Kathmandu Press

नेकपा ओली समूह र विप्लवबीच एकता सम्भव छ?

केही दिनभित्रै सत्ताबाट बाहिरिँदै गरेका ओलीसँग हतारमा शान्ति वार्तामा आउन विप्लव समूहलाई केले प्रेरित गर्‍यो? विश्लेषकहरूको भनाइमा ओली नेतृत्वको सरकारसँग सहमतिमा आएपछि नेकपाको अर्को समूहका अध्यक्ष प्रचण्डलाई चुनौति दिन सकिने ठम्याइमा विप्लव पुगेका हुन सक्छन्।
नेकपा ओली समूह र विप्लवबीच एकता सम्भव छ?

काठमाडौं, फागुन २१ : शुक्रबार सरकार र नेकपा (विप्लव समूह)बीच सहमतिपत्रमा हस्ताक्षरका लागि राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव विप्लवले गीतहरूमार्फत भविष्यमा सम्भावित एकताको संकेत गरे।

विप्लवले कर्णालीमा प्रचलित गीत सुनाए- ‘यो कस्तो प्रेम भयो, जून र घामजस्तो, कहिल्यै भेट नहुनेजस्तो।’ र, त्यो गीतले बताएको कहिल्यै भेट नहुने जून र घामबीच भेट भएको खुलाए।

प्रधानमन्त्री ओलीले ‘तेरो बाउ, मेरो बाउ माछा मार्न गयो’ बोलको गीत अंग्रेजी मातृभाषीले गाउँदा सोही लवजमा सुनिने उल्लेख गरे। ‘अभिव्यक्तिका फरक-फरक तरिका एकीकृत हुन केही समय लाग्छ,’ उनले भने। उनले अझ अगाडि बढेर त्रिसुली र सेती नदी पनि दोभानभन्दा केही तलसम्म अलग-अलग बग्ने र तल पुगेर एकअर्कामा समाहित हुने उल्लेख गरे।

Hardik ivf

दुवैको संकेत निकट भविष्यमा पार्टी एकता हुने प्रकृतिको थियो। दुवैले यस पाटोमा स्पष्ट केही खुलाएनन्। राजनीतिमा असम्भव केही छैन। दुई वर्षअघि विप्लव समूहमाथि प्रतिबन्ध नै लगाएर भित्रभित्रै संवाद अगाडि बढाएको सरकारसँग विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन तयार भयो।

प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लव दुवैको भनाइले दुवै समूहबीच एकतासम्मको संकेत गर्छन्। खासमा, पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा ठूलो समूह सत्तारुढ नेकपाबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीलाई आफ्नो समूहमा जुझारु नेता-कार्यकर्ता आवश्यक भएको छ। र, विप्लव समूह त्यस्तै एउटा विकल्प हुन सक्छ।

र, सरकारको प्रतिबन्धपछि निरन्तर धरपकडबाट कमजोर बनेको विप्लव समूहलाई पनि भविष्यमा शान्तिपूर्ण राजनीति अगाडि बढाउन त्यस्तै विश्वासिलो समूहसँग एकता गर्नुपर्ने आवश्यकता हुन सक्छ। केही दिनभित्रै सत्ताबाट बाहिरिँदै गरेका ओलीसँग हतारमा शान्ति वार्तामा आउन विप्लव समूहलाई केले प्रेरित गर्‍यो? विश्लेषकहरूको भनाइमा ओली नेतृत्वको सरकारसँग सहमतिमा आएपछि नेकपाको अर्को समूहका अध्यक्ष प्रचण्डलाई चुनौति दिन सकिने ठम्याइमा विप्लव पुगेका हुन सक्छन्।

प्रहरीको तथ्यांकअनुसार सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका दुई हजार सातजना  कार्यकर्ता पक्राउ परेका थिए। तीमध्ये एक हजार आठ सय ६४ जना छुटेका थिए भने एक सय २६ जना जेलमा छन्। प्रतिबन्ध घोषणापछि धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश वली, उमा भुजेल, माइला लामालगायत प्रभावशाली नेता पक्राउ परेका थिए। सरकारसँग तीनबुँदे सहमतिलगत्तै बाँस्तोला रिहा भएका छन्। प्रधानमन्त्री ओलीले सहमतिपत्रमा हस्ताक्षरका लागि आयोजित समारोहमा दिएको अभिव्यक्तिअनुसार जेलमा रहेका विप्लव समूहका अन्य नेता-कार्यकर्ता छिट्टै रिहा हुँदैछन्।

नेकपा (ओली समूह)मा रहेका माथिल्लो तहका नेताहरूले विप्लव समूहसँग पार्टी एकताबारे बोल्न चाहेनन्। विप्लव समूहसँग रणनीतिक सहकार्य गरेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले भने त्यो सम्भावना पटक्कै नरहेको बताए।

‘ओली समूहसँग विप्लवका फरक मतको पहाड नै छ, कसरी पार्टी एकता होला र?’ उनले भने, ‘हामीसँग दुई-चार कुरामा असहमति हुँदा त पार्टी एकता गर्न सकेका छैनौँ, ओलीसँग त्यति धेरै असहमति हुँदा पार्टी एकतामै जाने भन्‍ने सम्भव होलाजस्तो लाग्दैन।’

प्रधानमन्त्री ओलीलगायत नेताले आफूलाई पूर्ण रूपान्तरण नगर्दासम्म विप्लवसँग एकता टाढाको विषय भएको कट्टेलको भनाइ छ। ‘राजनीतिक, सैद्धान्तिक, वैचारिक, व्यावहारिक, कार्यक्रमिक सबै कुरामा भिन्‍नता छ, एउटा कुरामा भिन्‍नता भए पो पार्टी एकतासम्म जान सक्थे,’ कट्टेल भन्छन्, ‘विप्लवले आजको समारोहमा सामान्य कुरा त भने होला तर त्यसलाई ओलीजीले अलि बढी नै जोड दिएका हुन सक्छन्।’

विगतमा पुष्पकमल दाहाल प्रचण्ड आत्मसमर्पण गर्ने हिसाबबाट तत्कालीन एमालेसँग पार्टी एकतामा गएको तर विप्लव त्यसरी जाने सम्भावना नदेखिने उनको टिप्पणी छ। ‘यो व्यवस्था नै फाल्नुपर्छ भनेर लागिरहेकाहरू कोही तिमी नै नेता हौ प्रभु भनेर ओलीजीसँग एकतामा जाने सम्भावना छैन,’ उनी भन्छन्, ‘विप्लवलाई नेता मानेर ओलीजीले पार्टी एकता गरे भने मात्र सम्भावना होला। नत्र, सम्भव छैन।’

चार पार्टीको रणनीतिक सहकार्य भने पार्टी एकतासम्म पुग्नका लागि भएको कट्टेलले जानकारी दिए। ‘तर, त्यो पनि अहिल्यै सम्भव नभएर रणनीतिक संयुक्त मोर्चा बनाएका हौँ,’ उनले भने।

शुक्रबारको समारोहमा नेकपा महासचिव विप्लव धेरै आक्रामक देखिएनन्। उनले केही ठूलो घोषणा गर्न सक्ने धेरैको आकलन गलत सावित भयो। विनम्रतापूर्वक उनले सहिद र सहिद परिवारको सपना पूरा गर्न आफू शान्तिपूर्ण राजनीतिमा आएको बताए। आगामी कार्यदिशा के हुने भन्‍ने उनले स्पष्ट गरेनन्। र, अहिलेको व्यवस्था नै फाल्ने उद्घोषसाथ विद्रोहको कार्यदिशा समातेका उनले अहिलेकै व्यवस्थामा कसरी समायोजित हुने भन्‍ने पनि प्रष्ट्याएनन्।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग रणनीतिक संयुक्त मोर्चाबाट अगाडि बढ्ने पनि उच्चारण गरेनन्, विप्लवले। त्यसैले उनको आगामी राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्‍ने हेर्न केही दिन पर्खिनैपर्छ।
 

प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्