शनिबार, माघ १०, २०७७

‘आफ्नै कार्यालयका निर्णय सञ्चारमाध्यमबाट थाहा पाउँदा दुःख लाग्छ’

काठमाडाै‌, पुस १६ : मंगलबार दिउँसो ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल आफ्नै कार्यकक्षमा सेवाग्राहीसँग व्यस्त थिइन् । काठमाडौंप्रेसको ‘महिला प्रतिनिधि’ शृंखलाका लागि हामीले उनीसँग समय लिएका थियौँ । केहीबेर पर्खाएपछि उनले हामीलाई आफ्नो कार्यकक्षमा बोलाइन्। 

त्रिकोण आकारको टेबल र नेपाली झन्डाले घेरिएर, टेबलको अग्रभागमा नेम–प्लेट (गीता सत्याल, उपप्रमुख) राखेर कुर्सीमा बसेकी उनी हाँसोसहित हामीलाई नमस्ते फर्काउँदै बोलिन्, ‘धेरै पर्खाएँ, माफ गर्नुहोला!’

उनी यो कुर्सीसम्म कसरी आइपुगिन् ? यहाँसम्म आइपुग्न उनले कति संघर्ष गरिन् ? के कस्तो प्रेरणा वा पृष्ठभूमिले उनलाई यहाँसम्म ल्यायो ? यस कुर्सीको पछाडि उनका दुःखसुखको कथा कस्तो होला ? हाम्रा कुराकानीका विषय यिनै थिए। 

तर, फ्लासब्याकमा जानुअगावै आफू व्यस्त हुनुपरेको कारणबाट उनले ‘महिलामाथि हुने विभेद’को कथा सुरु गरिन् । ‘कार्यालय प्रमुख  समय दिन नभ्याएका सेवाग्राहीलाई मैले समय दिनुपर्छ, उहाँले नभ्याएका कामको व्यवस्थापन गर्नुपर्छ, त्यसो हुँदा अलिकति व्यस्त हुन्छु।’ 

उपप्रमुखको हैसियतमा आफ्नो जिम्मेवारीको काम गर्ने कि प्रमुखले नभ्याएका काम मात्रै ? हामीले उनलाई यो प्रश्न गर्नुपरेन, उनले लगत्तै भनिहालिन्, ‘उपमेयर भएको हिसाबले होइन, सायद महिला भएकाले उहाँले समय दिन नसकेको काम मात्र मैले हेर्नुपर्छ ।बाल्यकालदेखि संघर्ष गरेर उपप्रमुखसम्म आइपुगेँ । अहिले यस्तो महसुस हुँदैछ, महिला भएकै कारण उपप्रमुखले गर्नुपर्ने काम–कर्तव्यबाट वञ्चित भएकी छु । अब पुरुषवादी सोचसँग लड्ने तयारीमा छु।’

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल

महानगरपालिकाको उपप्रमुख जस्तो पदमा बसेर पनि विभेद भोग्नुपरेको उनको गुनासो थियो । झट्ट हेर्दा एउटा लडाइँले उनी यो कुर्सीसम्म आइन् भन्ने लाग्छ, तर (उनकै अनुसार) लडाइँ त यस कुर्सीबाट गर्नुपर्ने रहेछ।

महिलालाई राज्यबाटै विभेद भएको छ । उनी भन्छिन्, ‘देशभर सात सय ५३ स्थानीय तह छन् । तीमध्ये पाँचजना मात्र महिला मेयर छन्, के यो विभेदको उपज होइन ?’

उनका अनुसार, महिला भएकै कारण कार्यालयमा आफूलाई कुनै काम वा निर्णयमा सोधपुछ गरिँदैन । ‘महिला त हो, के थाहा छ र, किन सोध्नुपर्यो !’ भन्नेजस्तो गरिन्छ । ‘सानो उदाहरण हेर्नुस्, ललितपुर महानगरले नयाँ पार्किङ स्थलहरूको शुल्क तोक्दा उपप्रमुखको सहभागिता नै गराइएन । कार्यालयमा सबैजसो निर्णय प्रमुख एक्लैले लिनुहुन्छ,’ उनी भन्छिन्, ‘आफू उपप्रमुख भएको कार्यालयले गरेका निर्णयहरू सार्वजनिक सूचना वा समाचारबाट थाहा पाउँदा दुःख लाग्छ । बाहिरबाट महिलाको पनि सहभागिता छ भन्ने देखिन्छ । तर, मेरो मात्र होइन, अधिकांश महिला प्रतिनिधिको अवस्था यस्तै पाएकी छु।’

उनले देशभरका थुप्रै महिला जनप्रतिनिधिसँग भेटघाट तथा अन्तक्र्रिया गर्ने अवसर पाएकी छन् । त्यस्ता भेटमा उनले अधिकांश महिला जनप्रतिनिधिबाट उस्तै गुनासो सुन्छिन्– कार्यालयमा हामीसँग कुनै सोधपुछ, सरसल्लाह गरिँदैन । सबै निर्णय पुरुषले गर्छन्। 

सत्याल भन्छिन्, ‘आगामी दिनमा महिला जनप्रतिनिधिलाई पुरुषवादी सोचसँग लड्न सक्ने बनाउनुछ।’

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ ले उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार स्पष्ट तोकेको छ । तर, आफूले पुरुषवादी सोचका कारण त्यसअनुरूप भूमिका नपाएको गीता गुनासो गर्छिन् । पहिलोपल्ट स्थानीय तहमा उपप्रमुखको पदभार ग्रहण गरेकाले आफ्ना काम, कर्तव्यप्रति प्रमुखलाई झकझकाउन नसकेको पनि उनको स्वीकारोक्ति छ ।  

‘पाँच वर्षको उमेरमा बिहे गरेकी आमाकी छोरी’

गीताको जन्म काभ्रेपलाञ्चोक पनौती नगरपालिका खेपासीमा ०३४ भदौ ५ गते भएको हो, बुवा ऋषिकेश सत्याल र आमा कमलाको कोखबाट । उनका चार छोरी र दुई छोरामध्ये गीता दोस्रो (माहिली) सन्तान हुन् । व्यवसाय गर्ने भएकाले उनका बुवा कामको सिलसिलामा प्रायः घरबाहिर हुन्थे । त्यसैले उनकी आमा एक्लैले खेतीपाती, घरधन्दा र छोराछोरीको हेरचाह गर्नुपथ्र्यो। 

गीता भन्छिन्, ‘मेरी आमाले सुनाए अनुसार, मेरी आमाको पाँच वर्षको उमेरमा विवाह भएको थियो । सानै भएकीले उहाँले घरमा सक्नुभएन, जान्नु पनि भएन । काम गर्न नसकेर उहाँ हरेक दिन रुनुहुन्थ्यो रे । त्यसैले उहाँले छोरीहरूलाई सीप सिकाएर मात्रै विवाह गरिदिने अठोट गर्नुभएको रहेछ।’ 

गीताको जन्मघर काठमाडौंबाट ३७ किलोमिटर मात्रै टाढा छ, त्यसैले छोरीलाई पनि शिक्षा दिनुपर्छ भन्ने सोच उनकी आमामा आइसकेको रहेछ । उनले छोरा र छोरीको विभेद नगरी सबैलाई पढाउने चाहना राखेकी रहिछन् । तर भनेजस्तो कहाँ हुन्छ र ! ‘त्यतिबेला छोरीहरूलाई पठाउनुपर्छ भन्ने सोच सबैमा आइसकेको थिएन । त्यसैले घरमा छोरीहरुलाई नपढाए पनि हुनेजस्तो कुरा भएछ । गाउँमै स्कुल भएकाले जिद्धी गरेर हामीलाई स्कुल पठाएको आमाले सुनाउनुहुन्थ्यो।’ 

यसरी खोपासीस्थित श्रीराम सेकेन्डरी स्कुलबाट गीताले दोस्रो श्रेणीमा एसएलसी पास गरिन्, ०५१ सालमा । मुहार उज्यालो पार्दै उनी भन्छिन्, ‘त्यो बेला जति खुसी कहिले भइनँ । गाउँभरिकाले तँ पास भइछस् भन्दा खुसीको सीमा नै हुन्नथ्यो।’

१६ वर्षको उमेरमा विवाह 

गीताको परिवार, वा भनौँ गाउँसमाज नै केही धार्मिक थियो र छ, छोरीलाई सानैमा बिहे गरिदिँदा पुण्य सम्झने । त्यसैले एसएलसी पास गर्नेबित्तिकै (०५१ माघमा) उनको बिहे भयो, जति बेला उनी १६ को हाराहारीमा हिँड्दै थिइन् ।  ‘समाजमा छोरीलाई धेरै उमेर हुँदासम्म राख्नुहुन्न, विवाह गरेर दायित्व पूरा गर्नुपर्छ भन्ने धार्मिक चलन थियो,’ सत्याल भन्छिन्, ‘म त्यसकै सिकार बनेँ।’

उनको विवाह ललितपुर गोदावरी घर भएका पुरुषोत्तम नेपालसँग भएको थियो, पुरुषोत्तम गोदावरीमा स्थायी शिक्षक थिए । श्रीमान् शिक्षक भएकाले उनले विवाहपछि पढ्ने मौका पाइन् र ०५२ देखि पद्म कन्या क्याम्पसमा भर्ना भएकी थिइन् । आइए पहिलो वर्षको परीक्षा दिएपछि उनलाई नर्सिङ पढ्ने रहर जाग्यो, ‘काठमाडौं टेक्निकल इन्स्टिच्युट बालाजु’मा नर्सिङ पढ्न थालिन् । 

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल

०५६ मा नर्सिङ सकेर उनले चार वर्षजति नर्सिङ पेसा गरिन् । काम गर्दागर्दै उनलाई लाग्न थाल्यो, यतिले मात्रै हुँदैन, जिन्दगीमा धेरै गर्नुछ । त्यसपछि उनी पुनः आइए पढ्न थालिन् । नेपाली विषयमा स्नातकोत्तर गरेर उनी शिक्षण पेसामा संलग्न भइन् । निरन्तर अगाडि बढ्ने सोचले उनलाई कहिल्यै छाडेन, अहिले उनी पिएचडी गर्दै छन्। 

उनका श्रीमान् पुरुषोत्तम साँच्चिकै ‘उत्तम’ रहेछन् । पढ्नका लागि आफूलाई श्रीमान्ले सधैँ प्रेरित गरेको गीता बताउँछिन् । उनी भन्छिन्, ‘आज जति पनि पढ्ने अवसर पाएकी छु, श्रीमानको सहयोगले हो ।  शिक्षालाई जति बुझ्न सक्यो, जीवन त्यति सहज हुन्छ।’ 

‘बिपीका पुस्तकबाट प्रेरित’ 

कक्षा ८ मा पढ्दा गीताले नेविसंघको साधारण सदस्यता लिएकी थिइन् । बुझेर राजनीतिमा लागेकी भने होइनन् । ‘दाइ शिक्षक संघको जिल्ला अध्यक्ष हुनुहुुुन्थ्यो । त्यतिबेला नेविसंघमा धेरै साथीभाइ तथा आफन्त थिए । त्यस हिसाबले नबुझी साधारण सदस्यता लिएकी थिएँ,’ उनले भनिन्। 

कलेज पढ्न थालेपछि मात्रै उनले राजनीति बुझ्न थालिन् । ‘राजनीति भनेको के रहेछ भनेर बुझ्दा थप ऊर्जा ताहचल कलेजबाट मिल्यो,’ उनले भनिन्, ‘ताहचल कलेजमा पढ्न थालेपछि राजनीतिमा सक्रिय भएर लागेँ।’ 

उच्च शिक्षासँगै उनले विश्वेश्वरप्रसाद कोइरालाका पुस्तक पढ्न थालिन् । उनी  बिपीका विचारबाट प्रभावित हुँदै गइन् । बिपीले परिकल्पना गरेको ‘हरेक नेपालीको एउटा घर, एक हल गोरु, एउटा दुहुनो गाई’बाट उनी विशेष प्रभावित थिइन् । त्यस्तो व्यवस्था त राजनीतिक परिवर्तनले मात्रै ल्याउन सक्छ । त्यसपछि उनी चेतनशील भएर राजनीतिमा लागिन् । उनी भन्छिन्, ‘पार्टीको कार्यकर्ता भएपछि हरेक काम गर्न पाइने तथा सकिने रहेछ भन्ने सोच ममा विकास भयो।’ 

हुन त नेपालमा खासखास परिवार र पृष्ठभूमिका महिला राजनीतिमा आएको अलि पहिले नै हो । तर ०५६÷५७ तिर पनि राजनीतिमा लाग्ने महिलालाई राम्रो मानिँदैनथ्यो । तर, उनलाई घरमा श्रीमानको साथ थियो । आफूलाई श्रीमान्ले ‘आज आउने दुःखकष्टलाई सहे मात्र भोलि अगाडि बढ्न सकिन्छ’ भनेर पटकपटक सम्झाएको उनी सुनाउँछिन्। 

क्याम्पस पढ्दा उनले महिला संघको जिल्ला सदस्यता लिने मौका पाइन्, त्यसपछि उनी राजनीतिमा सक्रिय हुन छाडिनन् । महिला संघको जिल्ला सचिव, नेपाली कांग्रेस जिल्ला सदस्य हुँदै लगभग १५ वर्ष राजनीतिमा सक्रिय भएपछि उनी ललितपुर महानगरपालिको उपप्रमुखसम्म आउन सफल भइन्। 

केही आफन्त र श्रीमान्को सहयोगमा पहिलोपल्ट स्थानीय तह चुनावमा सहभागिता भएको उनी बताउँछिन् । पार्टीका कार्यक्रममा सक्रिय भएका कारण उनलाई पार्टीले जनप्रतिनिधिका लागि सिफारिस गरेको थियो। 

‘राजनीतिमा महिलाहरु सक्रिय हुन सक्दैनन् । महिलालाई उच्च पदमा राख्न हुँदैन, किनभने पुरुषले महिलाको आदेश मान्नुपर्छ भन्ने पुरुषवादी सोच छ,’ उनी भन्छिन्, ‘तर, श्रीमान्को सहयोग, आफ्नै सक्रियता र ललितपुरका जनताको मायाले यहाँसम्म आइपुगेँ।’

उपप्रमुख भइसकेपछि पनि श्रीमान्बाहेक अन्य केही आफन्तले राम्रो नजरले नहेर्ने गरेको गीताको गुनासो छ । उनी भन्छिन्, ‘महिला भएर घरको काम नगरेर के राजनीतिमा लागेको होला ? भन्ने खालका प्रश्न अझै पनि सुन्नुपर्छ।’

उनी उपप्रमुख हुनुअघि नेपाल महिला संघको जिल्ला अध्यक्ष थिइन्, अहिले पनि छन् । हाल उनले विद्यालय तथा सहकारी संस्थामा लगानी गरेकी छन् । हाँस्दै भन्छिन्, ‘राजनीति मात्र गरेर खान पुग्दैन।’

उनको बुझाइमा ‘राजनीति भनेको समाज सेवा हो । सामाजिक, आर्थिक रूपमा समाज परिवर्तन गर्न राजनीतिको भूमिका हुन्छ र हुनुपर्छ।’ 
 

 Published Date: Thursday, 31st December 2020 4:50:00 pm