, चस्मा लगायत सबै सुरक्षाका मापदण्ड जाँच गरेर मात्र ग्राहकलाई पठाउने गरेका छौँ,’ थापा भन्छन्, ‘हरेक तीन महिनामा प्राविधिक परीक्षण गर्छौं। दैनिक पनि कर्मचारीले सुरुमा परीक्षण गरेर मात्र ग्राहकलाई पठाउँछौँ।’

योयो जिपलाइनका अपरेसन म्यानेजर श्रीराम थापा ।

यहाँ उच्च रक्तचाप, मधुमेह भएका तथा जेष्ठ नागरिक, बालबालिका, गर्भवतीलाई कुनै पनि खेलको अनुमति दिइँदैन। ‘१६ वर्षभन्दा माथि र ७० वर्षभन्दा कम उमेरको मानिसलाई मात्र खेलको अनुमति दिने गरेका छौँ,’ उनले भने, ‘कर्मचारीलाई छुट्टै तालिम दिएका छौँ। टिकट खरिद गर्नुअगाडि नै ग्राहकको तौल, उचाइ, रोगको स्थिति सबै हेरेर मात्र पठाउँछौँ। बिमाको समेत व्यवस्था गरेका छौँ।’

प्राविधिक कारण ग्राहकको खेल बीचैमा रोकिए वा केही समस्या आएमा आकस्मिक सेवाका लागि तालिम प्राप्त कर्मचारीको व्यवस्था गरिएको थापा बताउँछन्। उनका अनुसार, यहाँ अहिले ३८ जना कर्मचारी छन्।

टिकट

भक्तपुर, सूर्यविनायकबाट पूर्वतिर लागेपछि गणेश मन्दिर आउँछ। त्यहाँबाट बायाँतर्फ गएपछि योयो जिपलाइनको ठूलो बोर्ड राखिएको छ। त्यहाँदेखि उकालो लागेपछि ठाउँ ठाउँमा बोर्ड राखिएका छन्। जंगल कटिसकेपछि जिपलाइन पुगिन्छ। त्यहाँ पुग्नेबित्तिकै ‘जिपलाइन इन्क्वाएरी’ लेखिएको बोर्ड देख्न सकिन्छ। त्यहाँ तौल सीमा, उमेर सीमा, खेलको प्रकार र शुल्क लगायत सबै जानकारी उल्लेख छ। त्यसलाई हेरेर आफूले चाहेको खेल खेल्नका लागि टिकट काटिन्छ।

लङ जिपलाइन (१.२ किमि) अन्तर्गत नर्मल÷क्लासिकको तीन हजार रुपैयाँ, सुपरम्यान फ्लाई तीन हजार पाँच सय रुपैयाँ, कपल जिपलाइनको चार हजार रुपैयाँ तिर्नुपर्छ। त्यस्तै, सर्ट जिपलाइन (४५० मिटर) अन्तर्गत नर्मल÷क्लासिकको एक हजार पाँच सय रुपैयाँ, सुपरम्यान फ्लाई दुई हजार रुपैयाँ, कपल जिपलाइनको दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ।
स्काई साइक्लिङ (३५०) मिटर अन्तर्गत वन–वेको एक हजार पाँच सय रुपैयाँ, टु–वेको दुई हजार रुपैयाँ लाग्छ। त्यस्तै, क्यानोपी साइक्लिङ अन्तर्गत वन–वेको एक हजार आठ सय रुपैयाँ र टु–वेको दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ।

बिहान ९ देखि साँझ ५ बजेसम्म खुला रहने योयो जिपलाइनमा समूहमा आउनेका लागि छुट्टै हल, डान्सिङ फ्लोर र खाना तथा खाजाका लागि रेस्टुरेन्टको समेत व्यवस्था छ।

 

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्