
सप्तरी, फागुन १८ : बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका–१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय ठहर गरेको हो ।
चौधरीकी श्रीमती गयादेवी चौधरीले उनका श्रीमान् विनोदले सप्तरीको सुरुङ्गा नगरपालिका–५ की २८ वर्षीया फुलकुमारी चौधरीसँग बहुविवाह गरेको भन्दै २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन्।
आरोपित सुरुङ्गा नगरपालिका–६ स्थित श्री त्रियुगा डिस्टिलरीमा कार्यरत छन् । आरोपित विनोदले फुलकुमारीकै घरमा बहुविवाह गरेको भन्दै पीडितले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले विनोदलाई २०७५ भदौ १५ गते पक्राउ गरेको थियो ।
सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित विनोद २०७५ असोज ११ गते ५० हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।
अर्का आरोपित फुलकुमारी हालसम्म पक्राउ परेकी छैनन् । उनको हकमा मुद्दा मुल्तबी राखिएको सूचना अदालतले जनाएको छ । सामाजिक परम्पराअनुसार २०६५ मा विवाहिता पीडितको १० वर्षीया एक छोरी छिन् ।