Kathmandu Press

नेकपा विवाद : ओली र दाहाल दुवै बहुमतको जोड–घटाउमा

दुई दिनपछि बस्ने स्थायी समितिको अहिलेको समिकरण अनुसार दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमतमा र ओली पक्ष अल्पमतमा देखिएको छ।
नेकपा विवाद : ओली र दाहाल दुवै बहुमतको जोड–घटाउमा
फाइल तस्वीर।
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १० : सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद दस्तावेजिकरणमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’स्थायी समिति र केन्द्रीय समितिमा बहुमत जुटाउने जोड घटाउमा छन्। 

दुई दिनपछि बस्ने स्थायी समितिको अहिलेको समिकरण अनुसार दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमतमा र ओली पक्ष अल्पमतमा देखिएको छ। सचिवालयमा दाहाल–नेपाल पक्षको बहुमत देखिएपछि ओली मंसिर १३ गते बस्ने सचिवालय बैठकमा पेश हुने आफ्नो छुट्टै राजनीतिक प्रतिवेदन स्थायी समिति र केन्द्रीय समितिमार्फत पास गराउने रणनीतिमा देखिएका छन्।

ओलीले दाहाल र नेपाल नजिक भएका तर पछिल्लो समय पार्टी एकीकरणमा जोड दिएका स्थायी समिति र केन्द्रीय सदस्यहरुसँग छलफलमा छन्। बालुवाटार स्रोतका अनुसार सचिवालयमा ओलीको बहुमत पुग्ने सम्भावना नदेखिएपछि उनी स्थायी समिति र केन्द्रीय समितिमा बहुमत जुटाउन लागिपरेका छन्। 

नेकपाको नौ सदस्यीय सचिवालयमा दाहाल–नेपाल पक्षमा पाँच सदस्य छन्। त्यसमा पनि गृहमन्त्री रामबहादुर थापा तटस्थ देखिएका छन्। दाहाल निकट स्रोतले भने मतदानको अवस्था आएमा थापा दाहाल–नेपालकै पक्षमा खुल्ने प्रतिवद्धता गरेका छन्। ‘मन्त्री भइरहदा प्रधानमन्त्रीको विपक्षी मोर्चामा बस्नु नैतिक रुपमा पनि नमिल्ने भएकाले रामबहादुर कमरेड अहिले तटस्थ देखिनु भएको हो’, दाहाल निकट एक स्थायी समिति सदस्यले काठमाडौं प्रेससँग भने,‘भोलि मतदान वा पक्ष/विपक्षमा देखिनुपर्ने अवस्था आएमा उहाँले दाहाललाई नै समर्थन गर्नु हुन्छ।’

नेकपा सचिवालयमा दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनविरुद्धमा अर्को प्रतिवेदन दुई दिनपछि बस्ने बैठकमा ओलीले पेश गर्ने तयारी गरेका छन्। दाहालले ओलीलाई सरकार र पार्टी दुवैमा असफल भएको निष्कर्ष प्रतिवेदनमा निकालेका छन्। यता ओलीले भने दाहालले लगाएका सबै अरोपलाई काट्नेगरी अर्को प्रतिवेदन पेश गर्नेछन्। 

पार्टीका सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा ओली र दाहालले पेश गरेका दुई राजनीतिक प्रतिवेदन माथि छलफल हुनेछ। जुन प्रतिवेदन पास हुन्छ सोही नेताको पार्टीमा वर्चोस्व हुनेछ। 

ओलीको प्रतिवेदन पास हुन नसकेको अवस्थामा भने प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना हुन सक्छ। 

दाहाल–नेपाल समूहले आफ्नो प्रतिवेदन जिल्ला तहसम्म छलफलका लागि सर्कुलर गरेका छन्। ओलीले भने जिल्ला तहका नेताहरुसम्म प्रतिवेदन पुर्‍याएर दाहाल–नेपाल समूहले विवादलाई जिल्ला तहसम्म लगेको आरोप लगाउँदै आएका छन्।

दाहालले पेश गरेको प्रतिवेदन फेल भए प्रधानमन्त्रीमाथि लगाएका सबै आरोपहरु असत्य हुने भएकाले पनि दाहाल–नेपाल समूह प्रतिवेदन पास गराउन स्थायी र केन्द्रीय समितिका सदस्यहरुसँग व्यक्तिगत छलफलमा छन्। नेकपाभित्रका समिकरणमा दाहाल र नेपाल एक ठाउँमा हुँदा स्पष्ट बहुमतमा हुन्छ। तर ओलीले यो बीचमा समिकरण तलमाथि गर्न सक्ने अनुमान पनि दाहाल–नेपाल समूहले गरेको छ।

तर नेकपाभित्र केही नेताहरुले भने दुवै प्रतिवेदन सामान्य छलफल मात्रै गराएर फिर्ता गराउने प्रयास पनि गरिरहेको स्रोतको दावी छ। 

प्रतिवेदनको अंक गणितमा प्रवेश गर्दा पार्टी फुटको अवस्थामा पुग्न सक्ने भन्दै उनीहरुले दुवै प्रतिवेदन पास र फेल तर्फ अघि बढाउन नहुने लविङ गरेका छन्। 

नेकपाको मंसिर १३ गते सचिवालय बैठक, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय समिति बैठक डाकिएको छ। उक्त बैठकमा दाहाल र ओलीले पेश गर्ने प्रतिवेदनमाथि छलफल हुनेछ। 

प्रकाशित मिति: १८:५५ बजे, बुधबार, मंसिर १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्