बुधबार, कात्तिक ५, २०७७

कोरोना परीक्षणमा ‘एन्टीजेन किट’ प्रयोग गर्ने सरकारको तयारी, पीसीआर र एन्टीजेनमा के फरक छ ?

काठमाडौं, असोज २१ : सरकारले कोरोनाको रिपोर्ट छिटो आउने प्रविधिसहितको एन्टीजेन किटबाट कोरोना परीक्षण गर्ने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर भन्दा छिटो नतिजा दिने एन्टेजेन किटमार्फत कोरोना परीक्षण गर्न सकिने गरी कोभिड–१९ राष्ट्रिय टेस्टिङ गाइडलाइनमा परिवर्तन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गाइडलाइनलाई चौथो पटक अपडेट गर्दै ‘क्राइट एरिया फर एन्टीजेन बेस टेस्टिङ’ समावेश गरिएको जानकारी दिए।

उनले एन्टीजेन किटबाट परीक्षण गर्दा चाँडो रिपोर्ट आउने र धेरै जनाको छोटो समयमा परीक्षण गर्न सकिने भएकाले यसको प्रयोग गर्न लागिएको बताए। ‘धेरै भिडभाड हुने ठाउँमा र धेरै जनालाई छिटो रिपोर्ट आउने गरी परीक्षण गर्न सकिन्छ। अर्जेन्ट रिपोर्ट चाहिएको खण्डमा पनि यो उपयोगी हुने देखिन्छ,’ डा. गौतमले काठमाडौं प्रेससँग भने, ‘धेरै मानिस बस्ने ब्यारेक लगायतका स्थान र अप्रेशन गर्नुपर्ने बिरामीको कोरोना परीक्षण गर्नुपरेमा यो १० मिनेटमा रिपोर्ट आउने भएकाले उपयुक्त हुनेछ।’

मन्त्रालयले परिवर्तन गरेको गाइडलाइनमा एन्टीजेन टेष्टको रिपोर्ट पोजेटिभ आएमा संक्रमित व्यक्तिलाई आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ। यदि कसैको रिपोर्ट नेगेटिभ आयो र उसमा लक्षण छैन भने उसको परीक्षण नगरिने गौतमले बताए। तर एन्टीजेन टेष्टको रिपोर्ट नेगेटिभ आएका र लक्षण भएका व्यक्तिलाई आइसोलेसनमा राखिने र पीसीआर परीक्षण गरिने गौतमको भनाइ छ।

‘एन्टीजेन नेगेटिभ आएका तर लक्षण भएका व्यक्तिले पीसीआर रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्नु पर्नेछ,’ गौतमले भने।

केही निजी कम्पनीले सरकारसँग अनुमति लिएर एन्टीजेनको परीक्षण ल्याब टेष्ट गरिरहेका छन्। प्यासिफिक समूहले धुलिखेल अस्पतालमा एन्टीजेनको परीक्षण गरिरहेको छ। उनीहरुले पीसीआर परीक्षण गरिएकै स्वाबमा एन्टीजेन टेष्ट गरेर एकुरेन्सी हेरिरहेका छन्। 

‘पीसीआर र एन्टीजेनको रिपोर्टको समानता कति मिल्छ हेरेर मात्रै हामी बजारमा जान्छौँ,’ परीक्षणमा सहभागी एक प्राविधिकले भने, ‘केही हप्तामा हामी बजारमा लैजाने कि नलैजाने भन्ने निष्कर्षमा पुग्छौँ।’ प्यासिफिक ग्रुपले अमेरिकाबाट एन्टीजेन टेष्ट किट र मेसिन ल्याइसकेको छ।

के हो एन्टीजेन टेष्ट?

एन्टीबडी टेष्ट र एन्टजेन टेष्ट दुई प्रकारका टेष्ट हुन्। यी दुवै शरीरमा भाइरस छ कि छैन भनेर परीक्षण गर्ने विधि हो। यद्यपी एन्टीबडी टेष्टले कोरोना नै हो भनेर रिपोर्टमा ठम्याउन सक्दैन। सरकारले सुरुमै पीसीआर गर्न छाडेर एन्टीबडी टेष्ट गरेको थियो। तर, चौतर्फी विरोध भएपछि सरकारले यो टेष्ट बन्द गरेको हो।

अहिले भने सरकारले एन्टीजेन टेष्ट गर्न कार्यविधि तयार गरेको छ। एन्टीजेन टेष्टबाट व्यक्तिमा कोरोना संक्रमित छ वा छैन भन्ने पत्ता लगाउन सकिन्छ। र, यसको अर्को सकारात्मक पक्ष छिटो रिपोर्ट आउने हो ।

कुनै इमरजेन्सीको बिरामीको उपचार गर्न, ठूलो मिटिङ वा कार्यक्रम गर्नु अघि यो टेष्ट गर्न सकिन्छ। यसले बढीमा १० मिनेटमा नतिजा दिने भएकाले तत्काल गर्नुपर्ने काममा कोरोना संक्रमित कोही पनि नहोउन्  भन्न यो परीक्षण प्रभावकारी मानिन्छ।

एन्टीजेन टेष्ट पनि पीसीआर जस्तै स्वाबबाट परीक्षण गर्ने विधि हो। पोर्टेबल सानो मेसिनमा किट राखेर यसको परीक्षण गरिन्छ।

टेष्ट गर्ने बेला एन्टीजेन टेष्ट किटलाई न्यूनतम २ डिग्री र अधिकतम ३० डिग्रीको तापक्रमको बीचमा राख्नुपर्ने छ।

पीसीआर र एन्टीजेन परीक्षणमा के फरक छ?

हालसम्म विश्वभर पीसीआर (पोलिमेरास चेन रियाक्सन) परीक्षणलाई कोरोनाको भाइरस पत्ता लगाउने भरपर्दो विधिको रुपमा मानिन्छ।

यो परीक्षणमा जेनेटिक मेटेरियललाई एक स्वाब स्याम्पलबाट अलग गरिन्छ। केमिकल्सको प्रयोगले प्रोटिन र फ्याटलाई जेनेटिक मेटेरियलबाट हटाएर नमूनालाई मलिकुलर ल्याबमा एनालाइसिसका लागि राखिन्छ। यसले स्वाबमा भाइरस छ कि छैन भन्ने प्रष्टसँग देखाउँछ।

तर, पीसीआर परीक्षण कम्तिमा पनि ७ घण्टा समय लाग्छ। स्वाबको तामक्रमलाई निश्चित डिग्री तापक्रम तल र माथि गरेर भाइरस हेर्ने गरिन्छ। पीसीआरमा रिएजेन्टको पनि तापक्रम कामय राख्नुपर्ने हुन्छ भने स्वाब कलेक्सनको पनि तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
एन्टीजेन परीक्षणले भने मानिसको शरीरमा भएको प्रोटिनलाई अलग गर्छ।

यो परीक्षणमा ५ देखि १० मिनेटभित्र रिपोर्ट निकाल्न सकिन्छ। तर, यो टेष्टको विश्वसनीयता पीसीआर परीक्षणको जति भने हुँदैन। यसको एक्युरेन्सी रेट पीसीआरको भन्दा कम हुन्छ। यसको प्रयोग मुख्यरुपमा हट स्पट एरियामा छिटो धेरै जनाको रिपोर्टका लागि गर्ने गरिन्छ।

परीक्षणको दायरा बढाउन विभिन्न देशले सस्तो र चाँडो नतिजा दिने एन्टीजेन टेष्टलाई अनुमति दिएका छन्। भारतको मेडिकल रिसर्च संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले दक्षिण कोरिया, भारत र बेल्जियममा विकसित भएका तीन एन्टीजेन टेष्टलाई अनुमति दिएको छ। यस्तै, अमेरिका र क्यानडामा समेत यसको प्रयोग भइरहेको छ। आईसीएमआरले गरेको एक अध्ययन अनुसार यो टेष्टको सही नेगेटिभ नतिजा दिने एक्युरेसी रेट ५० देखि ८४ प्रतिशतबीचमा छ।

बेलायतमा आमरुपमा प्रयोग हुने र्या पिड टेष्टमा गल्तीको मार्जिन २० प्रतिशत छ। तर, अक्सफोर्डले विकसित गरेको टेष्ट किटले भने ९८ प्रतिशतसम्म पोजेटिभ केस पत्ता लगाउने गरेको बताइएको छ। यसलाई स्वतन्त्र रुपमा रिसर्चर र हेल्थ एक्सपर्टले चेक गरेका थिए।

विश्व स्वास्थ्य संगठनल र युएस फुड ड्रग एडमिनिस्ट्रेशनले यदि कुनै र्‍यापिड टेष्टको नतिजा नेगेटिभ आएमा पीसीआर परीक्षण गर्नुपर्ने बताएका छन्।
 

 Published Date: Wednesday, 7th October 2020 7:11:00 pm