Kathmandu Press

‘कोरोना संक्रमित वृद्धवृद्धालाई आइसोलेसनमा राख्दा मृत्युदर झन् बढेको छ’

वृद्धवृद्धालाई कोरोना संक्रमण भयो भने उनीहरुलाई आइसोलेसनमा राख्दा स्वास्थ्यमा ख्याल गर्न नसक्दा मृत्यु दर बढेको अध्ययनले देखाएका छन्।
‘कोरोना संक्रमित वृद्धवृद्धालाई आइसोलेसनमा राख्दा मृत्युदर झन् बढेको छ’

अहिले कोरोनाका कारण मृत्यु हुने मानिसमध्ये अधिकांश वृद्धवृद्धा छन्। जाडो मौसममा यसैपनि वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिने र अहिले कोरोनाका कारण झन् वृद्धवृद्धाको मृत्युदर बढेको देखिएको छ। कोरोना र वृद्धवृद्धाको मृत्युदरको सम्बन्ध के छ भन्ने विषयमा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग काठमाडौं प्रेसका लागि शोनी शाहीले गरेको वार्ता। 

-अहिले कोरोनाकै कारणले वृद्धवृद्धाको मृत्युदर बढेको हो? 

कोरोना भाइरसको महामारी फैलनु अघि पनि जाडो मौसममा हरेक वर्ष वृद्धवृद्धाको मृत्युदर बढ्ने गरेको थियो। निमोनिया, दम लगायतका विभिन्न दीर्घरोगीमा जाडोमा देखिने विभिन्न स्वास्थ्य समस्याका कारण निधन हुने गरेको छ। गर्मी मौसमको तुलनामा जाडो मौसममा वृद्धवृद्धाको मृत्यु बढी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

यसै पनि हरेक वर्ष विभिन्न कारणले वृद्धवृद्धाको मृत्युदर बढी हुनेमा अहिले कोरोना पनि एक प्रमुख कारणको रुपमा देखिएको हो। अहिले कोरोनाका कारण मृत्यु हुने तीन भागमध्ये दुई भाग वृद्धवृद्धा नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। जसमध्ये पनि ६० वर्षभन्दा माथि उमेर समूहका मानिस पर्दछन्। 

विगतको तुलनामा जाडो मौसम सुरु भएपछि कोरोना संक्रमितमा पनि अधिकांश वृद्धवृद्धा नै रहेका छन्। जसको एउटा प्रमुख कारण भनेकै ‘कम्युनिकेसन ग्याप’ हो। उदाहरणका लागि कोही एक वृद्ध वा वृृद्धालाई संक्रमण भयो भने उनीहरुलाई छुट्टै आइसोलेसनमा त पक्कै पनि राखिन्छ। यसरी छुट्टै बस्दा एक त मनोवैज्ञानिक प्रभाव पर्छ र अर्को कुरा एक्लै बस्दा सामान्य खोकी वा श्वासप्रश्वासमा समस्या आउँदा अरुलाई नभन्ने र बेवास्ता गरिन्छ।  

मैले एक दुई जनासँग कुराकानी गर्दा उनीहरुले ‘बुबाले भन्नुहुन्न एकैचोटी श्वास फेर्न गाह्रो हुँदा मात्र भन्नुभयो, ल्याउँदा ल्याउँदै ढिला भयो’ भन्ने कुरा गरे। त्यसैकारण ‘कम्युनिकेसन ग्याप’लाई सकभर कम गर्नुपर्छ। विगतमा जाडो मौसममा वृद्धवृद्धामा स्वास्थ्य समस्या आउँदा परिवारसँगै बसिन्थ्यो र केही हुँदा सोध्ने वा चासो राख्ने हुन्थ्यो। 

तर, अहिले कोरोनाका कारण संक्रमण भएमा छुट्टै आइसोलेसनमा राख्नुपर्ने हुन्छ। छोराछोरी पनि आफ्नो व्यस्तताका कारण स्वास्थ्यका विषयमा सोध्न नभ्याउने हुन्छ। यसैकारण पनि वृद्धवृद्धा र उनीहरुको छोराछोरीबीच कम्युनिकेसन ग्याप अझ बिरामी थप जटिल हुँदै गएको देखिन्छ।

-वृद्धवृद्धाका लागि विगत र अहिलको जाडोमा के फरक छ ? 

सामान्यतया वृद्धवृद्धाका लागि विगत र अहिलको जाडोमा खासै फरक त छैन। तर, उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले प्राय जुनसुकै रोग वा भाइरसले छिट्टै असर गर्ने हुन्छ। चिसो मौसममा वृद्धवृद्धालाई स्वास्थ्यमा समस्या आउनु सामान्य भइसकेको छ।  

त्यसमाथि अहिले कोरोनाले पनि थप समस्या ल्याएको छ। अझ आइसोलेसनमा बस्नु पर्ने र एक्लोपनले थप समस्या निम्त्याएकोमा दुई मत छैन। उनीहरु केही स्वास्थ्य समस्या आएमा जाडोमा यस्तै हुने हो भनेर हेलचक्राइँ गरेको पाइएको छ। तर अहिले स्थिति विगतको जस्तो होइन। विज्ञहरुले वृद्धवृद्धामा कोरोनाको प्रभाव बढी पर्छ भनिरहँदा उनीहरुले अझ बढी सतर्कता अपनाउन जरुरी छ।

वृद्धवृद्धाले धेरै गाह्रो नभएसम्म नभन्ने हुँदा रोगले धेरै ग्रस्त भइसकेपछि मात्र अस्पताल पुग्ने समस्या धेरै देखिएको छ। कतिपय वृद्धवृद्धालाई अस्पताल ल्याउँदा निमोनियाले धेरै नै ग्रस्त बनाइसकेको अवस्था पनि पाइएको र बचाउनै नसकिने केसहरु छन्। किनभने कुनै पनि रोगको उपचारमा ढिलाइ हुने वित्तिकै नियन्त्रणमा ल्याउन सकिने सम्भावना पनि कम हुन्छ। 

भेन्टिलेटर भनेको कुनै जादुको छडी होइन। भेन्टिलेटरमा बस्ने वित्तिकै निको हुन्छ नै भन्न सकिने अवस्था छैन। त्यसैले कोरोना संक्रमित होस् वा नहोस् वृद्धवृद्धाले मात्र नभई उनीहरुको परिवारले समेत स्वास्थ्यमा भने चासो राख्न जरुरी छ। 

-उमेर पुगेका बुवाआमाको स्वास्थ्यमा ख्याल गर्न परिवारले कस्तो भूमिका खेल्नु पर्छ? 

प्रायः वृद्धवृद्धामा आफ्ना साथीहरुसँग राम्ररी कुरा गर्ने भएपनि परिवारसँग भने खुलस्त कुराकानी गर्ने बानी हुँदैन। त्यसमाथि पनि औषधिले वृद्धवृद्धा ढिला असर गर्ने हुँदा धेरै समय होम आइसोलेसनमा छुट्टै बस्नुपर्ने हुन्छ। 

त्यसैपनि हरेक वर्ष जाडोमा निमोनियाको समस्या, त्यसमाथि कोरोना र अन्य भाइरसको जोखिम रहेको हुँदा परिवारका सदस्यले बारम्बार उनीहरुको स्वास्थ्यमा चासो लिने र सोधपुछ गर्ने गरेमा मात्र पनि धेरै हदसम्म वृद्धवृद्धाको मृत्युदरलाई कम गर्न सकिन्छ। 

परिवारका सदस्यको व्यस्तता र वृद्धवृद्धाको खुलेर नबोल्ने बानीका कारणले पछि रोग नियन्त्रणमा ढिलाइ हुँदा समस्या आउनसक्ने भएकाले यसमा परिवारको भूमिका विशेष रहन्छ। साथै वृद्धवृद्धामा पनि कुनै पनि स्वास्थ्य समस्या आउँदा परिवारसँग खुलेर भन्ने बानी बसाल्न जरुरी छ। 

-आगामी दिनमा वृद्धवृद्धाको मृत्युदर बढ्ने सम्भावना कति छ ? 

जाडो मौसम भर्खरै सुरु भएको छ। आगामी दिनमा अझै चिसो बढ्छ। कोरोना र वृद्धवृद्धाको मृत्युदरमा जाडो मौसमले प्रत्यक्ष प्रभाव पार्छ। सरकारले परीक्षणमा कमी ल्याएर संक्रमितको संख्या कम देखाएपनि मृत्युदर त रोक्न सक्दैन।

त्यसैले जाडोमा कोरोनाका साथै अन्य रोगका कारण हुने वृद्धवृद्धाको मृत्युदर अझ बढ्न सक्ने हाम्रो अनुमान छ। अर्कोतर्फ कुनै पनि महामारी वा प्रकोप सधैभरि उत्कर्षमा त रहँदैन। सायद कोरोनाको महामारी पनि विस्तारै ओरालो लाग्ने आशा पनि छ। 

तर, कहिले कोरोनाको माहामारी कम हुने? र अवस्था सामान्य हुन्छ वा हुँदैन भन्ने विषयमा भने ठ्याक्कै भन्न सकिँदैन। यसका लागि अझै केही समय लाग्नसक्छ। लकडाउन पछि नेपालमा कोरोना ह्वात्तै बढेको थियो। जाडोले गर्दा पनि कोरोनालाई स्थिर बनाएको हुनसक्ने मेरो अनुमान हो। तर, विस्तारै संक्रमण कम हुनसक्छ।

उदाहरणका लागि मानौं एक सय जना मानिसमध्ये ९५ जना संक्रमित भएर निको भइसकेका छन् भने संक्रमण बढ्ने सम्भावना कम हुन्छ। तसर्थ लगभग धेरै मानिसहरु संक्रमित भइसकेका छन्, अब विस्तारै नयाँ संक्रमण कम हुँदै जाने मेरो अनुमान हो। 
 

प्रकाशित मिति: १७:२० बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्