राजनीतिक प्रणाली र सोचमा गहिरो समस्या छ : बाबुराम भट्टराई
भट्टराईले देशमा विचारको विकास हुन नसकेको बताउँदै नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताए।
काठमाडौं, भदौ ७ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता औंल्याउँदै विचारकै पुनःसंरचनाको खाँचो रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पुस्तक ‘एन्टिथेसिस’ दोस्रो संस्करणको प्रकाशन सन्दर्भमा आयोजना गरिएको बहस कार्यक्रममा बोल्दै भट्टराईले देशमा विचारको विकास हुन नसकेको बताउँदै नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताए।
‘विचारकै पुनःसंरचना गरेर समयको परिस्थिति अनुसार जानु जरुरी छ। अहिले विश्वभर विचारको खडेरी छ, र यो हाम्रो मुल समस्या हो। संसारमा जुन ज्ञान, विज्ञान, प्रविधि र चेतना सिर्जना भएको छ,’ उनले भने, ‘त्यसमा आधारित भएर नयाँ विचारको निर्माण गर्न जरुरी छ। हामीले विचारको नयाँ संस्करण तयार पार्नुपर्छ।’
त्यसैगरी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित उपलब्धिहरूको उपभोग जनतासम्म पु¥याउन नसकिएकोमा चिन्ता व्यक्त गरे।
उनले पछिल्लो समय संसद् प्रणालीप्रति पनि निराशा व्यक्त गरे। ‘अहिले त संसद्मा कानुन नै चोरी हुने अवस्था देखिन्छ । संसद्मा आइएछ, तर केका लागि भन्ने लाग्न थालेको छ। यो सायद अनुभवको थकान वा व्यवस्थाप्रति बढ्दो असन्तुष्टि पनि हुन सक्छ,’ उनले थपे।
कार्यक्रममा लेखक प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ को दोस्रो संस्करण सार्वजनिक गरिएको थियो। कार्यक्रममा नेपाली राजनीतिको रूपान्तरणबारे विविध धारणा व्यक्त गरिएका थिए।












-ink-1744291933.jpeg)