Kathmandu Press

दशैंमा टीका लगाउँदा गोरेबहादुर खपाङ्गीलाई सम्झिन्छन् सुवास नेम्वाङ

खपाङ्गीले दशैंको टीका नलागाउ चलाएको अभियानबारे उनी भन्थे, 'राजनीतिक भाषामा यसलाई बहिष्कार भन्छन् तर म सामाजिक भाषामा परित्याग भन्न रुचाउँछु।'
दशैंमा टीका लगाउँदा गोरेबहादुर खपाङ्गीलाई सम्झिन्छन् सुवास नेम्वाङ

काठमाडौं,  कार्तिक १० :  किराँत समुदायमा दशैंको टीका ग्रहण गर्ने वा बहिष्कार गर्ने भन्ने विवाद लामै चल्यो। किराँत समुदायका केही अग्रजहरुले समुदायको जीवनदर्शन र धर्म आचरणको संग्रह मुन्धुममा दशैंबारे उल्लेख नभएकाले दशैं आफ्नो संस्कृति नभएको दाबी गर्दै बहिष्कार अभियान चलाएका थिए।

यस्तो अवस्थामा केहीले भने दशैंमा टीका ग्रहण गर्न छाडेका थिएनन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि बहिष्कार अभियानको पर्वाह गरेनन्। सदाझै अनामनगरस्थित आफ्नो फुपुको घरमा टीका ग्रहण गर्न पुगे।

दशैं बहिष्कारको आन्दोलन चर्किएका बेला २०५८ सालको दशैंमा नेम्वाङ आफ्नो फुपूको घरबाट टीका लगाएर गेट बाहिर के निस्किएका थिए। बहिष्कार आन्दोलन चलाउने गोरेबहादुर खपाङ्गीसँग टुपलुक्क भेट भयो। नेम्वाङको निधारमा टीका देखेपछि खपाङ्गीले आक्रोशित हुँदै भने, 'के हो तपाईंको निधारमा टीका ?'

गोरेबहादुर खपाङ्गी

खपाङ्गीको आक्रोशप्रति शालिनतापूर्वक जवाफ फर्काए, 'मैले त दशैंमा निधार खाली राख्ने गरेको छैन त सधैँ टीका लगाउँछु।'

नेम्वाङको जवाफपछि खपाङ्गी रिसाउँदै आफ्नै बाटो लागे। कोहीले टीका लगाउने, कोहीले वहिष्कार गर्ने र टीका लगाउनेलाई अभियानकर्ताहरुले हप्काउन थालेपछि किराँत समुदायको संगठन किराँत याक्थुङ चुम्लुङको बैठक बस्यो।   बैठकले व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकतामा राखेर निर्णय गर्‍यो। 'विवाद धेरै भयो। हामीले व्यक्तिगत स्वतन्त्रतालाई मध्यनजर गर्दै कसैले लगाउन खोज्छ भने दिनुपर्छ भनेर निर्णय गर्‍यौं,' नेम्वाङ सम्झिन्छन्।

सुवासचन्द्र नेम्वाङ

दशैं बहिष्कार अभियान सञ्चालन गर्नेमा खपाङ्गी अग्रणी मोर्चामा थिए। आफ्ना सुमदायका कसैले टीका लगाएको देखेमा उनी हप्काउँथे। खपाङ्गी २०५९ साल असोजमा मन्त्री भए। मन्त्री भएको सालको दशैंमा उनैले राजदरबारमा टीका ग्रहण गरे। 'सधैँ रातो टीका बहिष्कार गर्ने मान्छेले मन्त्री भएपछि राजाको हातबाट टीका ग्रहण गर्नुभयो। म त छक्क परेँ,' त्यतिबेला राजदरबारमा पुरेत रहेका माधव भट्टराई स्मरण गर्छन्।

खपाङ्गीले टीका ग्रहण गरेको साक्षी भट्टराई मात्र थिएनन्। राजदरबारको टीका समारोह नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। २०५९ सालमा फुपुको घरमा टीका लगाउन पुगेका नेम्वाङले खपाङ्गीले स(परिवार राजाको हातबाट टीका ग्रहण गरेको दृश्य देखे। 'दिदीको घरमा टीका लगाउन गएको थिएँ। टेलिभिजनमा प्रशारित दृश्यबाट म चकित भएँ,' नेम्वाङ स्मरण गर्छन्।

टीका ग्रहण गरेपछि नेम्वाङ गेटबाट बाहिर निस्किँदै थिए। संयोग एक वर्षअघिझैँ गोरेबहादुर खपाङ्गीसँग टुपलुक्क भेट भयो। यसपटक परिस्थिति भिन्न थियो। २०५८ सालमा नेम्वाङलाई टीका किन लगाएको भनेर प्रश्न गर्ने खपाङ्गी रातो टीका लगाएर दरबारबाट फर्किएका थिए।

पहिले हप्की खाएका नेम्वाङले त्यसबेला खपाङ्गीलाई भने, 'यसपटक त तपाईंले पनि टीका लगाउनुभयो। तपाईंले टीका लगाएको देखेर मलाई पनि साहस आयो। बढो साहसपूर्ण ढंगले मैले टीका लगाएँ,' नेम्वाङले खपाङ्गीलाई भनेका थिए।

२०५८ सालमा नेम्वाङको जवाफ सुनेर मुर्मुरिँदै बाटो लागेका खपाङ्गी २०५९ सालमा नेम्वाङको व्यङ्ग्यात्मक जवाफ पाएपछि मुस्कुराउँदै बाटो लागेका थिए। नेम्वाङ भन्छन्, 'त्यस यता हरेक वर्षको टीकामा म खपाङ्गीलाई सधैँ स्मरण गर्छु। विचरा उनी बितेर गए। अहिले पनि मेरो निधारमा टीका देख्दा उनी मुर्मुरिएको र एक वर्षपछि आफूले टीका ग्रहण गरेर फर्किएपछि मुस्कारएको उनको अनुहार अझै स्मृतिमा आउँछ।'

खपाङ्गीले दशैंको टीका नलागाउ चलाएको अभियानबारे उनी भन्थे, 'राजनीतिक भाषामा यसलाई बहिष्कार भन्छन् तर म सामाजिक भाषामा परित्याग भन्न रुचाउँछु।'

यद्यपी २०५९ सालमा मन्त्री भएपछि उनले राजाको हातबाट टीका ग्रहण गरे। दशैं बहिष्कार अभियान सञ्चालन गर्ने खपाङ्गीले नै राजाको हातको टीका थापेपछि उनको चर्को विरोध समेत भयो। खपाङ्गीले भने राजालाई खुशी पार्न टीका लगाएको खुलासा गरेका थिए।

'वास्तवमा मैले टीका लगाएकै हो। राजा खुसी हुन्छन् कि भन्ने चाहनाले मैले टोपीमाथि सारेर निधार थापेकै हुँ। त्यतिबेला मन्त्रिपरिषद्‍को काम गर्न राजालाई खुसी पार्नै पर्ने बाध्यता थियो। राजा भनेको ठकुरी।  ठकुरी त प्रशंसाको भोको। अब राजाले चाकरी किन नखोजोस्। मैले जनजातिकै काम गराउन राजाको हातको टीका थापेँ,' खपाङ्गीले एक अन्तर्वार्तामा भनेका छन्।

प्रकाशित मिति: १७:५६ बजे, सोमबार, कात्तिक १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्