कलेसियादेवी चमार श्रीमानको ऋण तिर्न फुटपाथमा जुत्ता सिलाउँछिन्

काठमाडाैं, चैत ४ : एउटी महिला आफूले लगाएको कालो बुट देखाउँदै भन्छिन्, ‘दिदी जुत्ता पोलिस गरिदिनुहुन्छ?’

४८ वर्षीया कलासियादेवी चमार ती महिलातिर हेर्दै भन्छिन्, ‘हुन्छ।’

ती महिलाले आफ्नो बुट खोल्दै भन्छिन्, ‘चप्पल दिनुस् न!’

कलसियादेवी आफ्नो बायाँ छेउमा राखेको कालो चप्पल झिकेर दिन्छिन् । त्यसपछि दुवै बुटमा ब्रसले पोलिस दलेर घाममा सुकाउँछिन् । अनि, चप्पल सिलाउनतिर लाग्छिन् । केहीबेरमा उनले सुकाएका बुट ओभानो बन्छन्, अनि उनले त्यसलाई ब्रसले टल्काउन मेहनत गर्छिन्, उनको ब्रसको घर्षण र पोलिसले बुट टलक्क टल्किन्छ ।

बुट पोलिस गरेबापत बुटवालीले उनलाई ५० रुपैयाँ दिन्छिन् । उनले पैसा दिने बेला ब्यागबाट ५० र २० को गरी दुईवटा नोट निकालेकी थिइन् । २० रुपैयाँ भने ब्यागमै हालिन् ।

कलसियादेवीले मुसुक्क हाँस्दै भनिन्, ‘मलाई दिने होला भनेको त ब्यागमा पो राख्नुभयो।’

तस्बिर : सुजल बज्राचार्यर/काठमाडाै‌ प्रेस

उनीहरूबीच १०–२० रुपैयाँको खासै हिसाब हुँदैन । बुट पालिस गर्न ल्याउने महिलाले लाजिम्पाटको मनाङ होटलमा कुकको काम गर्छिन् । उनी भन्छिन्, ‘मैले उहाँ दिदीलाई चिनेको १० वर्ष भइसक्यो।’

कलसियाले दिनमा लाजिम्पाटको भित्री गल्लीको फुटपाथमा बसेर र साँझपख रत्नपार्कको फुटपाथमा बसेर जुत्ताको काम गर्छिन् । ‘यहाँ बेलुकीसम्म मानिसको आवतजावत हुँदैन, त्यसैले साँझमा रत्नपार्कको फुटपाथमा बसेर काम गर्छु,’ उनी भन्छिन्, ‘त्यहाँ भीड हुन्छ । दुवैतिर गरेर दिनमा पाँच–सात सय कमाइ हुन्छ ।’

उनले जुत्ता सिलाउने सियो–धागो र जुत्ता टल्काउने पालिस–ब्रससँग खेलेको १२ वर्ष भयो । उनका श्रीमान् रामबाबु चमारले यही ठाउँमा जीवनका झन्डै ४५ वर्ष जुत्ता सिलाएर बिताए। रामबाबुको तीन वर्षअघि मृत्यु भयो, ६० वर्षको उमेरमा । कलसिया भन्छिन्, ‘उहाँको मदिरा पिउने आदत थियो ।’

सर्लाही जिल्लाको हरकठवा–९ मा जन्मिइएकी कलसियाको २० वर्षको उमेरमा गाउँमै मागी–विवाह भएको थियो । रामबाबुको पहिलो श्रीमतीको मृत्युपछि छोराछोरी बिचल्लीमा परे, त्यही बेला परिवारले कलसियाको विवाह रामबाबुसँग गरिदियो । रामबाबुको पहिलो श्रीमतीतिर तीन छोरी र एक छोरा छन्, कलसियातिर दुई छोरा मात्र । पहिलो श्रीमतीतिरका सबै छोराछोरीको विवाह भइसक्यो, सबैले आ–आफ्नो सुर गर्छन्।

जेठी छोरी सरिता विवाह गरी अहिले भारतमा बस्छिन् । सरिताले भर्खरै भाइ (कलेसियातिरका जेठा छोरा बब्लु)लाई पनि कुनै काम सिक्न भनी भारत लिएर गएकी छन् । हुन त कलेसियाले छोरालाई चक्रपथस्थित शारदा उच्च माध्यमिक विद्यालयमा पढाउँदै थिइन् ।

भारत जाने बेला छोराले भनेको कुरा कलसियाको मनमा लागेको छ, उनी भन्छिन्, ‘छोराले भन्यो– हाम्रो बुवा छैनन् । जति पढे पनि आखिर काम गर्ने हो । पढेको मान्छेले पनि कामै गरेर खाने हो । त्यसैले म काम सिकेर आउँछु । भाइलाई पढाउनू।’

कलसिया गाउँबाट महिना दिनको कान्छो छोरा सोनरामलाई काखमा च्यापेर काठमाडौं आएकी थिइन् । आएदेखि नै श्रीमानलाई सघाउन थालिन् । श्रीमानसँग फुटपाथमा बस्दाबस्दै उनले पनि काम सिकिन् । उनको सानो छोरालाई जेठी छोरी सरिताले हेरचाह गर्थिन् । यसरी उनको सानो परिवार चलेको थियो । दुईनालका छोराछोरी भए पनि सम्बन्ध सुमधुर नै थियो।

भारत गएका कलेसियाको छोराको पनि विवाह भइसकेको छ, अहिले कलेसिया बुहारी र कान्छो छोरासँग तिलगंगामा भाडामा बस्छिन् । उनका १२ वर्षीय कान्छा छोरा सोनुरामले अहिले दुई कक्षामा पढ्छन्।

कलेसियाको टाउकोमा अलिकति ऋण छ । सासु ससुराको मृत्यु हुँदा र छोराछोरीको बिहे गर्दा उनका श्रीमान्ले ३ लाख रुपैयाँजति ऋण गरेका थिए । त्यसमाथि श्रीमान्कै मृत्यु हुँदा मृत्यु संस्कारका लागि कलेसियाले १ लाख १० हजार रुपैयाँ ऋण लिएकी थिइन् । महिनामा पुगेसम्म दश हजार, पाँच हजार गरी ऋण चुक्ता गर्दै आएको उनी बताउँछिन् । उनी स्वयंले लिएको ऋणमध्ये १० हजार तिर्न बाँकी छ । ‘लकडाउन भएदेखि व्यापारै छैन,’ उनी भन्छिन्, ‘श्रीमान्ले लिएको ऋण तिर्न सकेकी छैन, रातभरि निद्रा लाग्दैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ माघमा नारायणहिटी अघिल्तिरबाट भाषण गरेका थिए, ‘गरिबको सरकार छ।’ त्यहाँदेखि नजिकै कलेसियाले श्रीमानले लगाएको र श्रीमान खस्दा लागेको ऋण तिर्न जुत्ता सिलाइरहेकी छन्।

शिवरात्रिको दिन उनलाई रहर थियो– पशुपतिनाथको मन्दिर जाने, तर कामले पाइनन् । उनी भन्छिन्, ‘काम गरे दुई–पैसा आइहाल्छ।’

उनीसँग मानिसहरूले सिलाउन दिएको एक झोला जुत्ता छ । जसलाई फिँजाएर घाममा सुकाएकी छन् । उनले ग्राहकको जुत्ता एकै दिनमा सिलाउन नभ्याउने भएपछि झोलामा राखेर बेलुकी कोठामा लैजाने गर्छिन् । अर्को काठका बाकस पनि उनको साथमा सधैँ हुन्छ । जसमा जुत्ता सिलाउने सियो, धागो, पालिस, ब्रस, राखिएको हुन्छ । फोहोरमैला उठाउने व्यक्तिसँग उनले पुराना जुत्ता किन्ने गर्छिन् । त्यस्ता जुत्तालाई मर्मत र पोलिस गरी सस्तो दाममा बेच्छिन्।

माइतीमा पनि उनको बाबुले दुई विवाह गरेका थिए । उनको बुवाको साढे तीन बिघा जग्गा थियो । दुई आमाबाट उनीहरू पाँच भाइ र चार बहिनी जन्मिइएका थिए । अहिले कलेसियाका बाबुआमा अनि एक दाजु र एक दिदी यस संसारमा छैनन् । आफ्ना चार दाजुभाइले जग्गाजमिन बेचिसकेको उनी बताउँछिन् । उनका श्रीमान्का पनि तीन दाजुभाइ छन्, दुई कट्ठा जमिन छ । जुन आजसम्म सासुससुराको नाम भएकाले अंशबन्डा भएको छैन।

उनलाई पुख्र्यौली सम्पत्तिको भन्दा आफ्नै बाहुबल र दुई बेटाको भरोसा छ।

 

 Published Date: Wednesday, 17th March 2021 3:34:00 pm