माइनस ६० डिग्रीमा माउन्ट के-२ को शिखरमा नेपाली पर्वतारोही

काठमाडौं, माघ ८ : जाडोयाममा पहिलोपटक माउन्ट के-२ को शिखरमा मानिस पुगेको रेकर्ड राखेर पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेको नेपाली पर्वतारोहीको टोली मंगलबारसम्ममा काठमाडौं उत्रिने योजनामा छ। बिहीबार पाकिस्तानका राष्ट्रपछि डा. अरिफ एल्भीले आफ्नो सम्मानमा ‘रिसेप्सन’ दिँदा नेपाली पर्वतारोहीहरू गद्गद् थिए। त्यसको चाँजोपाँजो मिलाएका थिए, मंगलबार मात्र ओहोदाको प्रमाणपत्र बुझाएका पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले। त्यसका लागि राष्ट्रपति डा. एल्भी र पाकिस्तान सरकारलाई राजदूत अधिकारीले आफ्नो फेसबुक पेजमार्फत धन्यवाद ज्ञापन गरेका छन्।

कस्तो रह्यो त नेपाली पर्वतारोहीको माउन्ट के-२ आरोहण ? नेपालबाट गएका दुईमध्ये एक टोलीका नेता मिङ्जा जी. शेर्पा भन्छन्, ‘हिउँदमा अति कठिन शिखर आरोहण सफलतापूर्वक पूरा गरेकामा हर्षविभोर छौँ।’

हिउँदयाममा मानव पाइला पुर्‍याउन आठ हजार मिटरमाथिका १३ वटा हिम शिखरमध्ये माउन्ट के-२ मात्र बाँकी थियो। त्यो पनि नेपाली आरोहीको नाममा रेकर्ड कायम भएको छ। माउन्ट के-२ को उचाइ आठ हजार ६ सय ११ मिटर छ। यो शिखर चीन र पाकिस्तान सीमा काराकोरम क्षेत्रमा पर्छ। सगरमाथाभन्दा यो दुई सय ३७ दशमलव ८६ मिटर होचो छ, तर आरोहणका लागि सगरमाथाभन्दा धेरै कठिन छ।

गत वर्ष पनि नेपाली शेर्पा टोली र विदेशी आरोहीले हिउँदमा के-२ आरोहणको प्रयास गरेका थिए। तर, मौसम असहज बनेपछि उनीहरू करिब ६ हजार मिटरबाटै फर्केका थिए।

माउन्ट के-२ मा मानव पाइला पुर्‍याउने पछिल्लो योजना नेपाली पर्वतारोहीले करिब सात महिनाअघि तयार पारेका थिए। गत ७ डिसेम्बरमा आफ्नो योजना सफल बनाउन उनीहरू काठमाडौंबाट कतारको राजधानी दोहा हुँदै इस्लामावाद पुगे।

नेपाली पर्वतारोहीका दुई टोली माउन्ट के-२ आरोहण गर्न पाकिस्तान उडेका थिए। तीनजनाको एक टोलीको नेतृत्व मिङ्मा जी. शेर्पाले गरेका थिए। ६ जनाको अर्को टोलीको नेतृत्व निर्मल पुर्जाको थियो। सेभेन्थ समिट ट्रेक नामक ट्राभल एजेन्सीका एकजना आरोही थिए। उनीहरू सबै नेपाली आरोही हुन्।

मिङ्माको टोलीको सबै खर्च उनी आफैंले गरेका हुन्। ‘मेरो टोलीको हालसम्म करिब ४६ हजार डलर खर्च भयो,’ मिङ्माले काठमान्डुप्रेससँग भने।

इस्लामावादबाट हवाई जहाजमा स्कार्दो, त्यहाँबाट गाडीमा अस्खुली र त्यहाँबाट ६ दिनको ट्रेकिङ गर्दै उनीहरू माउन्ट के-२ को १८ डिसेम्बरमा आधारशिविर पुगेका थिए। १९, २०, २१ डिसेम्बरसम्म उनीहरूले आधारशिविरमै आराम गरे। ‘किनभने हिउँमाथि ट्रेकिङ गर्दै जाँदा हामी साह्रै थाकेछौँ,’ मिङ्मा भन्छन्, ‘त्यसैले तीन दिन आराम गर्‍यौँ।’ २२ डिसेम्बरदेखि मात्र उनीहरू शिखरसम्म डोरी टाँग्न जुटे।

मिङ्माको टोलीमा किली तेन्जिङ शेर्पा र दावा तेन्जिङ शेर्पा छन्। निर्मलको टोलीमा ग्याल्जी शेर्पा, पेमछिरी शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा, मिङ्मा डेभिड शेर्पालगायत थिए। शिखरतर्फको यात्रा भने १३ जनवरीमा मात्र सुरु गरेका थिए। र, १६ जनवरीमा शिखर चुमे। ‘शिखरसम्म डोरी हामी आफैंले टाँग्यौँ, नेपालमा जस्तो आइसफल डाक्टरको व्यवस्था पाकिस्तानमा रहेनछ,’ मिङ्मा जी. शेर्पा भन्छन्, ‘नेपालमा जस्तो सुविधा यता कहाँ !’

२२ डिसेम्बरमा क्याम्प-२ सम्म डोरी टाँगे। त्यसपछि केही सामान पनि त्यहाँसम्म पुर्‍याए। शिखर पुग्नुअघि क्याम्प-१, क्याम्प-२ र क्याम्प-३ गरी तीनवटा क्याम्प छन्, माउन्ट के-२ मा।

शिखरसम्म डोरी टाँग्न सबैजना सहभागी थिए। १३ जनवरीमा उनीहरूले माउन्ट के-२ को शिखर पुग्ने यात्रा आरम्भ गरे। र, १६ जनवरीमा शिखर चुमे। खासमा, कोभिड-१९ जोखिमका कारण उनीहरूले पाकिस्तानको भिसा पाउन धेरै पापड बेल्नुपरेको थियो। पाकिस्तान पुगेपछि भने उनीहरूलाई खासै समस्या भएन। शिखरतर्फ लाग्दै गर्दा मौसम खराब बन्दै गयो। ‘मौसम समय-समयमा परिवर्तन भएर दुःख धेरै पायौँ,’ मिङ्मा भन्छन्, ‘हामीले साथमा लगेको वेदर रिपोर्टर पनि त्यति म्याच भएन।’

उनका अनुसार माउन्ट के-२ समर र स्प्रिङमा मात्र आरोहणका लागि सहज हिमचुली हो, विन्टरमा भने एकदमै समस्याग्रस्त छ। ‘अत्यधिक चिसोको समस्या बेहोर्‍यौँ,’ उनी भन्छन्, ‘हामी शिखरमा पुग्ने दिन तापक्रम माइनस ६० डिग्री थियो। माइनस ६० डिग्री तापक्रम कति चिसो थियो होला, सहजै अनुमान गर्न सकिन्छ। काठमाडौंमा प्लस ४-५ डिग्री तापक्रम हुँदा त डाउन ज्याकेट पहिरिन्छौँ। माइनस ६० डिग्री त कहाँ हो कहाँ चिसो !’

उनका अनुसार समिट गर्न खासै ठूलो समस्या भएन। खासमा, ‘बोटल नेक’ नाम दिइएको स्टेप माउन्ट के-२ को सबैभन्दा कठिन ‘स्टेप’ मानिन्छ, जहाँ हिम पहिरोको अत्यधिक जोखिम हुन्छ। नेपाली पर्वतारोहीलाई ‘बोटल नेक’ पार गर्न करिब पाँच घण्टा लाग्यो। ‘सबैभन्दा गाह्रो ठाउँ नै त्यही हो,’ मिङ्मा जी. शेर्पा भन्छन्, ‘बोटल नेक करिब आठ हजार दुई सय मिटर उचाइमा छ।’

समिटतर्फको यात्रामा पहिलो दिन क्याम्प-१ मा बास बसे। दोस्रो दिन क्याम्प-२ हुँदै तेस्रो दिन शिखरमा पुगे। फर्किँदा भने उनीहरूलाई खासै गाह्रो भएन। ‘पाकिस्तानका राष्ट्रपतिले आज बोलाएर हामीलाई स्याबासी दिनुभयो। पाकिस्तान सरकारले नै हामीलाई आधारशिविरबाट हेलिकोप्टरमा इस्लामावादसम्म ल्याइदियो,’ मिङ्माले कुराकानीको बिट मार्दै भने, ‘काठमाडौंबाट पाकिस्तानसम्म सीधा हवाई उडान नभएकाले दोहा हुँदै आएका थियौँ, फर्किँदा पनि सोही रुटबाट आउँछौँ।’
 

 Published Date: Thursday, 21st January 2021 10:34:00 pm