रेलमार्ग विस्तारमा स्थानीयको अवरोध
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमिनमा पिलर गाडेपछि स्थानीयले अवरोध खडा गरेका छन् ।वीरगन्ज– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमिनमा पिलर गाडेपछि स्थानीयले अवरोध खडा गरेका छन् । सो विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको डिपिआर तयारीको लागि सर्भे गर्ने भनेर निजगढ आएको टोलीलाई स्थानीयले बस्तीबीचबाट सर्भे नगर्ने भनी अवरोध खडा गरेका छन् ।
सर्भे टोलीका प्रमुख सवइन्जिनियर सुरज पौडेलले भने, ‘गाडिएको पिलरदेखि २५० मिटर पश्चिम र ५० मिटर पूर्वतर्फको बाटो भएर रेलमार्ग जाने गरी सर्भे गर्दा स्थानीयवासीले अवरोध खडा गरेका छन्, निजगढ बजारको दक्षिणतर्फ निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालको जग्गा र कृष्ण मुरारी खड्काको जमिनको साँध र सोही ठाउँको राजमार्गसँग जोडिएको रुद्रलाल श्रेष्ठ र श्रवण श्रेष्ठको साधमा पिलर गाडिएकाले विरोध भएको हो ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको पत्र लिएर इन्जिनियर पौडेलले नगरपालिका गएपछि स्थानीयवासीले विरोध जनाएको बताइएको छ । सो जमीनमा पिलर गाड्दा सम्बन्धित जग्गाधनीलाई र रेलमार्ग सर्भेबाट प्रभावित स्थानीयलाई जानकारी नदिइएको स्थानीयवासी विष्णु खड्काले बताए । ३ सय वर्षभन्दा पुरानो बस्ती कछडियाको बीचबाट रेलमार्गको सर्भे भइरहेको थाहा पाएपछि त्यहाँका जनताले विरोध जनाउँदा विद्युतीय रेलमार्गको काम अगाडि बढ्न सकेको छैन ।
सर्भे टोलीका अनुसार सो रेलमार्ग निजगढको भमरा नदीकट्टा, तेस्रो लाइन, जमुनी पैनी, निजगढ बजार, गुम्मा टोल, सडक टोल, पुरानो निजगढ हुँदै बकैया खोला पारी गरी रेलमार्ग लालबस्तीतर्फ जानेछ । सो रेलमार्ग चिसापानी, घैया पोखरी, गुङ्जोड, बारथली, रामथली, कुलिया, भक्तलाल, डुमरजोर हुँदै अमलेखगञ्ज निस्कने र हेटौँडाबाट पश्चिमतर्फ रेल्बे लिक जाने छ । सर्भे टोलीले ती बस्तीका विभिन्न स्थानमा जग्गाधनीलाई कुनै जानकारी नदिएर जग्गाका साँध, सिमानामा पिलर गाडेपछि विवाद चुलिएको हो ।