Kathmandu Press

यी बाआमा कहाँदेखि कसरी आइपुगे वृद्धाश्रमसम्म ?

‘अहिले जेठो र कान्छाको आफ्नै घर छ । माहिलो छोरा भाडामा बस्छ । म यहाँ बसेको थाहा पाएपछि माइली बुहारी मलाई लिन आएकी थिइन्–  तिमीहरू नै भाडामा जसोतसो बसेका छौ, तिमीहरूले घर बनाएको दिन जाउँला भनेर पठाइदिएँ ।’
यी बाआमा कहाँदेखि कसरी आइपुगे वृद्धाश्रमसम्म ?

काठमाडौं, फागुन २३ : ‘मलाई कसले छुन सक्छ र भन्ने बेला पनि थियो । आज यसरी वृद्धाश्रममा बस्नुपर्ला भनेर सोचेकै थिइनँ । समयको खेल रहेछ, समयले मानिसलाई कहाँबाट कहाँ पुर्‍याउँदोरहेछ,’ ८२ वर्षीय गोविन्द केसीले समयसँग गुनासो गरे ।

२३ महिनाअघि घर–व्यवहारले विरक्तिएर हिँडेका उनलाई बालाजु प्रहरी चौकीले काठमाडौं गोंगबुमा रहेको हिमालय वृद्घाश्रममा ल्याइदियो । यस आश्रममा अहिले उनीजस्तै ३८ (१९ महिला, १९ पुरुष)ले आश्रय पाएका छन् । यहाँ आइपुग्नुको पछाडि हरेकका आ–आफ्नै कथा छन् । 

यस ठाउँमा आश्रय पाएपछि गोविन्द घर फर्केनन्, उनको थातथलो बालाजु हाइट हिलेडोलमा हो । उनका तीन छोरा, दुई छोरी र श्रीमती छन् । श्रीमती कान्छो छोरासँग बस्छिन् । छोराछोरीले आफू खुसी गर्न थालेपछि आफू विरक्तिएर घरबाट हिँडेको उनी बताउँछन् । 

८२ वटा वसन्त पार गरेका उनले जीवनको थुप्रै समय सरकारी कार्यालयहरूमा कार्यालय सहयोगीका रूपमा काम गरे, तर कतै स्थायी हुने अवसर पाएनन् । उनको पहिलो जागिर २०१२ सालमा अमिनी गोश्वाराबाट सुरु भएको हो । त्यहाँ जागिर सुरु गरेको चार वर्षमा बुवा बितेकाले उनले जागिर छोड्नुप¥यो । उनी भन्छन्, ‘स्थायी जागिर थिएन, घरमा बुवा बितेपछि महिना दिनभन्दा बढी काजकिरिया र घर–व्यवहारमै भुल्नुप¥यो, जागिर छुटिहाल्यो ।’ 

हिमालय वृद्धाश्रममा बसिरहेका ८२ वर्षीय गोविन्द केसी । तस्बिर : सुजल बज्राचार्य

पछि (२०२१ सालमा) उनले गृह मन्त्रालयमा कार्यालय सहयोगीकै जागिर पाए । यहाँ आठ वर्षसम्म जागिर गर्दा पनि स्थायी हुने छाँटकाँट देखिएन र उनले जागिर छाडे । २०३३ सालमा उनले लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा कार्यालय सहयोगीकै जागिर पाए । उनलाई कण्ठै छ, ‘त्यहाँ मैले ११ वर्ष ८ महिना १४ दिन जागिर खाएर २०४५ सालमा छाडेँ ।’ 

यहाँ जागिर छाड्दा उनी उमेरले ५० पुगिसकेका थिए । आफूले जवानीमा जोडेको केही पैसाले उनले काँचो इँटाको घर बनाए, वर्षाको पानीले इँटा गलेर २०६४ मा घर भत्कियो । 

‘अहिले जेठो छोराको स्वयम्भूमा साढे तीन तलाको घर छ । कान्छो बालाजु हिलेडोलमा दुई तलाको घरमा बस्छ । माहिलो छोरा भाडामा बस्छ,’ केसी भन्छन्, ‘म यहाँ बसेको थाहा पाएपछि माइली बुहारी मलाई लिन आएकी थिइन्– तिमीहरू नै भाडाको कोठामा जसोतसो बसेका छौ, तिमीहरूले घर बनाएको दिन जाउँला भनेर पठाइदिएँ ।’

दुनियाँ अचम्मको छ, जोसँग धन छ उसको मन छैन, जसको मन छ ऊसँग धन छैन । यति फराकिलो दिल भएकी उनकी माइली बुहारी कहाँ होलिन् ? तर उनले सबै विस्तारमा बताउन चाहेनन् ।

८२ वर्षको उमेरमा उनी अन्यभन्दा फूर्तिला छन् । उनले त्यहाँ रहेका अन्य अशक्त वृद्धवृद्धालाई खाना–खाजा खुवाउन सघाउँछन् । 

०००

अघिल्लो साता गोविन्द केसी लगायत बा–आमाहरू चारतले यस हिमालय वृद्धाश्रमको कौसीमा घाम ताप्दै दिए । आफ्नो नजिकबाट कोही हिँडे पनि शारीरिक रूपले कुनै प्रतिक्रिया जनाउन नसक्ने अवस्थाका पनि छन् यहाँ । 

यहीँ घाम तापिरहेकी ६० वर्षीया सुनिता भट्टराईको छोटो पारिएको कपाल पूरै फुलेको छ । दोलखा चरिकोट घर भएकी उनी यस वृद्घाश्रममा बस्न थालेको सात वर्ष भयो । 

घरकी पहिलो सन्तान उनी अविवाहित हुन् । उनका तीन भाइबुहारी र दुई बहिनी छन् । 

बाआमा पनि हुनुहुन्छ कि ? 

‘बाआमा भइदिएको म यहाँ बस्नुपथ्र्यो र ?’ उनले प्रतिप्रश्न गरिन् । 

उनी दश वर्षकी हुँदा उनकी आमालाई ज्वरो आएको थियो । उनी गहभरि आँसु पार्दै भन्छिन्, ‘बालाई थाहा नभएकाले तामाको झोल पकाएर आमालाई खाना खान दिनुभयो । ज्वरोले च्यापेर आमा खस्नुभयो । केही वर्षअघि उनको बुवाको पनि निधन भइसक्यो । 

सुनिता भट्टराई

आवाजले मात्र मानिसलाई चिन्न सक्ने उनले आँखा देख्दिनन् । उनलाई १६ वर्षको उमेरदेखि मोतीबिन्दु भएको छ । उनी आश्रममा आउँदा उनको अवस्था शारीरिक रूपमा धेरै कमजोर थियो, अहिले सुधार आएको उनी बताउँछिन् । कौसीमा घाम तापिरहेकी उनले खाजा खान तल झर्नुपर्यो । तल दाताहरुले खाजा लिएर आएका थिए । उनलाई तल झर्न अर्जुन आले मगरले सघाए । अर्धबैंसे देखिने उनलाई पुराना कुरा सम्झना छैन । सडकमा बेवारिसे जीवन बिताउँदै आएका उनलाई प्रहरीले यहाँ ल्याएको हो ।

तल झरेपछि सुनिताले भनिन्, ‘घरमा हुँदा जेठो भाइले मलाई कुटपिट गर्थ्याे । टाउको भित्तामा ठोकाइदिन्थ्यो । लात्तीले ढाडमा बेसरी हिर्काउँथ्यो । तिनीहरूले मलाई धेरै रुवाएका छन् । मेरो आँसु लाग्ला नि है ।’

उनलाई यहाँ माइली बुहारीले ल्याएकी हुन् । माइली बुहारीले ‘यहाँ राम्रो हुन्छ बस्नू’ भनेकाले आफू यहाँ बस्न थालेको उनी बताउँछिन् ।

सिन्धुपाल्चोककी ३६ वर्षीया मन्दिरा भट्टराई यस आश्रममा बस्न थालेको ८ वर्ष भयो । श्रीमान्ले दैनिक कुटपिट गर्न थालेपछि ज्यान जोगाउन भागेर काठमाडौं आएको उनी बताउँछिन् । ‘साथमा चार महिनाको छोरो लिएर आएकी थिएँ । सुरुमा होटलमा भाँडा माझ्न थालेँ,’ उनी भन्छिन्, ‘यस संस्थाका दिदीहरूले मलाई नहेरेको भए, म त उहिल्यै मरिसक्थेँ ।’ 

उनी यस संस्थामा आएको केही समयपछि यहाँको भान्छाको काम गर्न थालिन्, जसबापत उनलाई आश्रमले चार हजार रुपैयाँ दिन्छ । 

उनले गाउँमा पनि एउटा छोरो छाडेर आएकी छन्, उनका छोरा अहिले १६ वर्ष पुगिसके । गाउँमा बसेको छोराले नपढेको उनले खबर पाएकी छन्, उनलाई यसमा ठूलो दुःख छ । उनीसँगै आएका छोराले भने यहाँ एलकेजीमा पढ्छन् । उनका छोरालाई आश्रमले नै पढाएको आश्रमकी अध्यक्ष सरला पन्थी बताउँछिन् । 

मन्दिरा भट्टराई

यो आश्रम २०६२÷६३ मा दर्ता भएको हो । पहिले यसमा सात जना पदाधिकारी थिए । संस्था चलाउन नसकेर सुरुमै पाँच जनाले छाडेको सरला बताउँछिन् । 

अहिले यहाँ तीनजना पदाधिकारी छन्– अध्यक्ष सरला पन्थी, उपाध्यक्ष विन्दा पौडेल तथा कोषाध्यक्ष शोभा भट्टराई । सबैले यहाँ सेवाभावले काम गरिरहेका छन् । 

अध्यक्ष सरला भन्छिन्, ‘मैले पनि नसकेर पहिल्यै छोड्न लागेकी थिएँ । स्थानीय सुरेन्द्र श्रेष्ठले संस्था रहेको भवन बनाइदिनुका साथै भइपरी आएका बेला सहयोग गर्दै आउनुभयो ।’ उनका अनुसार दाताले दिएको रुपैयाँसँगै दाल, चामल, पानीले संस्था चल्दै आएको छ । 

औषधि उपचार लगायतमा मासिक ६०–७० हजार रुपैयाँ खर्च लाग्ने उनी बताउँछिन् ।

यहाँ मीना पोखरेल कर्मचारीका रुपमा छन् । उनले यहाँ वृद्धवृद्धालाई स्याहार गर्दै आएकी छन् । खानबस्न बाहेक उनले मासिक ४ हजार रुपैयाँ पाउँछिन् । अध्यक्ष पन्थीका अनुसार दाताले खाना खुवाउन आएको दिन उनीहरूलाई दुई सय ५० रुपैयाँका दरले दिइन्छ । यसरी उनीहरूको मासिक कमाइ १२ हजार रुपैयाँ जति हुन पुग्छ । 

मृत्युसंस्कार 

यस आश्रममा ९० प्रतिशत वृद्धवृद्धा प्रहरीमार्फत आएका हुन् । संस्थाकी कोषाध्यक्ष शोभा सापकोटाका अनुसार, यहाँ बसेको थाहा पाएपछि कतिपय वृद्घवृद्घाका आफन्त लिन आउँछन् । ‘कतिपय मृत्यु भएपछि लास लिन आउँदा पनि गाली गर्छन्,’ शोभाले भनिन् । 

यहाँ बस्दै आएका सदस्यको मृत्यु भएमा पुलिस चौकीमा जानकारी गराएर पहिला मुचुल्का उठाइन्छ, त्यसपछि टिचिङ अस्पतालमा पोस्टमार्टम गरिन्छ । सबै प्रक्रिया पुर्‍याएपछि संस्था सञ्चालिकाहरूले पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गर्छन् । 

गाेंगबुस्थित हिमालय वृद्धाश्रम ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता टेकराज निरौलाका अनुुसार काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका २६ वटा वृद्घाश्रम मन्त्रालयमा दर्ता भएका छन् । ती आश्रममा कति संख्यामा वृद्घवद्घा छन् भन्ने तथ्यांक मन्त्रालयसँग नरहेको उनले बताए । 

प्रकाशित मिति: १३:४७ बजे, आइतबार, फागुन २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्