Kathmandu Press

अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्छौं : अर्थमन्त्री

काठमाडौं, मंसिर १५ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी...
अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्छौं : अर्थमन्त्री

काठमाडौं, मंसिर १५ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३औं वार्षिकोत्सव तथा २२औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताए।

सरकारको सामर्थयका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उनको भनाइ थियो। उनले भने, 'समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो।'

Hardik ivf

उनले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल निर्माण गर्ने योजना अनुसार आज देशभर नै शिलान्याश गर्न लागिएको बताए।

यो कार्यका लागि अर्थ मन्त्रालयले ५८ अर्ब बराबरको बजेट व्यवस्था गरेको छ। स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो।

उनले कम बोल्ने र बढी भन्दा बढी काम गर्ने पहलमा आफू रहेको बताए। नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वसँग सहकार्य गर्न आफू आतुर रहेको समेत उनले बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाले पारेको असरलाई चिरेर दिगो आर्थिक वृद्धिका लागि आफूहरुले विशेष रणनीति तयार पारेको र केही दिनभित्रै सार्वजनिक गर्ने बताए।

वार्षिक चार लाख युवालाई रोजगारी प्रदान गर्न महासङ्घले उक्त रणनीतिमा विशेष जोड दिएको उल्लेख गर्दै साना तथा मझौला उद्योग काभिड–१९ का कारण सबैभन्दा बढी प्रभावमा परेका बताए। उनले कोरोनाले पारेको प्रभावलाई न्यून गर्दै विभिन्न क्षेत्रमा कर तथा भन्सार छुट र न्यून नीतिगत सुधार जरुरी रहेको स्पष्ट पारे।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश मोरले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वासको वातावरण बनाउन सरकारले विशेष पहल गरेको अवस्थामा कोरोना नेपालका लागि एउटा अवसर बन्न सक्ने बताए। उनले कोभिड–१९ ले सिर्जना गरेको सङ्कटलाई समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्ण रुपमा उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न र आर्थिक गतिविधिलाई प्रश्रय दिन सबैको साझा प्रयास जरुरी रहेको बताए। (रासस)

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्