Kathmandu Press

राजेश हमाल भन्छन्- समय मिले आफ्नै जोक्स लेख्छु

आफूमाथि आएका जोक्स हेर्दा, सुन्दा र पढ्दा उनलाई न आपत्ति छ, नत घृणाभाव नै।  बरु उनी जोक्स पढेर हाँस्छन्, रमाइलो गर्छन्। ‘मलाई कुनै आपत्ति छैन। म त्यसलाई वस्तुगत हिसाबमा लिन्छु। जोक्स पढिसकेपछि बहुत रमाइलो गर्छु,’ हमालले भने। 
राजेश हमाल भन्छन्- समय मिले आफ्नै जोक्स लेख्छु

काठमाडौं, कात्तिक ८ : ‘कोभिड-१९ लाई राजेश दाइ लाग्दा क्वारेन्टिनमा !’ यो कोरोना कहरमा चर्चित बनेको एउटा जोक्स हो। जोक्सका पात्र हुन्( महानायक राजेश हमाल। उनीमाथि यस्ता अनेकौं जोक्स छन्। कतिपयलाई आफ्नाबारेमा जोक्स बन्दा रिस उठ्छ। कतिपयले चित्त दुखाउलान्। आफू हाँसोको पात्र बन्न नरुचाउनु मानिसको स्वभाव नै हो। 

तर,  हमाल ती थोरै व्यक्तिमा पर्छन्, जसले आफ्नैबारेमा बनेका जोक्स आफैँ सुनाएर रमाइलो गर्छन्।

माथि लेखिएको जोक्स पनि हमालले नै सुनाएका हुन्। आफ्नाबारे बनेको यो जोक्स सुनाएर हमाल खित्का छोडेर हाँसे। राजेश दाइको जोक शास्त्रबारेमा कुराकानीको अनुमति माग्दा उनको मुहारमा कान्ति छाएको थियो। उनी आफूमाथि बनेका जोक्सबारेमा कुराकानी गर्दा प्रफुल्ल देखिन्थे। र, त आफूमाथि जोक्स बनाउनेहरु उनलाई प्रिय ठान्छन्, आफ्ना शुभचिन्तकको मायाको रुपमा बुझ्छन्। 

आफूमाथि बनेका जोक्स हमालले खोजेर हेर्दैनन्। तर, उनका केही साथी छन्, जसले हमालमाथि बनेका जोक्स म्यासेन्जरमा पठाइदिन्छन्। ‘आफैँ खोजेर त हेर्दिनँ। तर मेरा साथीहरुले नयाँ जोक्स आयो भने पठाइदिनुहुन्छ,’ हमालले कुराकानीकाक्रममा काठमाडौं प्रेसलाई सुनाए।  

आफूमाथि आएका जोक्स हेर्दा, सुन्दा र पढ्दा उनलाई न आपत्ति छ, नत घृणाभाव नै।  बरु उनी जोक्स पढेर हाँस्छन्, रमाइलो गर्छन्। ‘मलाई कुनै आपत्ति छैन। म त्यसलाई वस्तुगत हिसाबमा लिन्छु। जोक्स पढिसकेपछि बहुत रमाइलो गर्छु,’ हमालले भने। 

हमालले आफ्नो सर्कलमा मात्रै होइन, सार्वजनिक कार्यक्रममा समेत आफूमाथि बनेका जोक्स सुनाउँछन्। त्यसरी जोक्स सुनाउँदा उनी आफैँलाई रमाइलो लागेको बताउँछन्। ‘म सेन्स अफ ह्युमर मन पराउने मान्छे हुँ। मेराबारेमा बनेका भल्गर जोक्स अहिलेसम्म भेटेको छैन। सेन्स अफ ह्युमर प्रयोग गरेर बनाइएका जोक्स सुनाउन मलाई रमाइलो लाग्छ,’ उनले भने, ‘कतिपय जोक्सहरु टु दी प्वाइन्ट सटिक पनि लाग्छ। कहिलेकाहीँ त गज्जबको सिर्जना हो भन्ने पनि लाग्छ।’

‘म नरहेपनि जोक्सको श्रृंखला चलिरहन सक्छ’

हमालमाथि बन्ने जोक्स मौसम अनुसारका हुन्छन्। पहिले भुइँचालोका जोक्स बनेका थिए, त अहिले कोभिड–१९ का।  त्यति मात्रै हाईन, बजारमा के टे«न्डिङमा छ, त्यो विषयमा राजेश हमाल जोडिएर जोक्स बनिहाल्छन्। त्यसैले त उनलाई लाग्छ यो श्रृंखला लामो समयसम्म चल्न सक्छ। 

‘मलाई लाग्छ कि जोक्सको श्रृंखला यसरी नै गइरह्यो भने म नरहेपनि यो जारी रहिरहन्छ । एक जमानामा राजेश हमाल थियो रे भनेर पनि चल्न सक्छ। पुस्तौसम्म किंबदन्ती जस्तो हुनसक्छ,’ राजेशले भने। 

उनलाई आफ्नैबारे जोक्स लेख्ने इच्छा समेत रहेछ। कुनै बेला समय मिलेमा वस्तुगत हिसाबमा जोक्स लेख्ने उनको इच्छा छ। ‘भ्याएँ भने आफ्नैबारेमा जोक्स लेख्छु। वस्तुगत हिसाबमा,’ उनी भन्छन्।  

उनका विषयमा आएका जोक्स उनी मात्रै पढ्दैनन्, श्रीमती मधु भट्टराईलाई समेत देखाउँछन्। जोक्स पढ्छन् र दुवै जना मज्जाले हाँस्छन्। ‘मैले नै नयाँ जोक्स कतै आयो भने उनलाई देखाउँछु। दुवै जनाले पढ्छौं र मज्जाले हाँस्छौं,’ हमाल भन्छन्, ‘जोक्स बनाउनेमा समेत गज्जबको सेन्स अफ ह्युमर छ।’
हमालमाथि किन बन्छन् त जोक्स ? यसमा उनको सटिक जवाफ छ– दर्शकको माया, आत्मीयता र भाइचरा। 

दर्शकले रुचाएकै कारण आफूलाई पात्र बनाएर जोक्स बन्ने गरेको हमालको बुझाईछ ।

‘उहाँहरुले मलाई चाहनुहुन्छ। मेरो कलाकारिताको यात्रामा कति यस्ता दर्शक हुनुहुन्छ। उहाँहरुले आत्मीय हिसाबले लिनुहुन्छ। मेरो दर्शक फ्यान र कलाकारको नातासँगै नेपाली समुदायसँग आत्मीय र भाइचाराको सम्बन्ध पनि छ,’ उनी भन्छन्, ‘त्यसैले पात्रलाई दर्शकले आफ्नो दिमागमा राख्नुहुन्छ।’

प्लेनमा आफ्नै जोक्स सुन्दा...

एक पटक हमाल बेलायतबाट भारत हुँदै काठमाडौं आउँदै थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम थियो। जहाज आकाशमै होल्ड गरिएको थियो। हमाल चढेको जहाजका चालकले अनाउन्स गरे- ट्राफिक जामका कारण जहाज आधा घण्टा होल्ड हुँदैछ। फेरि आधा घण्टा वितिसकेपछि चालकले पुनः यही व्यहोराको अनाउन्स गरे। 

एक घण्टा आकाशमा चक्कर लगाउँदा यात्रु निराश थिए। उनीहरुको मुहारमा अत्यासको बादल समेत मडारिएको थियो। हमाल आफैँ पनि आत्तिएका थिए। तर, यत्तिकैमा एक जना सिटबाट उठे अनि ठूलो स्वरमा भन्न थाले( साथीहरु नडराउनुस्, हामीलाई केही हुँदैन। किनकि हामीसँगै राजेश दाइ हुनुहुन्छ।

त्यसपछि जहाजमा हाँसो मच्चियो। ती यात्रुले जोक्स भनेपछि यात्रुहरुलाई हल्का भयो। जबकि जोक्सका पात्र हमाल आफैँलाई पनि। 

‘अत्यास भइरहेको समयमा मज्जाले हाँसियो। जोक्स सुनेपछि केही हल्का महसुस भयो,’ उनले भने।   

भदौ ३१ गते बिहानै सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो।  भूकम्प गएको केही समय पछि राजेश हमालका साथीहरुले जोक्स पठाउन थाले( ‘नआत्तिऔ यो भूकम्प होइन राजेश हमालको फोन भाइब्रेट भएको हो।’ 

फेरि अर्को जोक्स आयो( ‘राजेश हमाल आज बिहानै रोमान्टिक भएछन्।’ अर्को पनि जोक्स हमालले पढे( ‘राजेश दाइले पुसअप गर्न थालेछन्।’

राजेश हमालमाथि बनेका केही चर्चित जोक्स 

यस पटकको दशैंमा राजेश दाइले गर्नुभएको ठूला–ठूला कामः
- दाइले एक आना जग्गामा जमरा राख्नुभाको छ।
- ४५ हजार रुपैयाँ पर्ने १ सय ५० किलोको खसी आफ्नै हातले काट्दै हुनुहुन्छ।
- खसीको रक्ति थाप्न हिल्टेकको ५ सय लिटरको ट्यांकी ल्याइने भएको छ।
- खसीको भुत्लाले कुन्यू बनाउने विचार गर्नुभएको छ।
- टीका बनाउन मात्र ५० किलो बासमती चामल किन्नुभएको छ।
- दक्षिणा दिन राष्ट्र बैंकबाट २५ लाख रुपैयाँ साटेर ल्याउनुभएको छ।

.....

-राजेश दाइले जिन्दगीमा जम्मा दुई पटक मात्र दीपावली मनाएका छन्। ती दुई दीपावलीलाई मानिसहरूले प्रथम विश्वयुद्ध तथा द्वितीय विश्वयुद्धका रूपमा चिनेका छन्।

............
रजनीकान्त : एउटा प्रश्न सोधूँ ?
राजेश दाइ : सोधिसकिस् ।
रजनीकान्त : अर्को सोधूँ
राजेश दाइ : भर्खरै सोधिस् ।
रजनीकान्त : जम्मा चार वटा प्रश्न सोधूँ ?
राजेश दाइ : के रे ? फेरि भन् ।
रजनीकान्त : मैले भनेको जम्मा चार वटा प्रश्न सोधूँ ?
राजेश दाइ : त्यो पनि भर्खरै सोधिसकिस्, अरू केही छ सोध्नु ?
रजनीकान्त : (दिक्क हुँदै) छैन दाइ ।
.........
गायक डम्बर नेपाली आफ्नो एउटा गीत गाउँदै थिए। ‘आज आकाशमा एउटा तारा देखिनँ..’

राजेश हमालले उक्त गीत सुनेको पाँच मिनेटपश्चात् डम्बरलाई फोन गरेर भने( डम्बर भाइ हिजो पनि यो आकाशमा ९५ ८० ४७ ३६ ३६ ७५ ८८ ७० ६४ ३६ ०५ ६४ ३२ २५ ८७० वटा तारा थिए र आज पनि ९५ ८० ४७ ३६ ३६ ७५ ८८ ७० ६४ ३६ ०५ ६४ ३२ २५ ८७ ० वटै तारा छन्। तिमीले कुन चाहिँ ताराको कुरा गरेको?

डम्बर बेहोस्, अहिले उनलाई आईसीयूमा राखिएको छ ।
.....
राजेश दाइको अर्को सिर्जना
दशैं उपहार कार्यक्रम

यता उपहार उता उपहार

जताततै उपहारै उपहार

डोको किन्दा नाम्लो उपहार

खसी किन्दा दाम्लो उपहार

शाकाहारीलाई मासु उपहार

बिहे गरे सासू उपहार

क्रिम किने लाली उपहार

दिदी भगाए साली उपहार

फुटबल खेल्दा गोल उपहार

ट्वाकेन्द्रलाई झोल उपहार

श्रीमतीका लागि माला उपहार

चुम्बन गर्न गाला उपहार ।
....
राजेश दाइ भन्छन् : पानी खोज्दा बियर भेटियोस्, धारो खोल्दा वाइन बगोस्, कुखुरा खाँदा साँप्रो परोस्, खसीको मासु खाँदा ह्याकुलो आओस्, सबैलाई दशैंको शुभकामना।

केही रोचक कुरा 
राजेश दाइ हत्केलाले सूर्य छेक्न सक्नुहुन्छ।

ताल परे पनि राजेश दाइ हमाल नपरे पनि हमाल।

राजेश दाइ नयाँ किताब पढ्छन् अनि कोट पनि नयाँ नै लगाउँछन्।

राजेश दाइ रोम गएपनि आफ्नै स्टाइल फलो गर्छन्।

राजेश दाइ होइनन् चोर, तर पनि उनकै छ सबैभन्दा ठूलो स्वर।

राजेश दाइले एउटा कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखेर सोझो बनाउनुभो।

राजेश दाइका लागि बाँदरको पुच्छर लौरो पनि हो, हतियार पनि हो।

राजेश दाइको काम जतातिर, कुम्लो बोकी निर्देशक पनि त्यतैतिर।
 

प्रकाशित मिति: २२:०९ बजे, शनिबार, कात्तिक ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्