Kathmandu Press

रसुवागढी नाकाबाट निर्यात खोल्न किन छैन सरकारलाई चासो ?

रसुवागढी नाकामा एक वर्षदेखि निर्यात ठप्प छ। चीनतर्फबाट नियन्त्रित रूपमा आयात भइरहे पनि निर्यात खोल्न चिनियाँ पक्षले चासो दिएको छैन, न त नेपाली पक्षले नै यसमा ठोस प्रयास गरेको छ।
रसुवागढी नाकाबाट निर्यात खोल्न किन छैन सरकारलाई चासो ?

काठमाडौं, चैत २४ : रसुवागढी नाकामा एक वर्षदेखि निर्यात ठप्प छ। चीनतर्फबाट नियन्त्रित रूपमा आयात भइरहे पनि निर्यात खोल्न चिनियाँ पक्षले चासो दिएको छैन, न त नेपाली पक्षले नै यसमा ठोस प्रयास गरेको छ।

२०७६ को ल्होसारदेखि बन्द रहेको निर्यात अझै खुलेको छैन। चीनमा १५ माघ ०७६ मा ल्होसार सुरु भयो। ल्होसारको बिदा समाप्त हुँदा कोरोना प्रसारले विश्वव्यापी रूप लिइसकेको थियो। त्यसैले चैतदेखि जेठसम्म रसुवागढी नाका पूर्ण सिल भयो। २२ जेठ ०७७ देखि चीनबाट एकतर्फी सामान भित्रिन थाल्यो।

३२ साउनदेखि १३ भदौसम्म बाढी पहिरोका कारण नाका बन्द भयो। १७ साउनमा नेपालतर्फ एक मजदुरमा कोरोना संक्रमण देखियो, जसका कारण नाकाको व्यापार ठप्प भयो। ७ असोजमा मात्र नाका फेरि खुल्यो। र, दैनिक चारवटा कन्टेनर पठाउने कोटा प्रणाली चिनियाँ पक्षले लागू गर्‍यो।

२४ भदौमा दुई मुलुकका सुरक्षा अधिकारीबीच मितेरी पुलमा बैठक भएको थियो। सोही बैठकमा चिनियाँ पक्ष दैनिक आठ कन्टेनर सामान पठाउन सहमत भएको थियो। अहिले दैनिक सात कन्टेनर सामान पठाएर चिनियाँ पक्षले औपचारिकता देखाउँदै आएको छ। तर, नेपालतर्फबाट हुने निर्यात कहिले खुल्ने भन्ने टुंगो छैन।

नेपालबाट चीनतर्फ विभिन्न साम्रगी आयात तथा निर्यात गर्ने मुख्य नाका हो यो। कोरोना महामारी सुरु हुन अघिसम्म दैनिक एक सय वटा गाडी आवतजावत हुन्थे। टिमुरेमा व्यापारीको घुइँचो रहन्थ्यो। दैनिक एक सयभन्दा बढी कन्टेनर जाँचपास हुन्थे। केरुङमा पनि नेपाली ट्रक चालक, सहचालक र व्यापारीका प्रतिनिधिको भीड लाग्थ्यो।

आयातमा पनि चिनियाँ पक्षको नियन्त्रित व्यापार नीति र निर्यात खोल्न चासो नदेखिँदा रसुवागढी नाका सुनसान छ। यो सिजनमा जाडोका सामान सकिएर गर्मीका लत्ताकपडा आउन थाल्नुपर्ने हो।

भन्सार विभागका प्रवक्ता शिशिर घिमिरे निर्यात खोल्ने-नखोल्ने भन्ने निर्णय दुई मुलुकका सरकारबीचको भएकाले त्यसको जानकार वाणिज्य मन्त्रालय नै रहेको बताउँछन्। ‘अहिलेलाई चीनतर्फबाट सामान मितेरी पुलसम्म ल्याइदिने र त्यहाँबाट नेपाली कन्टेनरले टिमुरेसम्म ल्याउने व्यापार मात्र चलिरहेको छ,’ उनले भने।

रसुवा भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार निर्यात खोल्न बारम्बार प्रयास गरिए पनि सफलता प्राप्त भएको छैन। ‘निर्यात पोहोर ल्होसारदेखि ठप्प छ। आयात पनि पहिले पाँचवटा कन्टेनर आउँथे, अहिले सातवटा आइरहेका छन्,’ रेग्मीले भने।

रसुवागढी व्यापारबारे बुझ्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग सम्पर्क गर्दा बैठकमा भएको बताउँदै पन्छिए। मन्त्री भट्टले भने, ‘म एकदमै महत्त्वपूर्ण बैठकमा छु, पछि कुरा गरौँ।’
 

प्रकाशित मिति: १३:५६ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्