Kathmandu Press

गोर्खा ब्रुअरीका काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियरको गुणस्तर लोकल रक्सी सरह भएको विभागको ठहर

गोर्खा ब्रुअरीले नेपालमा उत्पादनगर्ने काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियरमा माल्ट (प्रशोधित जौं) नभई कनिकाको मात्रा धेरै प्रयोग गरेको ठहर गर्दै आन्तरिक राजश्व विभागले वियरको मान्यता नदिई लोकल रक्सी सरह मान्यता दिएको छ।
गोर्खा ब्रुअरीका काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियरको गुणस्तर लोकल रक्सी सरह भएको विभागको ठहर

काठमाडौं, असोज २८ : बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले नेपालमा उत्पादन गरेका चारवटा फरक फरक नामका वियर गुणस्तरहिन र हानिकारक भएको भन्दै कारबाही गर्ने तयारी गरेको छ। 

गोर्खा ब्रुअरीले नेपालमा उत्पादनगर्ने काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियरमा माल्ट (प्रशोधित जौं) नभई कनिकाको मात्रा धेरै प्रयोग गरेको ठहर गर्दै आन्तरिक राजश्व विभागले वियरको मान्यता नदिई लोकल रक्सी सरह मान्यता दिएको छ। ‘वियरको लागि प्रशोधित जौमा हुनुपर्ने कनिकाको मात्रा ५० प्रतिशतभन्दा बढी भेटिएपछि प्राविधिक टोलीले अनुगमन गरेको हो। सोहीअनुसार हामीले लोकल रक्सी सरहको मान्यता दिएर अन्तशुल्क बढाउने निर्णय गरेका छौ’ विभागका एक उच्च अधिकारीले काठमाडौं प्रेससँग भने, ‘हामीले १० वटा ब्रुअरीको गुणस्तर चेक गरेका थियौ, गोर्खा ब्रुअरी मात्रै मापदण्डभन्दा निकै तल रहेको भेटियो।’

गोर्खा ब्रुअरीले उत्पादन गर्ने चारै नामको वियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएको छ। वियरका लागि शुद्ध जौ नै हुनुपर्छ। नेपालमा राम्रो बजार हिस्सा ओगटेको गोर्खा ब्रुअरीका वियरहरुमा कनिकाको मात्रा बढी हुँदा त्यसले स्वास्थ्यमा पनि बढी असर गर्छ। ‘गोर्खा ब्रुअरीले उत्पादन गर्ने वियरहरुमा जौको गुणस्तर नपुगेकाले वियरको अन्तःशुल्क नभई अन्य स्थानीय रक्सी सरहको अन्तःशुल्क तिर्नुपर्ने निर्देशन हामीले दिएका छौं’, आन्तरिक राजश्व विभागका निर्देशकले भने। 

वियरमा हुनुपर्ने गुणस्तर नभएपछि आन्तरिक राजश्व विभागले अन्तःशुल्कको मूल्य बढाइ दिएको छ। वियर बनाउन कनिकाको मात्रा प्रयोग गर्नु भनेको लोकल रक्सी बनाउने प्रविधि हो। यसले गुणस्तर पनि कम हुने, सस्तो पनि पर्ने र जनस्वास्थ्यमा पनि असर गर्ने विभागको धारणा छ। 

वियरमा सरकारले प्रतिलिटर १ सय ६५ रुपैयाँ अन्तःशुल्क तोकेको छ। तर, कनिका बढी हालेका कारण विभागले गोर्खा ब्रुअरीका उत्पादनलाई वियरको मान्यता नदिई अन्य सरहको अन्तःशुल्कका लागि कम्पनीलाई निर्देशन दिएको छ। लोकल रक्सी सरहको मान्यता पाएपछि अब गोर्खा ब्रुअरीले उत्पादन गर्ने चारवटा वियरले प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तःशुल्क तिर्नुपर्ने हुन्छ। 

गोर्खा ब्रुअरीलाई यस विषयमा केही जानकारी नभएको भन्दै कुरा गर्न चाहेन। ‘के भएको छ मलाई त थाहा छैन’ गोर्खा ब्रुअरीका बजार निर्देशक बैभव शर्माले काठमाडौं प्रेससँग भने। शर्मासँग गोर्खाका उत्पादनबारे जानकारी लिन खोज्दा जवाफ नै नदिई फोन राखेर त्यसपछि फोन उठाउन छाडे। 

विभागले यसअघि बजारमा पठाइसकेको वियरको पनि नयाँ अन्तःशुल्क कायम गर्न खोजिरहेको छ। यही विषयमा थप अनुसन्धान गर्नका लागि दुवै आन्तरिक राजश्व र भन्सार विभागले छलफल गरिरहेका छन्। 

विभागले गोर्खा ब्रुअरी, माउन्ट एभरेष्ट ब्रुअरी, हिमालयन ब्रुअरी, यती ब्रुअरी, शेर्पा ब्रुअरी, सिजी ब्रुअरी, नेपाल ब्रुअरी, टाइगर ब्रुअरी, याक ब्रुअरी, राज ब्रुअरीको उत्पादनमागुणस्तर परीक्षण गरेको थियो। 

अरू नौवटा कम्पनीका उत्पादनमा गुणस्तर पुगेको भेटिएको छ। गोर्खा ब्रुअरीको उत्पादनमा वियरमा आवश्यक पर्ने प्रशोधित जाैको मात्र थोरै राखी नाफा कमाउने उद्देश्यले कनिकाको मात्रा बढी प्रयोग गरिएको देखिएको विभागको ठहर छ।

प्रकाशित मिति: १८:३५ बजे, बुधबार, असोज २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्