Kathmandu Press

‘कानूनी रूपमा मात्र एमाले एक छ, राजनीतिक र भावनात्मक कोणबाट अलग भइसक्यौँ’

केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई सिध्याउनै खोज्या हो। तसर्थ, उहाँले सम्पूर्ण कम्युनिस्टहरूलाई एकीकृत गर्ने र एकजुट गराएर अगाडि बढाउने कुरामा विश्‍वास पनि छैन, आशा पनि छैन।
‘कानूनी रूपमा मात्र एमाले एक छ, राजनीतिक र भावनात्मक कोणबाट अलग भइसक्यौँ’

२८ फागुनमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एकपक्षीय रूपमा केन्द्रीय कमिटी हेरफेर र केन्द्रीय सदस्यहरू मनोनयन गरेपछि माधवकुमार नेपाल-झलनाथ खनाल समूह पार्टीको नवौँ महाधिवेशनमा निर्वाचित कमिटीहरू ब्युँताउन लागिपरेको छ। २ चैतमा दुई पक्षबीच वार्ता भए पनि त्यो सकारात्मक दिशामा अगाडि बढेको छैन। नेपाल-खनाल समूहको अबको रणनीति के होला? एमाले उपाध्यक्ष तथा नेपाल-खनाल समूहकी प्रभावशाली नेतृ अष्‍टलक्ष्‍मी शाक्य भन्छिन्, ‘एमाले राजनीतिक र भावनात्मक रूपमा एक रहेन।’ पार्टीभित्रको अन्तरद्वन्द्वमा केन्द्रित रहेर शाक्यसँग काठमाडौं प्रेसका लागि शुष्‍मा बरालीले गरेको संवादः

पार्टीमा समानान्तर कमिटीको आवश्यकता किन पर्‍यो?

सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेकपाका प्रचण्ड-नेपाल समूह दुई पार्टीका रूपमा अलग हुनुपर्ने भयो। र, हामी आफ्नै पुरानो पार्टी एमालेमा फर्कियौँ। अदालतको निर्णयलाई आत्मसात गर्दै ढिलो नगरी पुरानो पार्टीमा गयौँ। तीतो, पिरो, नमिठो जे जस्तो भए पनि आफ्नै पुरानो पार्टी हो, आत्मालोचना गरौँला, छलफल गरौँला, मन माझामाझ गरेर अगाडि बढ्न सकिन्छ भन्‍ने लागेर पुरानो पार्टीमै फर्कियौँ।

पार्टी अध्यक्ष त केपी ओली नै हुनुहुन्छ। अध्यक्षको नाताले उहाँले राम्रै व्यवहार गर्नुहोला, बोलाउनुहोला, बैठक पनि राख्‍नुहोला, शीर्ष नेताहरूबीचमा कुराकानी, छलफल होला भन्‍ने लागेको थियो। तर, उहाँले हामीमाथि ठ्याक्कै उल्टो व्यवहार गर्नुभयो। २८ फागुनमा गुटको भेला बोलाएर हामीलाई कुनै सूचना, जानकारी नदिई अत्यन्तै अपमानित ढंगले अध्यक्ष र महासचिव मात्र राखेर अरू सबै पदाधिकारी हटाएको घोषणा गर्नुभयो। जब कि, पार्टीको विधानअनुसार त्यस्तो निर्णय गर्न मिल्दैन, बिनाबैठक केपी ओलीले आफ्ना ‘यस म्यान’हरूको गुटको भेला गरेर विधानविपरीत अवैध तरिकाले गरेको निर्णय हाम्रा लागि मान्य छैन। र, यो निर्णय अवैध रहेकाले कुनै पनि हालतमा हामी मान्‍न सक्दैनौँ।

केपी ओलीले यो निर्णय फिर्ता लिनुपर्छ भनेर वक्तव्य जारी गरेका छौँ। ओलीको यो निर्णय अत्यन्तै अराजक, स्वेच्छाचारी र मनपरि ढंगले आएको छ। पार्टीमा मिल्ने आधार पनि नखोज्‍ने, सहज वातावरण पनि नदिने यो प्रवृत्तिविरुद्ध छौँ। उल्टै गुटको भेलाबाट ७ चैतमा केन्द्रीय कमिटीको बैठक छ भनेर अनेकौँ ढंगका बोली र व्यवहार भइरहेका छन्, जुन अत्यन्त अपमानजनक छन्।

यस्तो व्यवहारविरुद्ध चुप लागेर बस्‍न हुँदैन, हामीले छुट्टै तरिकाले अगाडि बढ्नुपर्छ। केपी ओलीको यो व्यवहार सहन सक्ने अवस्था छैन, मिल्ने स्थिति पनि छैन। हामीले सहज वातावरण खोजिरहेका थियौँ। तर, अध्यक्षको नाताले गरेको व्यवहारले अप्ठ्यारो अवस्था सिर्जना भएपछि कमिटी निर्माण गर्‍यौँ।

केपी ओलीको यो व्यवहार सहन सक्ने अवस्था छैन, मिल्ने स्थिति पनि छैन। हामीले सहज वातावरण खोजिरहेका थियौँ। तर, अध्यक्षको नाताले गरेको व्यवहारले अप्ठ्यारो अवस्था सिर्जना भएपछि कमिटी निर्माण गर्‍यौँ।

कमिटी निर्माणसँगै चैत ४ र ५ को भेला कार्यक्रम भनिएको छ, यो कस्तो भेला हो?

केपी ओलीको एकलौटी निर्णय र गुटतन्त्रविरुद्ध अगाडि बढ्नुपर्छ भन्‍ने लागेर हाम्रा छरिएर रहेका शक्तिलाई एक ठाउँमा ल्याउनका लागि कार्यक्रम आयोजना गरेका हौँ। पार्टी स्थायी कमिटीमा हाम्रो बहुमत छ, देशव्यापी जिल्ला कमिटीमा पनि हामी बहुमतमा छौँ। सबै युवा संघ, महिला संघ हाम्रो पक्षमा छन्। यसरी हुँदैन, अब हाम्रो शक्तिलाई सुदृढ गर्नुपर्छ, संगठित गरेर अगाडि बढ्नुपर्छ भनेर चैत ४ र ५ मा राष्‍ट्रिय कार्यकर्ता भेला आयोजना गरेका हौँ। त्यसपछि महिला संगठन, युवा संगठन र विद्यार्थी संगठनको भेला गर्ने योजना छ।

तत्कालीन नेकपा छोडेर आएपछि हामी त असंगठित भयौँ नि, भएको हाम्रो शक्ति छरपस्ट भयो। हिजोका कमी कमजोरी सच्याउँदै, आत्मालोचना गर्दै अगाडि बढ्नुको साटो अपमानजनक व्यवहार पाएका छौँ। तसर्थ चैत ४ र ५ को भेला हुन्छ। देशव्यापी रूपमा प्रभावकारी ढंगले कार्यक्रम सम्पन्‍न गर्छौँ। देशव्यापी रूपमा सम्पूर्ण क्षेत्रका साथीहरू सहभागी हुनुहुन्छ। उत्साहजनक सहभागितामा सन्देशसहित कार्यक्रम गर्छौँ। सबै शक्तिलाई हामी एकीकृत गरेर प्रष्‍ट दृष्‍किोणका साथ अगाडि बढ्छौँ।

केपी ओलीप्रति तपाईंहरूको दृष्‍टिकोण के हो?

एउटा कम्युनिस्टको हृदय विशाल हुनु पर्दैन? कम्युनिस्ट धरातलबाट आफ्नो कमी कमजोरी सच्याउने अनि संस्कार र नैतिकता कम्युनिस्ट धरातलबाट उठ्नुपर्दैन? तर, केपी ओलीमा कहीँ कतै कम्युनिस्ट संस्कार देखिएन, न व्यवहार, न सोच, न त संस्कार नै। तसर्थ, हामी अगाडि बढ्नैपर्ने बाध्यता भयो र अगाडि बढ्यौँ पनि।

हामीले आफ्नो शक्तिलाई मजबुत बनाउनैपर्छ, एकीकृत गर्नैपर्छ, गोलबद्ध हुनुपर्छ भनेर हामी लागिपरेका हौँ। यो हाम्रा कारणले नभएर केपी ओलीको महत्वाकांक्षा, मपाइँत्व, दम्भ र गलत प्रवृत्तिका कारण उत्पन्‍न परिस्थिति हो।

२८ फागुनको निर्णयबाट पदाधिकारीको जिम्मेवारी खोसिनुलाई कसरी लिनुभएको छ?

अध्यक्ष र महासचिव मात्र होइन, उपाध्यक्ष, उपमहासचिव, सचिव सबै महाधिवेशनबाट निर्वाचित भएका हुन्। केन्द्रीय कमिटी पनि महाधिवेशनबाटै निर्वाचित भएको हो। सम्पूर्ण पद मतदानबाट निर्वाचित भएका हुन्। महाधिवेशनबाट निर्णय गरेर, मतदानबाट जितेर आएकामध्ये अध्यक्षको पद जोगाउने, महासचिव कायम राख्‍ने र बाँकी अन्यलाई पदबाट हटाउने काम निन्दनीय छ। आफूलाई मन नपर्ने भएपछि सिध्याउने खेलमा लागेका केपी ओलीको यो स्वेच्छाचारी र अत्याचारी कदम स्वीकार्य छैन।

महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई हटाइनु अवैध र पार्टीको विधानविपरीत छ। गुटको भेलाबाट गरेको एकल निर्णय र दम्भ हामी स्वीकार्दैनौँ। केपी ओलीले सत्ता र शक्तिको दुरुपयोग गरिरहनुभएको छ। उहाँको दम्भले प्रतिगामी कदम चाल्यो, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गर्‍यो, संविधान र प्रतिनिधिसभामाथि आक्रमण गर्‍यो।

महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई हटाइनु अवैध र पार्टीको विधानविपरीत छ। गुटको भेलाबाट गरेको एकल निर्णय र दम्भ हामी स्वीकार्दैनौँ। केपी ओलीले सत्ता र शक्तिको दुरुपयोग गरिरहनुभएको छ। उहाँको दम्भले प्रतिगामी कदम चाल्यो, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गर्‍यो, संविधान र प्रतिनिधिसभामाथि आक्रमण गर्‍यो।

जब कि, प्रधानमन्त्रीको ठाउँमा उहाँलाई सम्पूर्ण जनताको विश्‍वासले पुर्‍याएको हो। जनताको बलिदान र जनताका अपेक्षाले प्रधानमन्त्री बनाएको हो उहाँलाई। आज यो पद मेरै कारणले मैले नै योगदान गरेर प्राप्त भएको र मेरै मात्र दुःखले प्राप्त गरेको भन्‍ने उहाँको दम्भ गणतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन सक्दैन। यो नेतृत्व हुनै सक्दैन। यो नेतृत्वले लामो समय यस्तै गर्‍यो भने पार्टी धरासायी हुन्छ। कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त भएर जान्छ। उहाँले त लोकतन्त्र र गणतन्त्रमाथि नै प्रहार गर्नुभएको छ।

चैत ७ को केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुहुन्छ कि हुनुहुन्‍न?

चैत ७ गते बैठक भनेर एउटा एसएमएस आएको छ। बैठकस्थल पनि निश्चित गरिएको छैन। ठाउँ पक्कै प्रधानमन्त्री निवास, बालुवाटार नै होला। सरकारी निकाय र आवासहरूमा पार्टीका बैठक बस्‍न पाइँदैन। पहिले पनि हामीले त्यसको विरोध गरेका हौँ। पार्टीको बैठक त पार्टी कार्यालयमै बस्‍नुपर्‍यो। त्यसकारण हामी उक्त ठाउँमा जाँदैनौँ।

हामीलाई अपमानित ढंगले, विधानविपरीत पदाधिकारीबाट हटाउने २८ फागुनको निर्णय नसच्याई, गल्ती र कमजोरी भयो, त्यो निर्णय फिर्ता लियौँ भनी यथास्थानमा राख्‍ने निर्णय लिएर आएको खण्डमा छलफल गर्न सकिन्छ। त्यतिबेला मात्र बैठकमा बस्‍न सकिने भयो। नत्र अपमान सहेर बैठकमा जान सकिँदैन। अध्यक्ष ओलीमा यस्तो रवैया गर्न नहुने रहेछ भन्‍ने अहिलेसम्म महसुस भएको देखिँदैन। त्यसरी स्वेच्छाचारी ढंगले पदबाट हटाउन नहुने रहेछ भन्‍ने महसुस गर्दै जबसम्म आत्मालोचना गर्नु हुन्‍न, हामी चैत ७ को बैठकमा जाने स्थिति नै छैन, सहभागी हुँदैनौँ।

त्यसरी त पार्टी नै फुटको संघारमा देखियो नि?

३ चैतमा धुम्बाराहीमा शीर्ष नेताहरू बैठकमा बस्‍नुभयो। बसेर समीक्षा गरौँ, मिलेर जाऊँ, एकै ठाउँमा बसेर जाऊँ, जसले पार्टी र सरकार दुवै बलियो हुन्छन्, छुट्टिएर किन कमजोर हुने भनेर केही शीर्ष नेताहरू जानुभयो। तर, उक्त बैठकमा पनि केपी ओलीले आफ्नो दम्भ छोड्नुभएन। सच्याएर जाऊँ न त भन्‍नुपर्नेमा आफ्नो सुर छाड्नुभएन। गल्ती नै गरेको छैन भन्‍ने उहाँको व्यवहार देख्दा देख्दै कसरी अगाडि बढ्न सकिएला? अपमानजनक व्यवहार निरन्तर छ, कसरी सँगै जान सकिन्छ?

एक किसिमले भन्दा त कानूनी रूपमा मात्र सँगै भएकोजस्तो देखिएको छ, राजनीतिक र भावनात्मक हिसाबले त अलग भइसक्यौँ नि। सर्वोच्च अदालतको निर्णयका आधारमा पुनः फर्किएका हौँ, एमाले पार्टी एकै ठाउँमा बसौँ भनेर आएका हौँ। नत्र, केपी ओलीको प्रतिगामी कदम हेरिरहँदा र सम्पूर्ण रवैया देख्दा कम्युनिस्टको भविष्‍य अन्धकारमय छ। कम्युनिस्ट आन्दोलनलाई सिध्याउनै खोज्या हो। तसर्थ, केपी ओलीले सम्पूर्ण कम्युनिस्टहरूलाई एकीकृत गर्ने र एकजुट गराएर अगाडि बढाउने कुरामा विश्‍वास पनि छैन, आशा पनि छैन।

केपी ओलीको प्रतिगामी कदम हेरिरहँदा र सम्पूर्ण रवैया देख्दा कम्युनिस्टको भविष्‍य अन्धकारमय छ। कम्युनिस्ट आन्दोलनलाई सिध्याउनै खोज्या हो। तसर्थ, केपी ओलीले सम्पूर्ण कम्युनिस्टहरूलाई एकीकृत गर्ने र एकजुट गराएर अगाडि बढाउने कुरामा विश्‍वास पनि छैन, आशा पनि छैन।

कम्युनिस्ट आन्दोलनलाई बचाएर, मुलुकको नेतृत्व गरेर विकासको गति बढाउने, एकताबद्ध भएर अगाडि बढ्ने कुरा सम्भवै छैन। किनकि, केपी ओलीमा त्यो दृष्‍टिकोण र अवधारणा नै छैन। प्रतिगामी कदम चालेर, मुलुकलाई अन्धकारमा धकेलेर केपी ओली एक्लै अगाडि बढ्न चाहनुहुन्छ- समाजवादको लक्ष्‍य प्राप्त गर्न होइन, संविधान बचाउन होइन, गणतन्त्र बलियो बनाउन होइन। आफू सर्वोपरी हुन प्रतिगमनकारी कदम चालेको हो। तसर्थ, सच्चिन जरुरी छ।

कार्यकर्ताबीचमै फुट देखिएको छ। धनगढीमा भएको झडपलाई नै लिन सकिन्छ। कार्यकर्ताबीचमै फुट भइरहेको अवस्थामा अबको बाटो के त? समाधान कसरी गर्न सकिन्छ?

हामी विचलित भएका छैनौँ र निराश पनि छैनौँ। हामीले समाधानको बाटो देखिरहेका छौँ। कम्युनिस्ट आन्दोलनमा लागिरहँदा निकै जटिल परिस्थितिहरू सामना गरेर यहाँसम्म आएका हौँ। तसर्थ, अहिले पनि नहुनुपर्ने घटना भयो, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर घोषणा गरेको देशमा यस्तो अवस्था आउन हुँदैनथ्यो। तर, दुर्भाग्य गलत नेतृत्वको हातमा मुलुक पर्दा देशले यस्तो कठिनाइ भोग्‍नुपर्‍यो। अहिले त देश समृद्धिमार्गमा अगाडि बढ्नुपर्ने हो। तर, मुलुक अप्ठ्यारो स्थितिमा छ।

तर पनि अन्धकार छैन, बाटो उज्यालो र खुला छ। सबै शक्ति मिलेर गोलबद्ध भई अगाडि बढ्नसक्ने अवस्था छँदैछ। त्यसका लागि प्रथम त केपी ओली सच्चिनुपर्छ। त्यो सच्चिने मौका पनि हामीले दिएका छौँ। दम्भ फिर्ता लिनूस्, आफूले गरेका एकलौटी निर्णयहरू फिर्ता लिनूस्, विधानविपरीत गरिएका निर्णय सच्याउनूस् भनेका छौँ। साँच्चै नै मिलेर अगाडि बढ्ने र एक ठाउँमा बसेर मुलुक हाँक्ने हो भने आत्मालोचना गर्नूस् भनेका छौँ। तर, केपी ओली पहिल्यैदेखि नै आफ्नो गल्ती स्वीकार्न नसक्ने व्यक्ति हो। आफूले जे गरे पनि सही नै गरेँ भन्‍ने रवैया भएको व्यक्ति भएकाले आफ्ना गल्ती सच्याउने विषयमा निकै कम मात्रामा आशावादी छौँ।

हामीले आफ्नो शक्ति सुदृढ पार्नैपर्छ, गोलबद्ध भएर अगाडि बढ्नैपर्छ। हामीले कम्युनिस्ट शक्तिलाई मात्र नभएर सिंगो वामशक्तिलाई पनि एकताबद्ध बनाएर मुलुकलाई अगाडि बढाई नेतृत्व गर्नुपर्छ भन्‍ने प्रष्‍ट धारणा राखेका छौँ। विचलित नभइकन अगाडि बढ्छौँ।

एकलौटी शासनको आयु कम हुन्छ। केपी ओलीको नेतृत्व अहिले हेर्दा सबैले स्वीकारेजस्तो देखिए पनि अन्ततः विस्थापित भएर जान्छ। केपी ओलीलाई सच्चिने मौका दिएका छौँ, उहाँ सच्चिन चाहनुहुन्‍न भने कोही रोकिनेवाला छैनौँ, नयाँ नेतृत्व हुन्छ।

माओवादी केन्द्रसँग पनि नयाँ ढंगबाट एकीकरण गरेर अगाडि बढ्नैपर्छ। यो मुलुक निर्माण र समाजवादको लक्ष्‍य पूरा गर्न, समृद्धि र विकास, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको दिशाबाट अगाडि बढ्न, नयाँ समता मुलक नेपाल निर्माणमा सबै लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ। गणतन्त्र ल्याउन सबैको त्याग र बलिदान छ। तसर्थ, लोकतन्त्र र गणतन्त्रलाई बचाउन पनि सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा आएर अगाडि बढ्नुपर्छ। आपसमा लडेर र विवाद गरेर बस्‍ने होइन, मुलुक बनाउने बेला हो यो। त्यसका लागि फराकिलो सोच, प्रष्‍ट दृष्‍टिकोण लिएर साझा योजनाका साथ अगाडि बढ्नु जरुरी छ।

एकलौटी शासनको आयु कम हुन्छ। केपी ओलीको नेतृत्व अहिले हेर्दा सबैले स्वीकारेजस्तो देखिए पनि अन्ततः विस्थापित भएर जान्छ। केपी ओलीलाई सच्चिने मौका दिएका छौँ, उहाँ सच्चिन चाहनुहुन्‍न भने कोही रोकिनेवाला छैनौँ, नयाँ नेतृत्व हुन्छ। केपी ओली नभएपछि सबै सक्कियो, बाटो बन्द भयो, बर्बाद भयो भन्‍ने छैन, थुप्रै विकल्प छन्। जसले समयअनुकुल रूपान्तरित भई सबैलाई समावेश गर्न सक्छ, उसको नेतृत्व स्थापित हुन्छ। जसले दम्भ त्याग्दैन, सच्चिन चाहँदैन ऊ सक्किन्छ।
 

प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, चैत ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्