उद्घाटन र शिलान्यासमा व्यस्त प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री केपी ओलीले मंगलबार गृहजिल्ला झापा बिर्तामोडस्थित पूर्वाञ्‍चल क्यान्सर अस्पतालको उद्घाटन गरे। सोही क्रममा बिर्तामोड नगरपालिका-७ स्थित विपन्‍न परिवारका लागि निर्मित एकीकृत बस्ती उद्घाटन गरे। र, ३५ परिवारलाई सात धुर जग्गासहितको घर हस्तान्तरण गरे। त्यसलाई ‘प्रदेशको गौरव भिलेज’ नाम दिइएको छ।

मंगलबार नै प्रधानमन्त्री ओलीले मोरङ उर्लाबारीमा एकीकृत सन्थाल बस्तीको शिलान्यास गरे। दुई दिनअघि मात्रै उनले झापामै नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेका थिए।

प्रधानमन्त्री ओली यतिबेला देशभर परियोजनाहरू उद्घाटन र शिलान्यासको दौडमा छन्। उनको यो सक्रियता ५ पुसमा प्रतिनिधिसभा विघटनपछि एकाएक बढेको हो। प्रतिनिधिसभा विघटनपछि उनले पहिलो परियोजनाका रूपमा ८ पुसमा काठमाडौंमा महान्यायाधिवक्ताको कार्यालय उद्घाटन गरेका थिए।

११ माघमा दाङ पुगेर प्रधानमन्त्रीले राप्ती दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल उद्घाटन गरेका थिए, जुन ६ महिनाअघि निर्माण सम्पन्‍न भएको थियो। संयोग कस्तो भने तत्कालीन प्रधानमन्त्री पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ ले २२ मंसिर ०७३ मा उक्त पुल शिलान्यास गरेका थिए।

१७ माघमा चितवनको पुल्चोक-गोन्द्राङ ६ लेन सडक र भरतपुरमा सिटीहल शिलान्यास गरेका थिए।

यस्तै, १९ माघमा प्रधानमन्त्रीले धनुषा ढल्केबरमा निर्मित मुलुककै ठूलो विद्युत सब-स्टेसन उद्घाटन गरेका थिए, जुन चार सय केभी क्षमताको छ।

त्यसअघि १ फागुनमा उनले बुटवल उपमहानगरपालिका-३ चिडियाखोलाबाट पाल्पा तिनाउको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार शिलान्यास गरेका थिए। फागुन ०७८ सम्ममा निर्माण सम्पन्‍न हुने लक्ष्‍य रहेको तीन अर्ब पाँच करोड रुपैयाँ लागत अनुमानित यो लुम्बिनी प्रदेशको पहिलो केबलकार हुनेछ।

आफ्नो कार्यकालको तीन वर्ष पुगेको अवसरमा उनले ३ फागुनमा पुनर्निमाण सम्पन्‍न भएका सिंहदरबारका तीनवटा मोहडा उद्घाटन गरेका थिए। सिंहदरबारको पश्चिम मोहडा भने पुनर्निर्माणकै चरणमा छ।

यस्तै, १० फागुनमा कञ्‍चनपुर पुगेर उनले दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए। ०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले त्यहाँ औद्योगिक क्षेत्र स्थापनाका लागि पहिलोपटक बजेट विनियोजन गरेको थियो। २५ वर्षदेखि यो परियोजना अलपत्र थियो।

१७ फागुनमा पोखरा पुगेर उनले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्‍ठान भवन शिलान्यास गरेका थिए।

परियोजना शिलान्यास र उद्घाटनका लागि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो प्रवचन दिने गरेका छन्। र, त्यस्ता प्रवचन विवादको विषय बन्छन्। जस्तो- मंगलबार बिर्तामोडमा पूर्वाञ्‍चल क्यान्सर अस्पताल उद्घाटन गर्दै विवादास्पद बीएन्डसी अस्पतालका सञ्‍चालक दुर्गा प्रसाईंलाई ‘मार्सी चामल’लाई ब्रान्ड बनाएकामा उनले प्रशंसा गरे।

यस्तै, मंगलबार नै काठमाडौंमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्‍ट्रिय परिषद् भेला उद्घाटन गर्दै उनले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पार्ने नीति लिइएको टिप्पणी गरेका थिए। २२ माघमा काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्‍ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिकले स्वाङ पार्न थालेकाले लालकिल्ला र इन्डिया गेट ब्रान्डका चामल खान थालेको बताएका थिए। प्रधानमन्त्रीले त्यस सम्बोधनका क्रममा खुला बजार अर्थव्यवस्थामा संसारभरका वस्तु उपभोग गर्न पाउने उपभोक्ताको अधिकारबारे हेक्का नभएको अनुभूति हुन्थ्यो।

१७ माघमा चितवनमा आयोजित सभामा उनले त्रेता युगका श्रीरामको जन्मभूमि चितवनको अयोध्यापुरीमा भएको अप्रामाणिक दाबी दोहोर्‍याएका थिए। यसअघि पनि त्यस्तै अभिव्यक्ति दिएर उनले भारतीय पक्षलाई चिढ्याएका थिए।

१ फागुनमा बुटवलमा आयोजित सभालाई सम्बोधनका क्रममा पनि ओलीले त्यस्तै अप्रामाणिक दाबी गरेका थिए, योगका प्रणेता पतञ्‍जलीको जन्म अर्घाखाँचीमा भएको बताएर।

 Published Date: Tuesday, 2nd March 2021 6:06:00 pm