Kathmandu Press

नुनपानीले कुल्ला गरेर बच्‍न सकिँदैन कोभिड-१९ बाट

विश्‍व स्वास्थ संगठनले कोभिड-१९ महामारीको सुरुआतमै ‘मिथ बस्टर्स’ अर्थात् ‘कोभिड-१९ विरुद्ध फैलिएका भ्रमहरूबारेको तथ्य’ समेटिएको शृंखलामा समावेश गरेको मिथ्या सूचनालाई प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेका हुन्।
नुनपानीले कुल्ला गरेर बच्‍न सकिँदैन कोभिड-१९ बाट
तस्बिर स्रोत : पिन्टरेस्ट
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १० : प्रधानमन्त्री केपी ओलीले ९ फागुनमा पाँचौँ इन्द्रदह पर्यटन महोत्सवमा सम्बोधन गर्दै कोरोना भाइरससम्बन्धी अप्रमाणित र भ्रामक भनी पुष्‍टी भइसकेको दाबी दोहोर्‍याए। विश्‍व स्वास्थ संगठनले कोभिड-१९ महामारीको सुरुआतमै ‘मिथ बस्टर्स’ अर्थात् ‘कोभिड-१९ विरुद्ध फैलिएका भ्रमहरूबारेको तथ्य’ समेटिएको शृंखलामा समावेश गरेको मिथ्या सूचनालाई ओलीले प्रस्तुत गरेका हुन्। करिब एक वर्षअघि नै कैयौँ अन्तर्राष्‍ट्रिय तथ्य जाँचकीहरूले उक्त दाबीमाथि तथ्य जाँच गरिसकेका छन्। अझ आफूले पहिले यसो भन्दा मानिसले उडाए भनी सोही दाबी दोहोर्‍याउँदै प्रधानमन्त्रीले त्यसको प्रतिवाद गरेका छन्।

ओलीले उक्त कार्यक्रममा भनेका थिए, ‘कोभिड आइरहन्छ फेरि गइरहन्छ, पस्छ नाकमा। सफा गर्दिएपछि भागिहाल्छ। घाँटीसम्म पुगिहालेछ भने नुन पानीले गार्गल गर्दियो, तातो तातो पानीले गार्गल गर्दिएपछि खत्तम।’

विश्‍व स्वास्थ्य संगठनले आफ्नो वेबसाइटमा प्रस्ट लेखेको छ, ‘तथ्य : नुन पानीले नाक सफा गर्नाले कोभिड-१९ को रोकथाम हुँदैन।’ नुन पानीले कोरोनाभाइरस निर्मुल गर्छ भन्‍ने कुरा प्रमाणित होइन। नुन पानीले बारम्बार नाक सफा गर्‍यो भने रुघाखोकी लागेको मानिसलाई चाँडो निको हुन मद्दत गर्ने भएता पनि यसले श्‍वासप्रश्‍वाससम्बन्धी संक्रमणलाई नरोक्ने तथ्य विश्‍व स्वास्थ्य संगठनले उल्लेख गरेको छ।

अमेरिकी स्वास्थ्य समाचार संस्था ‘वेबएमडी’ ले पनि नुन पानीले कुल्ला गर्नाले कोरोना भाइरस हट्ने कुनै पनि प्रमाण नरहेको तथ्य उजागर गरेको छ।

घाँटी दुखाइका लागि घरेलु उपचारको रूपमा नुन पानीले कुल्ला गर्दा प्रभावकारी हुने सावित भएको छ। यसै कारणले केही अनुसन्धानकर्ताहरूले यसले कोभिड-१९ को रोकथाम गर्न सक्ने आकलन गरेका छन्।

बीबीसीका अनुसार बेलायतको एडिनबरा विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरूले नुनपानीले कुल्ला गर्दा कोभिड-१९ को संक्रमण रोकिन्छ कि भनी अनुसन्धान गरिरहेका छन्। साउथ एसिया चेकले गरेको खोजीमा कुनै पनि आधिकारिक चिकित्सा संस्थाले कोरोना भाइरसबाट हुने संक्रमण रोक्न नुन पानीको प्रयोग गर्न सुझाव दिएको फेला परेन। यसर्थ नाक सफा गर्नाले र नुन पानीले कुल्ला गर्नाले कोभिड-१९ खत्तम हुन्छ भन्‍ने ओलीको दाबी गलत छ।
 

प्रकाशित मिति: १७:३८ बजे, सोमबार, फागुन १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्