Kathmandu Press

प्रश्न उठेपछि यसरी अलग्गिए न्यायाधीश कार्की, सुनुवाइ एक साता घर्कियो 

केही समयको वादविवादपछि न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटन विवादको सुनुवाइका लागि गठन भएको संवैधानिक बेञ्चमा नबस्ने निधो गरेका हुन्।
प्रश्न उठेपछि यसरी अलग्गिए न्यायाधीश कार्की, सुनुवाइ एक साता घर्कियो 

काठमाडौं , पुस २२ : संसद विघटन विवादमा सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने निर्णय लिएपछि सुनुवाइ एक साता सरेको छ।
  
रिट निवेदकतर्फका वरिष्ठ अधिवक्ताहरुले ‘बेञ्च’ गठनको संरचनामाथि प्रश्न उठाएका थिए। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, मुक्ति प्रधान, दिनेश त्रिपाठीलगायतले न्यायाधीश कार्कीका विषयमा प्रश्न उठाए।

कार्की अघिल्लोपल्ट केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला महान्यायाधिवक्ता थिए। बुधबारको सुनुवाइमा रिट निवेदकका कानून व्यवसायीले रिटलाई बृहत पूर्ण इजलासमा लैजानसमेत माग गरे। इजलास र कानून व्यवसायीको सवाल जवाफपछि विघटन विवादको सुनुवाइ एक साताका लागि सरेको छ।
 
‘बहस गर्न र निर्णय स्वीकार्न मलाई आपत्ति छैन। तर जनताले के भन्छन् भन्ने कुराको पनि ख्याल गर्नुपर्छ,’ इजलासमा थापाले भने, ‘तर जनताले प्रश्न गरिरहेका छन्। अर्का वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले पनि जनआस्था नै अदालतको सबैभन्दा ठूलो सम्पत्ति रहेको भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए।

रिट निवेदकसमेत रहेका वरिष्ठ अधिवक्ता त्रिपाठीले पनि कार्की प्रधानमन्त्री केपी ओलीको एकपल्ट महान्यायाधिवक्ता भइसकेका र हालका महान्यायाधिवक्ता अग्नि खरेलको ल फर्म पार्टनर रहिसकेको भन्दै प्रश्न उठाए। 

केही समयको वादविवादपछि न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटन विवादको सुनुवाइका लागि गठन भएको संवैधानिक बेञ्चमा नबस्ने निधो गरे। कार्की इजलासबाट बाहिरिएपछि सुनुवाइ प्रभावित भएको छ। न्यायाधीश कार्की इजलासमा नबस्ने भएपछि अर्को सुनुवाइ पुस २९ गतेका लागि तय भएको छ।

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, पुस २२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्