कोरोनाबाट बुटवल र तानसेनमा दुई जनाको मृत्यु
काठमाडौं, कात्तिक ८ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको बुटवल र पाल्पाको तानसेनमा आज बिहान दुई जनाको मृत्यु भएको छ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा तिलोत्तमा...
काठमाडौं, कात्तिक ८ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको बुटवल र पाल्पाको तानसेनमा आज बिहान दुई जनाको मृत्यु भएको छ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय बृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ५ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा कोरोना परीक्षण गर्दा त्यहि दिन संक्रमण पुष्टि भएको थियो। उनको उपचारका क्रममा आज बिहान ७ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए। यससँगै रूपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
त्यस्तै, पाल्पाको तानसेनस्थित मिसन अस्पताल, भुषालडााडामा उपचारका क्रममा तानसेन नगरपालिका–१, गैरागाउँका ५६ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।
ढाड दुख्ने समस्या भएपछि उनलाई उपचारका लागि मिसन अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा कोरोना परीक्षण गर्दा असोज ३० गते संक्रमण पुष्टि भएको थियो।
उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको पन्थीले बताए। योसँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ।