शनिबार, माघ १०, २०७७

‘महिलालाई बालबालिका हुर्काउँदै राजनीति गर्न कठिन छ’

null

तीन वर्षअघि ‘रानीपोखरी ताला काण्ड’ले चर्चा पाएको थियो । 

‘भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीको पुनर्निर्माण गर्दा सिमेन्ट, रडलगायत आधुनिक सामग्री प्रयोग गरियो, यो पोखरीलाई पुरानै शैलीमा बनाउनुपर्छ’ भनी काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले आवाज उठाइन् । आफ्नो आवाजको सुनुवाइ नभएपछि उनी केही मानिस लिएर २०७४ पुसमा रानीपोखरी पुगिन् र ताला लगाइन् । त्यसको केही घन्टामा प्रमुख पुगेर ताला खोले । 

यस प्रकरणमा उपप्रमुख खड्गी भन्छिन्, ‘यसमा मलाई अनावश्यक विवादमा लाउन खोजियो ।’

२०७६ वैशाखमा खुलामञ्चमा ५१ वटा सटर बनाएर भत्काइएको थियो । ‘जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स’ नामक ठेकेदार कम्पनीका मनोजकुमार भेटवालले खुलामञ्चमा बनाएको सटर भत्काउने आन्दोलनमा आफूले भूमिका खेलेको खड्गी बताउँछिन् । त्यसबारे महानगरपालिकाको बोर्ड बैठकमा कुनै छलफल र निर्णय नभएको उनको भनाइ छ ।

  • उनी उदाहरण दिँदै भन्छिन्, ‘पुरुष कार्यालयबाट घर पुग्नेबित्तिकै खाना पाक्यो भनेर सोध्छन् । महिलालाई त्यो स्वतन्त्रता छैन, सन्तान जन्माउने–हुर्काउनेदेखि घरको काम पनि हेर्नुपर्छ ।’

उपप्रमुख खड्गी भन्छिन्, ‘टुँडिखेलमा ५१ वटा पसल राख्न कसले ठेकदारलाई आशीर्वाद दियो, त्यो बुझ्न सकिनँ । ठूलाको आशीर्वाद नभई ठेकेदारले त्यस्तो काम गर्न सक्दैनन् । त्यसबारे प्रश्न गर्दा मलाई विवादित बनाइयो ।’ 

उनी थप्छिन्, ‘जनप्रतिनिधिमा महिला र पुरुष बराबर भएका छैनन् । निर्णय तहमा पुरुष छन् । उनीहरूले अझै पनि महिलालाई कमजोर ठान्छन् ।’ 

काठमाडौं प्रेसको ‘जनप्रतिनिधि महिला’ स्तम्भका लागि कुराकानी गर्न उपप्रमुख खड्गीले बुधबार हामीलाई आफ्नै कार्यकक्षमा समय दिएकी थिइन् । जनप्रतिनिधि महिलाको विगतको संघर्ष र सफलताका कथा उजागर गर्ने यस स्तम्भका लागि उनले खुलेर कुराकानी गरिन् । उनी आफ्नो उद्देश्य र राजनीतिक विचारमा दृढ देखिन्छिन् ।

गणेशमान आदर्श
हरिप्रभाले सानैमा हजुरबाबाट सुनेकी थिइन्, गणेशमान सिंहको व्यक्तित्वबारे । गणेशमान राणाशासन अन्त्यका लागि लडेको, जेलबाट भागेको, बिपी कोइरालासँग मिलेर नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको आदि कथा सुनाएर हजुरबाले हरिप्रभालाई भन्थे– त्यस्तै ठूलो मान्छे बन्नुपर्छ ।

हरिप्रभाले हजुरबासँग सोध्थिन्, ‘गणेशमान अहिले पनि हुनुहुन्छ ?’

‘हुनुहुन्छ, काठमाडौंमा बस्नुहुन्छ ।’ 

हरिप्रभाका लागि गणेशमान सिंह कथाको पात्रजस्तै थिए । उनको मन–मस्तिष्कमा परेको थियो– गणेशमान सिंह भन्ने व्यक्ति अग्लो र ठूलो जिउडाल भएको हुनुपर्छ । 

०४२ सालको अन्तिम अन्तिमतिर, जतिबेला हरिप्रभा १९ मा हिँड्दै थिइन्, उनले कथाको पात्रजस्ता लाग्ने गणेशमान सिंहलाई भेट्न पाइन् । उनी नेविसंघका साथीहरूसँग गणेशमानलाई भेट्न जाँदै थिइन्, त्यतिबेला गणेशमान ठमेलको चाक्सीबारी भन्ने ठाउँमा बस्थे । ल क्याम्पसबाट हिँडेर जाँदै गर्दा बाटोभरि हरिप्रभाले हजुरबाबाट सुनेको गणेशमानबारे कल्पना गरिरहेकी थिइन् । 

घरमा पुगेपछि भित्रबाट डल्लेडल्ले, टोपी लगाएका व्यक्ति लट्ठी समातेर बाहिर निस्किए । ‘सोचेको भन्दा निकै फरक पाएँ । मैले महान् व्यक्ति भनेपछि अग्ला, ठूला ज्यान र बलिया होलान् भन्ने चित्रण गरेकी थिएँ ।’ 

महान् व्यक्ति बन्न, ठूलो काम गर्न त्यस्तै जिउडाल हुनुपर्छ भन्ने हरिप्रभाको भ्रम तोडियो । ‘उहाँले नेविसंघले गर्नुपर्ने काम र कर्तव्य बताउनुभयो । आफूले भोगेका कुरा सुनाउनुभयो,’ हरिप्रभा भन्छिन्, ‘त्यहाँबाट निस्कने क्रममा मैले भनेँ– गणेशमान सर, म भक्तपुरकी चेली हुँ । मेरो हजुरबाले हजुरको बारेमा धेरै कुरा सुनाउनुहुन्थ्यो । त्यसैले भेट्न आएकी । उहाँ मुसुक्क हाँस्नुभयो मात्र ।’

झन्डा मन परेर नेविसंघमा
काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्का भक्तपुर भारवाहा–१७ मा जन्मिएकी हुन्, २०२४ वैशाख १८ गते । उनको नाम ‘हरिप्रभा’ बुवा र आमाको नामबाट राखिएको हो, बुवा (हरिशचन्द्रदास श्रेष्ठ)बाट ‘हरि’ र आमा (लक्ष्मीप्रभा)बाट ‘प्रभा’ ।

हरिप्रभाका बुवाका पाँच दाजुभाइमध्ये सबै सरकारी जागिरे थिए, त्यसमध्येतीन दाजुभाइ स्वास्थ्य क्षेत्रमा थिए । ‘चिकित्सक परिवारमा जन्मिएकाले समाजमा हाम्रो छुट्टै सम्मान र इज्जत थियो,’ हरिप्रभा भन्छिन्, ‘परिवारमा छोरीलाई शिक्षा दिनुपर्छ भन्ने सोच थियो तर छोरीलाई जागिर गर्न बाहिर पठाउन हुँदैन मान्यता पनि थियो ।’ 

तीन छोरी र दुई छोरामध्ये हरिप्रभा जेठी हुन्, पाँचै जनाले राम्रो शिक्षा लिने अवसर पाए । हरिप्रभाले गाउँ नजिकैको कन्या माध्यमिक विद्यालयबाट २०४१ सालमा एसएलसी पास गरिन्, दोस्रो डिभिजनमा । 

उनलाई डाक्टर बनाउने उनका बुबाआमाको सपना थियो । तर,उनलाई एयर होस्टेज बन्ने रहर । परिवारमा छलफल हुँदा उनको रहरले हार्यो र उनले वीर अस्पतालमा नर्सिङको फर्म भरिन् । ‘पछि बुवाले भन्नुभयो– नर्स भनेको डाक्टरको सहयोगी भएर काम गर्ने हो, सक्छ्यौ भने डाक्टर नै बन,’ उनी भन्छिन्, ‘मलाई सक्छु जस्तो लागेन र अगाडि बढिनँ । मेरो बुवा त अरुको अन्डरमा बस्ने गरी विवाह पनि गर्न हुँदैन भन्नुहुन्थ्यो ।’

नर्सिङ र एयर होस्टेज दुवै पढ्न नपाएपछि उनी ०४२ सालमा प्रदर्शनीमार्गस्थित ल क्याम्पसमा भर्ना भइन् । क्याम्पस पढ्न भक्तपुरबाटै बसमा आउने–जाने गर्थिन् । 

ल क्याम्पसमा पढ्न थालेदेखि उनको राजनीतिक यात्रा सुरु हुन्छ । अनेरास्ववियु,नेविसंघले नयाँ विद्यार्थीलाई आफूतिर तान्न पहल गर्थे, उनलाई भने नेविसंघको झन्डाले तान्यो । ‘त्यस बेला मलाई कुन संघमा प्रवेश गर्ने भन्ने थाहा थिएन,’ उनी भन्छिन्, ‘नेविसंघको झन्डा राम्रो लागेर उसकै सदस्यता लिएँ । झन्डामा कलम समातेको दृश्यले मन छोयो ।’ त्यसमाथि उनलाई गणेशमानको प्रभाव छँदै थियो ।

पञ्चायतको गोलीले दिएको ऊर्जा
ल क्याम्पसमा पढ्दा पढ्दै ०४२ सालको अन्तिम–अन्तिमतिर बागबजार घर भएका प्रकाश खड्गीसँग उनको प्रेम–विवाह भयो । घरपरिवारले प्रेम विवाहलाई मान्यता नदिने भएकाले उनीहरूले भागी विवाह गरे । अहिले उनका श्रीमान् प्रकाश खड्गी पाटन क्याम्पसमा पढाउँछन् । हरिप्रभाका दुई सन्तान (एक छोरा र एक छोरी)मध्ये दुवै अमेरिकामा छन् । 

ल क्याम्पसमा पनि एक वर्ष अध्ययन गरेपछि ०४३ माउनले पद्मकन्या (पिके) क्याम्पसमा राजनीति विषय लिएर पढ्न थालिन्, त्यहीँबाटआइए गरिन् ।०४५ सालमा उनलेपहिलो सन्तान छोरीलाई जन्म दिइन् । ०४६ को अन्तिमतिर देशमा पञ्चायतविरोध आन्दोलन उत्कर्षमा थियो । 

बागबजार मुख्य सडकमा हरिप्रभाको घर थियो, आन्दोलनकारीलाई हरिप्रभाका सासू आमालेमकै–भटमास, गुन्दुक बनाएर खुवाउँथिन् । हरिप्रभा भन्छिन्, ‘सासू आमाको पार्टीप्रतिको यस्तो माया देख्दा राजनीति गर्ने ऊर्जा मिल्यो ।’

रानीपोखरीअगाडि अञ्चलाधीशको कार्यालय थियो, त्यहाँबाट गोली चल्दा गोविन्द अर्याल भन्ने व्यक्तिलाई लाग्यो । आँखैअगाडि पञ्चायती व्यवस्थाको बर्बरता देखेपछि हरिप्रभाले राजनीति नछाड्ने निधो गरिन् । 

पञ्चायत विरोधी आन्दोलन चर्कंदै गएपछि कर्फ्यु लगाइयो । आन्दोलनकारी बस्ने गरेकाले उनको घर विशेष निगरानीमा थियो । हरिप्रभाले घरमा झ्याल लगाउन खोज्दा गोली चल्यो । उनी भन्छिन्, ‘गोलीले झ्यालको सिसा फुटेर मेरो आँखा र निधारमा चोट पुर्‍यायो । श्रीमानले कर्फ्युकै बेला पनिमलाई हतार–हतार वीर अस्पताल पुर्‍याउनुभयो ।’

  • उनी उपप्रमुख भइसकेपछि परिवारको र आफन्तको सोचाइमा परिवर्तन आएको छ । ‘पहिला आफन्तले नै सधैँ बाहिर हिँड्या छ, डुल्या छ भन्थे,’ उनी भन्छिन्,‘तर,अहिले गर्न चाह्यो भने हुने रहेछ भन्ने खालको प्रतिक्रिया दिनुहुन्छ ।’

घरमा सानी छोरी भएकाले दुई दिनको उपचारपछि उनी डिस्चार्ज भइन् । अस्पतालबाट फर्कंदै गर्दा उनले आन्दोलनमा अझ सशक्त भएर होमिनुपर्ने दृश्य देखिन् । वीर अस्पतालमा लासको चाङ लगाएर थुपारिएको थियो । उनी भन्छिन्, ‘त्यो दृश्यले मेरो रगत उम्लियो ।’
बहुदल आएपछि गणेशमान सिंहकी पत्नी मंगलादेवीले सडकमा उत्रिएका महिलाहरूलाई भेला गराएकी थिइन्, त्यस बेला हरिप्रभालाई लिन मंगलादेवी उनकै घरमा आइन् । यसरी हरिप्रभा कांग्रेसको राजनीतिमा जोडिँदै गइन् । 

०४८ सालतिर उनी नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा सक्रिय भइन् । महिला संघबाट २ नम्बर क्षेत्रको उपाध्यक्ष हुँदै उनी राजनीतिमा अघि बढिन् । ०५७ मा काठमाडौं जिल्ला सदस्य बनिन् । ०६२\६३ को आन्दोलनमा उनले सक्रिय भूमिका निभाइन् । 

०६७/६८ तिरमहिला संघ जिल्लाव्यापी अभियानमा थियो । जिल्लामा महिला कार्यकर्तालाई सक्रिय बनाउन, पार्टीमा ३३ प्रतिशत महिला हुनुपर्छ भन्ने आवाजलाई बुलन्द बनाउन उनीहरूको अभियान थियो ।  ‘मैले घरमा बुहारीको भूमिका निभाएर बाहिर निस्कन्थेँ,’ हरिप्रभा भन्छिन्, ‘महिलालाई राजनीतिमा आउन अझै पनि समस्या छ । मलाई भने राजनीतिमा लाग्न परिवारबाट सहयोग रहँदै आयो । यसमा मेरो जिद्दीपनले काम गरेको हुन सक्छ । महिलालाई बालबालिका हुर्काउँदै राजनीति गर्न कठिन छ ।’

उनको विचारमा महिला धेरै सक्षम छन् । किनभने महिलाले कार्यालय र घरको जिम्मेवारी सम्हालेका हुन्छन् । उनी उदाहरण दिँदै भन्छिन्, ‘पुरुष कार्यालयबाट घर पुग्नेबित्तिकै खाना पाक्यो भनेर सोध्छन् । महिलालाई त्यो स्वतन्त्रता छैन, सन्तान जन्माउने–हुर्काउनेदेखि घरको काम पनि हेर्नुपर्छ ।’

उनी देशकै राजधानी रहेको महानगरमा पनि स्थानीय महिला घरबाहिर निस्कन नसकिरहेको बताउँछिन् । यसको कारण उनी सामाजिक मूल्य–मान्यतालाई मान्छिन् । उनी भन्छिन्, ‘उपत्यकामा झन् धर्म–संस्कृतिले जरा गाडेको ठाउँ छ । शिक्षित महिला केही प्रतिशत बाहिर हिँडडुल गरे पनि गृहिणीहरू घरबाट बाहिर निस्केर आवाज उठाउन, अधिकार खोज्न सकिरहेका छैनन् ।’ 

‘मेरो माग सुनुवाइ भएन’
०७४ को स्थानीयतहको निर्वाचनमा उनले टिकट पाइन्र काठमाडौं महानगरपालिकाको उपप्रमुखको काममा निर्वाचित भइन् । 

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले उप–प्रमुखको काम, कर्तव्य र अधिकारमा न्यायिक समितिको संयोजक, योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण लगायत पर्छ । उनी भन्छिन्, ‘आफ्नो जिम्मेवारीमा तोकिएकै काम पाउन पनि एक वर्ष कार्यालयभित्र लड्नुपर्याे । प्रमुखले उप्र–प्रमुखको कामका लागि सहज वातावरण बनाइदिनुपर्ने थियो तर महिला उपप्रमुख भएकाले होला जिम्मेवारी दिन वास्ता गरिएन ।’

महानगरपालिकाभित्रहुने हरेक गतिविधिको सूचना आफूलाई ढिला दिइने उनको गुनासो छ । ‘महिना महिनामा बोर्ड बैठकहुन्छ, त्यसमा विभिन्न एजेन्डामा छलफल हुने गर्छ । तर, छलफल हुने विषय एक–दुई घन्टाअगाडि मात्रै थाहा हुन्छ,’  उनी भन्छिन्, ‘५६–५७ वटा बोर्ड बैठक भइसक्यो । सुरुवाती चरणदेखि एजेन्डाको बारेमा एक दिनअगाडि नै सबैको हात–हातमा पुगोस् भनिरहेकी छु । तर,त्यो अहिलेसम्म कार्याव्यन भएको छैन ।’

दैनिक हुने कार्यक्रमका बारेमा प्रमुख र उप–प्रमुख बसेर छलफल गरौँ भन्ने आफ्नो प्रस्तावको सुनुवाइ नभएको उनी बताउँछिन् । 
उपप्रमुख खड्गी महिलाका लागि के गर्दै होलिन् ? वा, उनीसँग महिला सशक्तीकरणका लागि कस्तो योजना छ ?

‘महिलालाई सीपमूलक तालिम दिइरहेका छौँ,’ उनी भन्छिन्, ‘तालिम दिई सकेपछि बजार व्यवस्थापन गर्ने योजना छ ।’

उनको बुझाइमा राजनीति भनेको ‘समाज परिवर्तन गर्ने, देशको स्रोत–साधनको उपयोग गरी आर्थिक विकास गर्ने, नागरिकलाई सहज जीवनयापनका लागि भूमिका खेल्ने’ क्षेत्र हो ।

उनी राजनीतिभन्दा अन्य पेसा वा व्यवसायमा संलग्न छैनन् । ‘मासिक ३८ तलबसँगै बैठकभत्ता गरी मासिक ४० हजार जति आम्दानी’ले आफूलाई पुगिरहेको उनी बताउँछिन् । 

उनी उपप्रमुख भइसकेपछि परिवारको र आफन्तको सोचाइमा परिवर्तन आएको छ । ‘पहिला आफन्तले नै सधैँ बाहिर हिँड्या छ, डुल्या छ भन्थे,’ उनी भन्छिन्,‘तर,अहिले गर्न चाह्यो भने हुने रहेछ भन्ने खालको प्रतिक्रिया दिनुहुन्छ ।’

याे पनि पढ्नुहाेस् :

‘आफ्नै कार्यालयका निर्णय सञ्चारमाध्यमबाट थाहा पाउँदा दुःख लाग्छ’

 Published Date: Sunday, 10th January 2021 2:52:00 pm