Kathmandu Press

टिकटकले भाइरल ‘तीनधारे झरना’ र ‘मानुहुँकोट’

पर्यटकीय क्षेत्र घाेषणाा भएपनि दुई दशकसम्म आन्तरिक तथा बाह्य पर्यटककाे राेजाइमा नपरेका क्षेत्र टिकटकमा भाइरल भएपछि एकाएक चर्चित बन्न थालेका छन्।
टिकटकले भाइरल ‘तीनधारे झरना’ र ‘मानुहुँकोट’

काठमाडौं कात्तिक २६ : पर्यटकीय क्षेत्र तोकिएपनि दुई दशकसम्म आन्तरिक तथा बाह्य पर्यटकले चासो नदिएको क्षेत्र टिकटकमा भाइरल भएपछि एकाएक मानिसकाे घुइँचो लाग्न थालेको छ। 

लामो समयसम्म स्थानीय तहमा मात्र परिचित रहेको क्षेत्र टिकटिकमा आएपछि रातारात भाइरल भई आन्तरिक पर्यटक घुईचो लागेको दुई स्थान ‘तीनधारे झरना’ र ‘मानुहुँकोट’ हुन्। 

दुई दशक भन्दा लामो समयदेखि नै उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्र सूचीकृत गरिएपनि चर्चा पाउन सकेको थिएन। पूर्वधार र प्रचार प्रसारको कमीका कारण लामो समयसम्म उक्त ठाउँ गुमनाम बसेको थियो।

Hardik ivf

तीनधारे झरना –रोशी गाउँपालिका 

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा न २ काफलडाडाँस्थित तीनधारे झरना अहिले युवापुस्ताको मनोरञ्जनको स्थल बनेको छ।  

तीनवटा फरक फरक स्थानबाट पानी झरेकोले उक्त झरनाको नाम तीनधारे झरना रहन गएको गाउँपालिकाको अध्यक्ष डिबी लामा बताउँछन्। ‘२०२८ सालमा तत्कालिन प्रधानपञ्चायत समारङ सिंह लामा हुँदा तीनधारे झरना पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत भइसकेको रहेछ,’ उनले भने। सूचीकृत भएर पनि प्रचार प्रसार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकहरु गतव्य बन्न नसकेको उनी बताउँछन्। 
 
स्थानीय तह स्थापना भएपछि स्थानीय तहले पर्यटकीय क्षेत्र पहिचान र प्रवर्द्धनको लागि पहिलो पटक अध्ययन थालनी गरेको थियो। ‘अध्ययनको क्रममा पहिला नै पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत भएको प्रमाणहरु फेला परेको हुन,’ अध्यक्ष लामाले भने। 

उनका अनुसार दुई वर्ष अगाडि गाउँपालिकाले आफ्नाे क्षेत्र भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रवर्द्धनको लागि एक पुस्तक तयार पारिएको थियो। उक्त पुस्तक उपत्यकाको विभिन्न कलेज तथा पर्यटकीय क्षेत्रमा बाँडिएको थियाे। 

उक्त पुस्तकमा तीनधारे, महाभिर झरनाको बारेमा लेखिएको उनी बताउँछन्। ‘कोभिड १९ का कारण पहिलो चरणको लकडाउन सकिएपछि काठमाडौं स्तुपा कलेजका ५० जना विद्यार्थी अध्ययनका लागि तीनधारे झरना आउने प्रस्ताव आएको थियो।’ उनले काठमाडौं प्रेससँग भने, ‘पछि लकडाउन खुलेपछि उक्त विद्यार्थीहरु पहिलो पटक तीनधारे झरना अध्ययनको लागि आए र सामाजिक सञ्जालमा चर्चा हुन गयाे।’

सामाजिक सञ्जालमा रातारात भाइरल भएपछि हाल दैनिक ५ सय भन्दा बढी आन्तरिक पर्यटक झरना हेर्न आउने गरेकाे उनले बताए।

छिमेकी जिल्ला, सिन्धुपाल्चोक, सिन्धुली, उपत्यकाबाट हाल आन्तरिक पर्यटक आउन थालेका छन्। ‘आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय तह र बासिन्दाको ध्यान झरना प्रवर्द्धन तथा संरक्षणमा गएको देखिन्छ,’अध्यक्ष लामाले भने। 

धुलिखेलबाट ४६ किलोमिटर टाढा रहेको तीनधरे झरना धुलिखेलबाट भकुण्डे २१ किलोमिटर, भकुण्डेबाट फलामेसाँघु १५ किलोमिटर, फलामेसाँघुबाट काफलडाडाँ ९ किलोमिटर, काफलडाडाँबाट एक किलोमिटर हिँडेर झरना पुग्न सकिने छ। 

हाल उक्त झरना प्रवर्द्धनको लागि व्यवस्थापन समिति गठन गरी सडक र पदयात्रा सुधार गर्ने काम भइरहेको छ। उनले भने,‘हाल चर्चामा आएपछि व्यवस्थापनको लागि गाउँपालिका भित्र १२ वटा वडाबाट ३/३ लाख संकलन गरी ३६ लाख रुपैयाँमा झरनाको संरक्षण र प्रवर्द्धन गर्न बजेट संकलन गरिएको छ।’ 

पर्यटकको घुइँचो लागेपछि स्थानीयले व्यवसायसमेत सुरु गर्न थालेका छन्। आगामी दिनमा तीनधारे झरनामा आउने पर्यटकलाई पार्किङ क्षेत्र, शौचालय, होमस्टे, पदयात्रा बनाउने कामलाई प्रथामिकता राखेको गाउँपालिकाले जनाएको छ। अध्यक्ष लामा भन्छन्, ‘तीनधारे झरना जाने बाटोमा भएको घरहरुलाई होमेस्टे बनाउन ३० वटा घरलाई तत्काल १०/१० हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ।’

आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेपछि नगरवासीको आर्थिक गतिविधि बढाउन होमेस्टे प्रवद्धनमा जोड दिएको उनको भनाई छ। 

मानुहुँकोट– व्यास नगरपालिका 

तनहुँको व्यास नगरपालिका ५ स्थित रहेको मानुहुँकोट डाडाँमा अहिले मानिसको भीड थालेको छ। सिद्ध बाबा तपस्या गरेर बसेको ठाउँ भएकाले उक्त ठाउँकाे नाम मानुहुँकोट हुन गएको व्यास नगरपालिकाको भनाई छ। 

उक्त स्थानमा सिद्धबाबाको सानो मन्दिर समेत रहेको छ। नगरप्रमुख वैकुण्ड न्यौपानेका अनुसार मानुहुँकोट २५ वर्ष अगाडि नै पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत भइसकेको थियाे। ‘दुई दशक अगाडि तत्कालिन मगर समुदायले मानुहुँकोट प्रर्वद्धन र संरक्षणको लागि समिति बनाएको थियो।’ उनले भने। 

मानुहुँकोट डाडाँ दमैलीबाट ७ किलोमिटर टाढा रहेको छ। मानुहुँकोटबाट बिहानको सुर्य उदाउँदा र हुस्सुले दमैली बजार छोप्दा देखिने मनोरञ्जनात्मक दुश्य अहिले निकै रुचाइएको छ।

पछिल्लो समय शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मानुहुँकोटलाई पर्यटकीय क्षेत्र बनाउन दमैलीको मुख्य सडकसँग जोडेर बाटो बनाउन २० लाख रुपैयाँ बजेट छुट्याएर सडक बनाउने काम भएको न्यौपाने बताउँछन्। 

१० वर्ष अघिबाट प्रवर्द्धनको लागि निरन्तर लागि पर्दापनि २ वर्ष अगाडि मात्र मानुहुँकोट पुग्ने सडक कालोपत्र थालनी गरिएको उनले जानकारी दिए। ‘हाल २ किलोमिटर कालोपत्र गरिएको छ बाँकी ५ किलोमिटर कच्ची सडक छ,’प्रमुख न्यौपाने भन्छन्। 

प्रचार प्रसार गर्न नसक्दा लामो समयसम्म उक्त स्थानबारे आन्तरिक तथा बाह्य पर्यटकको गतव्य बन्न सकेको थिएन। स्थानीयले उक्त स्थानमा टिकटक बनाउन थालेपछि दुईसातादेखि मानिसहरुको भीड लाग्न थालेको उनको भनाई छ। उनले भने, ‘ढिला आयो कडा आयो भनेझै चर्चामा आएपछि आन्तरिक पर्यटकको विस्फोटन भयो।’

अहिले भिडभाड कम गर्न कोरोना भाइरस संक्रमण फैलिने डरका कारण दैनिक ३ सय आन्तरिक पर्यटकलाई मात्र प्रवेश गराउने नगरपालिकाले योजना बनाएको छ। नगर प्रमुख न्यौपानेका भन्छन,‘कोभिड १९ को संक्रमणको समयमा निश्चित संख्यामा मात्र मानिस प्रवेश गराउने योजना छ।’ 

आन्तरिक पर्यटको घुइँचो लागेका कारण बाह्य पर्यटक पनि भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सडकहरु कालोपत्र गर्ने, खानेपानी, पसल, होटेल, शौचालयको व्यवस्थापन गर्न नगरपालिका तातेको उनले जानकारी दिए। 

प्रकाशित मिति: १७:५५ बजे, बुधबार, कात्तिक २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्