Kathmandu Press

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन गरिने

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन गरिने

पोखरा, कात्तिक १४ : कास्कीमा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा आर्थिक अभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार आठ सय ७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ।

Hardik ivf

खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत सङ्कलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम समन्वय सहजीकरण समितिका सदस्यसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताए। कास्कीको निर्वाचन क्षेत्र नं ३ मा ५४५ आवास सङ्ख्या स्वीकृत गरिएको छ।

पोखरा महानगरपालिकाका ११ वडामा १८९, माछापुच्छ्रे गाउँपालिकामा १७३ र अन्नपूर्ण गाउँपालिकामा १८३ आवास सङ्ख्या स्वीकृत गरिएको छ। त्यसैगरी क्षेत्र नं १ मा रुपा गाउँपालिकामा ३७०, मादीमा २०३ तथा पोखरा महानगरका ११ वटा वडामा २३३ गरी ८०६ आवास स्वीकृत गरिएको छ। निर्वाचन क्षेत्र नं २ मा पोखरा महानगरका वडाहरु पर्दछन्। यस क्षेत्रमा ५२३ आवास स्वीकृत गरिएको छ।

उनका अनुसार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहहरुले वडा कार्यालयमार्फत निवेदन माग गर्ने र वडाहरुबाट सङ्कलित निवेदन कार्यविधिअनुसार लाभग्राही छनोट गर्न सर्भे गरिनेछ। सर्भे पश्चात स्थानीय तहले लक्षित वर्ग तथा परिवारको सूची तयार गरी लाभग्राही छनोटका लागि सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमा पठाउने र इकाइले सुरक्षित नागरिक आवास सहजीकरण समितिमा पेश गरी त्यसले अनुमोदन गर्ने कार्यविधिमा उल्लेख छ।

सङ्घीय सरकारको शहरी विकास मन्त्रालयले लाभग्राहीको अनुदान रकम सिधै स्थानीय तहमा पठाउने छ। प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका सांसद सहजीकरण समितिको अध्यक्ष रहने प्रावधान छ ।

त्यसैगरी समन्वय समितिका प्रमुख सदस्य, निर्वाचन क्षेत्रभित्रको स्थानीय तहका प्रमुख सदस्य तथा सङ्घीय आयोजना कार्यान्वयन इकाइ प्रमुख सदस्य सचिव रहने व्यवस्था छ। (रासस)

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, कात्तिक १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्