Kathmandu Press

नेकपा फुट्ला कि जुट्ला ?

नेकपाभित्र विगत एक वर्षदेखि सल्कदै गएको विवाद अहिलेसम्म आउँदा एकले अर्कालाई विश्वास गर्ने सबै आधार गुमाएको देखिन्छ। त्यसैले ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिएसम्म पार्टी विवाद समाधानतर्फ अघि बढ्ने देखिँदैन। 
नेकपा फुट्ला कि जुट्ला ?

काठमाडौं, मंसिर २ : झण्डै एक वर्षदेखि चरम विवादमा रुमलिँदै आएको सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुट्ने कि फुट्ने भन्ने अन्तिम अवस्थामा पुगेको छ। 

विषेशगरी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार र पार्टी दुवैमा एकल निर्णय हुन थालेपछि गत फागुनदेखि नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको हरेक संगठन संरचना सहमतिका आधारमा तय गर्ने निर्णय भएको थियो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सहअध्यक्षको भूमिका समित गरेपछि विवाद चुलिँदै गएको हो। 

यसअघि सरकार गठनका बेला दुवै अध्यक्ष (ओली र दाहाल)ले सरकारको पाँच वर्षे कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने लिखिति सहमति भएको थियो। उक्त सहमति अनुसार ओलीले ६ महिनाअघि नै सत्ता दाहाललाई हस्तान्तण गर्नु पर्ने थियो। तर, दाहाल सहमतिबाट एक कदमपछि हटेर पार्टीमा आफूलाई काम गर्न दिए पूरै कार्यकाल ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने सहमति गरेका थिए।

सोही सहमति अनुसार टालटुल भएको विवाद ओलीले फेरि पार्टीमा पनि एकल निर्णय गर्न सुरु गरेपछि अब मिल्न नसक्ने अवस्थामा पुगेको देखिएको छ। वर्तमान सरकारमा तत्कालीन माओवादी केन्द्रबाट सहभागी दाहालनिकट एक मन्त्रीले नेकपा जुट्न भन्दा फुट्नतर्फ अग्रसर देखिएको टिप्पणी गरे।

‘जनताले कम्युनिष्ट सरकारलाई झण्डै दुई तिहाइको बहुमत दिए। तर, त्यो अनुसार न सरकार चल्न सक्यो न पार्टी’, ती मन्त्रीले काठमाडौं प्रेससँग भने, ‘अहिलेको विवाद हेर्दा मैले जुट्न सक्ने देखेको छैन। नेताहरु एकले अर्कालाई विश्वास गर्ने आधार नै गुमाएको अवस्था छ।’

यसअघि दल फुटाउ र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश पार्टीभित्र सल्लाह नै नगरी जारी गरेपछि ओलीप्रति नेकपा नेताहरु दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल निकै रुष्ट छन्। पार्टी संरचना र दुई पार्टी एकीकरण हुँदा भएको सहमति अनुसार सामूहिक नेतृत्वमा चल्नु पर्ने नेकपामा ओलीको एकछत्र हस्तक्षेप भएपछि अरु नेताहरु रुष्ट बनेका हुन्। 

नेकपा नेतृत्वको सरकारले जनमूखि एउटा पनि काम गर्न नसकेको दाहाल, नेपाल र खनालको धारणा छ। अघिल्लो हप्ता बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा दाहालले पेश गरेको प्रतिवेदनमा सरकारप्रति तीब्र आलोचना गरिएको छ। दाहालले पेश गरेको उक्त प्रतिवेदन सचिवालयका बुहमत सदस्यहरुको समान धारणा रहेको पनि नेताहरुले बताएका छन्। 

पछिल्लो समय सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र संसदीय दलमा समेत अल्पमतमा देखिएको प्रधानमन्त्री ओलीले बैठक नै बोलाउन मानिरहेका छैनन्। पार्टीका सबै केन्द्रीय संरचनामा अल्पमतमा भएपछि ओली ‘सरकार नछोड्नलाई जे पनि गर्ने’ मनस्थितिमा पुगेको नेकपाका एक सचिवालय सदस्यको धारणा छ। 

‘पार्टी फुटाउने अध्यादेश त उहाँ (ओली) ले पहिला ल्याइसक्नु भएको हो। उहाँ प्रधानमन्त्री भइरहन जे पनि गर्न तयार हुनुहुन्छ,’ ती सचिवालय सदस्यले भने, ‘तर वैधानिक रुपमा सबै निकायमा उहाँ अल्पमतमा हुनुहुन्छ। सबै उहाँका जालझेल सफल हुँदैनन्।’

सत्तासीन नेकपाभित्र देखिएको यो विवादले पार्टी जुटाउने भन्दा फुटाउनेतर्फ ढल्किसकेको नेकपा नेताहरुकै भनाइ छ। ‘नेताहरुमा विश्वास छैन’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘विश्वास नै नभएपछि जाने बाटो जुट्नेभन्दा फुट्नेतर्फ नै हो।’

पार्टीका सबै निकायमा अल्पमतमा परेपछि ओलीले लक्ष्मी पूजाको दिन वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमसँग छुट्टा–छुट्टै वार्ता गरेका थिए। तर, त्यो वार्ताले पनि सहमतिको वातावरण बनाउन सक्ने कुनै संकेत नगरेको नेताहरु बताउँछन्। 

आजमात्रै ओलीले अर्का अध्यक्ष दाहालसँग पनि सहमतिको लागि प्रयास गरेका छन्। ओलीले आफ्ना विश्वासपात्र नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई दूतको रुपमा दाहाल निवास खुमलटार पठाएका थिए। तर, दाहालले ओलीमा विश्वास गर्ने झिनो आशा पनि नभएकाले प्रधानमन्त्रीबाट राजीनामा गरेमात्रै सहमतिको वातावरण बन्न सक्ने अडान राखेको स्रोतले बताएको छ। 

पौडेलले भने भोलि (मंसिर ३ गते) बस्ने बैठक सार्न प्रस्ताव गरेका थिए। त्यसको जवाफमा दाहालले बैठक सार्न आफू तयार नरहेको सन्देश ओलीलाई पठाएका छन्। दाहाल–नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीबाट कुनै पनि हालतमा राजीनामा  गराउनै पर्ने निचोड निकालेका छन्। पछिल्लो समय ओली वा उनी निकट नेताहरुसँग भएका सबै वार्ता वा छलफलमा दाहाल–नेपाल पक्षका सबै नेताहरुले प्रधानमन्त्रीको राजीनामालाई जोडतोडका साथ उठाउने गरेका छन्। 

दाहाल–नेपाल समूहले ओली प्रधानमन्त्रीमा बहाल रहिरहे पार्टी पनि सकिने र सरकार पनि ‘इतिहासकै निकम्मा’ हुने निष्कर्ष निकालेका छन्। नेकपाभित्रको विवादको श्रृंखला हेर्दा ठूलै हलचल हाउन सक्ने देखिन्छ। विगतमा जस्तो विवादलाई कुनै कागजी निर्णयले मात्रै समाधान गर्न सक्ने अवस्था अहिले देखिँदैन। 
 

प्रकाशित मिति: २१:४८ बजे, मंगलबार, मंसिर २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्