बेलायत बस्दै आएका गायक केसीद्धारा आत्महत्या 

काठमाडौं, पुस २६ : करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् ।

शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए ।

केही वर्षअघि नेपाल नै बस्ने गरी फर्केका केसी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए ।

उनले पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गरेका थिए भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए ।

आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ । (रासस) 

 Published Date: Sunday, 10th January 2021 8:18:00 am