Kathmandu Press

लकडाउनले रोकिएको बेनी–अर्थुङ्गे सडक स्तरोन्नतिको काम सुरु 

म्याग्दी, मंसिर १३ : कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएको बेनी–अर्थुङ्गे सडक स्तरोन्नति आयोजना शुरु भएको छ। आँपरुखदेखि अर्थुङ्गेको पुलाचौर जाने...
लकडाउनले रोकिएको बेनी–अर्थुङ्गे सडक स्तरोन्नतिको काम सुरु 
Hardik ivfHardik ivf

म्याग्दी, मंसिर १३ : कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएको बेनी–अर्थुङ्गे सडक स्तरोन्नति आयोजना शुरु भएको छ। 

आँपरुखदेखि अर्थुङ्गेको पुलाचौर जाने सडकको चोक जोड्ने सडकमा नाली बनाउने, ढलान गर्न र कालोपत्रे गर्न गत वर्ष ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयनको क्रममा कोरोना जोखिम, बन्दाबन्दी, मजदूर र निर्माण सामग्रीको अभावका कारण प्रभावित भएको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले करिब २५ प्रतिशत भौतिक प्रगति भएको आयोजनालाई आगामी चैत महिनासम्म म्याद थपेर चालु आर्थिक वर्षमा निरन्तरता दिइएको बताए। यो बेनी नगरपालिकाको सबैभन्दा ठूलो र महत्वपूर्ण आयोजना हो। 

एक करोड ३५ लाख रूपैयाँ लागत अनुमान गरिएको आयोजना खुसीहोम बिल्डर्सले ८८ लाख रूपैयाँमा ठेक्का लिएको थियो। सम्झौताअनुसार २०० मिटर ढलान, ७०० मिटर कालोपत्रे गर्ने र ७०० मिटर नाली बनाउने लक्ष्य छ। देउरालीमा ढलान सकेको ठेकेदारले सेनाको श्रीबक्स गुल्मको ब्यारेकमुनिको सडक ढलानको तयारी गरेको इञ्जिनीयर विमलरञ्जन कार्कीले बताए।  

बेनी नगरपालिकाको चार र रघुगङ्गा गाउँपालिकाको दुई वटा वडाका बासिन्दाले सदरमुकाम बेनी आवतजावत गर्न प्रयोग गर्ने यो सडक स्तरोन्नति गर्न बेनी नगरपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको छ। आयोजनाको शुक्रबार अनुगमन गर्न पुगेका नगरप्रमुख हरिकुमार श्रेष्ठ लगायतको टोलीले निर्माण व्यवसायी मनोज कार्कीलाई थपिएको समयभित्र काम सम्पन्न गर्न र गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न निर्देशन दिए। 

आयोजना स्थलमा भेटिएको कमलस बालुवा प्रयोग नगर्न निर्देशन दिइएको थियो। यसअघि गत असारमा रिबाउण्ड ह्याम्बर उपकरणको प्रयोग गरेर नालीको ढलान परीक्षण गर्दा गुणस्तरअनुसारको नपाएपछि भत्काउन निर्देशन दिइएको थियो। सो नाली भत्काएर नयाँ बनाउन पुनःनिर्देशन दिइएको छ। 

यसैगरी अर्थुङ्गेमै निर्माण शुरु भएको वडा कार्यालय भवनलाई गति दिन ठेकेदार कम्पनीका प्रतिनिधि शिशिर शाहीलाई निर्देशन दिइएको छ। भवनको जग खन्ने मात्र काम भएको छ। बर्खामा पहिरो खसेपछि रोकिएको भवन निर्माणलाई तीव्रता दिने शाहीले प्रतिबद्धता जनाउनुभयो । वडा कार्यालय भवन निर्माणका लागि पनि चैतसम्म म्याद थप भएको छ।

प्रारम्भिक वातावरण परीक्षण गरेर मात्र सडक निर्माण गरिने 

म्याग्दीको मङ्गला गाउँपालिकाले सडक निर्माण गर्नुअघि अनिवार्य प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। 

विकास आयोजनालाई वातावरणमैत्री बनाएर विपद् न्यूनीकरण गर्न शुक्रबार बाबियाचौरमा भएको विशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन’ पारित गरेको छ। जथाभावी डोजर चलाएर खनिने र विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि सडक खन्नु अघि अनिवार्यरुपमा वातावरणीय परिक्षण गर्नुपर्ने नीतिगत व्यवस्था गरेको हो। गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले सभामा प्रस्तुत गरेको विधेयक सर्वसम्मतरुपमा पारित भएको थियो। 

गत भदौमा जिल्ला प्रशासन कार्यालयले बेनीमा आयोजना गरेको सर्वपक्षीय बैठकले प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने निर्णय गरेको थियो। सर्वपक्षीय बैठकको निर्णय र गाउँपालिकाको वातावरणमैत्री विकासलाई अघि बढाउने नीति कार्यान्वयनको लागि ऐन बनाइएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए।  

ऐनमा सडकको नयाँ ट्रयाक निर्माणमा प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण गर्ने, फोहोरमैला व्यवस्थापन, नदीजन्य ढुङ्गागिट्टी लगायतका वातावरणीय स्रोत व्यवस्थापनका क्षेत्रलाई समेत समेटीएको छ। सभामा गाउँपालिकाले पहिलो चौमासिकमा तीन दशमलव २१ प्रतिशत पूँजीगत र २० दशमलव १९ प्रतिशत चालु प्रगति भएको विवरण प्रस्तुत गरिएको थियो। सभाले कार्यपालिका बैठकबाट भएका निर्णय अनुमोदन तथा योजना कार्यान्वयनको लागि आवश्यक अधिकार प्रत्यायोजन गरेको उपाध्यक्ष सिर्जना केसीले बताइन्। 

सभाले वडा नम्बर ५ पुलचोक–पिपलबोट–पाँखु–धारा– सिर्कुम– टीकाबाङ सडकखण्डको हाँडेभिरमा सडकको ट्रयाक निर्माण र नदी नियन्त्रण योजना सञ्चालनको लागि थप ५० लाख रूपैयाँ बजेटको स्रोत व्यवस्थापन गरेको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिए। 

उहाँका अनुसार, यसअघि ५० लाख बजेट विनियोजन भएको सो योजनामा सभाले ५० लाख थप गरी एक करोड बजेटको योजना ठेक्कामार्फत कार्यान्वयन गर्ने स्रोत व्यवस्थापन गरेको हो। संघीय सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको २४ लाख र गाउँपालिकाको सम्पूरक कोषबाट २६ लाख बजेटलाई समेटेर थप ५० लाख बजेट सो योजनामा थप गरिएको हो। रासस

प्रकाशित मिति: १५:४४ बजे, शनिबार, मंसिर १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्