Kathmandu Press

दशैं किनमेल के भयो? ‘कोरोनाले खायो’

दशैं किनमेलमा घटस्थापनादेखि व्यस्त रहने उपत्यकाका इन्द्रचोक, जमल, ठमेल, असन, कोटेश्वर, कंलकीलगायतका क्षेत्र यसपटक भने सुनसान छन्।
दशैं किनमेल के भयो? ‘कोरोनाले खायो’
ग्राहक कुरिरहेका काठमाडाैंका एक व्पापारी। तस्बिरहरु: काठमाडाैं प्रेस

काठमाडौं, कात्तिक ८ : लामो समयको लकडाउनपछि व्यवसायीहरु दशैंमा राम्रै व्यापार हुने आशामा थिए। दशैं किनमेलमा घटस्थापनादेखि व्यस्त रहने  उपत्यकाका इन्द्रचोक, जमल, ठमेल, असन, कोटेश्वर, कंलकीलगायतका क्षेत्र बजार जानेको भिडले हिड्नसमेत धौधौ हुन्थ्यो।

तर, यस पटकको दशैको त्यस्तो चहलपहल नभएको व्यवसायीहरु बताउँछन्। दशैंमा लत्ताकपडा, फर्निचर, भाडाकुडादेखि हरेक पसलमा रामै्र व्यापार हुन्थ्यो। यसपटक यस्ता साम्रगीहरु बिक्री नभएको व्यवसायीहरु बताउँछन्।

असनमा १३ वर्षदेखि  बिएल  कपडा पसल सञ्चालन गर्दै आएका आशाकाजी श्रेष्ठका अनुसार दशैंको समयमा कपडा नबिकेको दशकौमा यो पटक पहिलो हो। ‘दशैंको अवसमा ६÷७ लाखको सामान बिक्री हुन्थ्यो। तर, यसपालि एक लाखको पनि व्यापार गर्न सकिएन,’ उनी भन्छन्।

व्यवसायी श्रेष्ठका अनुसार दशैंमा धेरै सामान बिक्री हुँदा नाफा भएको पैंसाले व्यापार नभएको सिजनको पसलको भाडा तिर्ने गरिएको थियो। यसपटक कोभिडका कारण पसल बन्द गरिएको समयको भाडा समेत दशै किनमलेले उठाउन सकेको छैन। ‘नाफा त कुरै नगरौ भाडामात्रै तिर्न पाए नि हुन्थ्यो भनेको त्यो पनि भएन,’ उनले भने।

सोह्रखुट्टे चोकमा सात वर्षदेखि लेडिज फेसन हाउस सञ्चालन गरी महिलाहरुको आकर्षक डिजाइनका कपडा बिक्री गर्दै आएकी यस्मा राई पनि यस पटकको व्यापार दशैंजस्तो नभएको बताउँछिन्। ‘बाटोमा मानिसहरुको हिडडुल बढेपनि ग्राहक पसल भित्र छिर्दैनन्,’ उनी भन्छिन्, ‘अघिल्लो वर्षहरुमा दशैंको समयमा तीन–चार लाख व्यापार हुन्थ्यो। तर, यसपटक एक लाख पनि व्यापार भएन।’

त्यस्तै, कोटेश्वरको सिम्रन फर्निचरका सञ्ंचालक लोकेन्द्र तामाङ पनि यसपाली फर्निचर सामान नबिकेको बताउँछन्। ‘कोभिड–१९ का कारण आर्थिक संकट भित्रिएकाले सजावट साम्रगी त बिक्री नै भएको छैन,’ उनले भने।

दिनभरी पसल खोले पनि कुनै दिन त एक जना पनि ग्राहक पसलमा नआउने गरेको उनको भनाइ छ। ‘कतै सामान बिक्री भइहाल्छ कि भनेर मात्र पसल खुल्ला गरिएको हो,’ उनले काठमाडौं प्रेससँग भने, ‘अघिल्लो वर्ष दशैंको अवसरमा झण्डै नौ लाखभन्दा बढि कारोबार भएको थियो, तर यसपटक दुई लाख पनि कारोबार हुन सकेन।’

कोभिड–१९ का कारण लामो समयसम्म लकडाउनमा परेपछि बाहिर हिडडुल मात्रै बढेको, तर व्यापार चौपट भएको उनको भनाइ छ। ‘ग्राहक पसल भित्र छिर्छन् कि भनेर हेर्दै दिन बिताइरहेकोे छु,’ उनले भने।

दशैंको आठौं दिनसम्म सामान बिक्री नभएपछि यसपाली दशैंमा सामान बिक्री नहुने उनले सुनाए। कोभिड–१९ सामान्य नभएसम्म व्यापारीलाई राहत नमिल्ने उनको भनाई छ। उनी भन्छन्, 'यो वर्ष दशैंका ब्यापार कोरोनाले खायो।'

प्रकाशित मिति: १८:४८ बजे, शनिबार, कात्तिक ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्