Kathmandu Press

दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे

काठमाडौं, कात्तिक १४ : कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन्। विगतका वर्षमा उपत्यका छाड्ने...
दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १४ : कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन्। 

विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो। यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोड÷घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपाली भने एक लाखको हाराहारीमा रहेको बताउछन्। 

गत वर्ष कूल ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए। यसपाली दशैँमा भने तीन लाखले उपत्यका छाडे। झण्डै दुई लाख भित्रिएका छन्। कोभिड–१९ को महामारीका कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएका हुन्। दशैंँ सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्न सकेको छैन। यही १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ। 

पछिल्लो समयमा उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम छ। मुलुकभर देखिएको कूल संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ। 

सङ्ख्यात्मक रुपमा विष्लेषण गर्दा यसवर्ष इतिहासमै पहिलो पटक मानिसको आवागमन न्यून भएको प्रहरीको दाबी छ। विसं २०७७ लाई छाड्दा २०७१ पछिको विवरणमा विसं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको पाइन्छ। 

विसं २०७१ को दशैँमा ६५ हजार सवारी साधनमार्फत आठ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधानमार्फत पाँच लाख मानिस भित्रिएका थिए। यस्तै २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत आठ लाख ३० हजार यात्रु बाहिरिएका र ५६ हजार सवारी साधनमार्फत पाँच लाख १६ हजार यात्रु भित्रिएका थिए। विसं २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने अवस्था ह्वात्तै बढेको थियो। 

यसपाली भने सबै भन्दा कम यात्रुको चहलपहल देखियो। गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाईसमेत नराम्ररी प्रभावित बनाएको तथ्याङ्कले देखाएको छ। 

प्रहरी प्रवक्ता कुबेर कडायत यसपालीको दशैँको बेलामा सवारीसाधन र यात्रुको आवातजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताउछन्। बजारमासमेत चहलपहल कम हुँदा आपाराधिक घटनामा समेत कमि देखिएको उनको भनाइ छ।

प्रकाशित मिति: १९:५६ बजे, शुक्रबार, कात्तिक १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्