Kathmandu Press

अन्तरप्रदेश चल्ने सवारीसाधन अब अनिवार्य परीक्षण गराउनुपर्ने

अन्तरप्रदेश चल्ने सवारीसाधन अब अनिवार्य परीक्षण गराउनुपर्ने
फाइल तस्वीर।

काठमाडौं, असोज १४ :  यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभागअन्तर्गतको कार्यालयबाट गराउन अनुरोध गरेको छ।

विभागले बुधबार सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक वा मालवाहक सवारी साधनलाई विभागअन्तर्गतको कार्यालयमा परीक्षण गर्न अनुरोध गरेको छ। प्रस्थान, गन्तव्य वा बाटामा सङ्घीय विभागअन्तर्गतको सवारी परीक्षण कार्यालय नहुँदा सवारीधनीले प्रदेश सरकारको यातायात व्यवस्था कार्यालयबाट परीक्षण गर्न सक्ने बताइएको छ।

Hardik ivf

मन्त्रिपरिषद्को गत असार २९ को निर्णयानुसार साउन १ देखि सो नियम लागु गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशका मुख्यमन्त्री कार्यालयमा यससम्बन्धी पत्राचार भइसकेको छ। सवारीसाधनका सबै किसिमका परीक्षण नभएको पाइएमा विभाग र ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गर्ने उल्लेख छ। सो व्यवस्थाको उल्लङ्घन भएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने उल्लेख छ। 

संविधानअनुसार सवारी साधनको व्यवस्थापनको जिम्मेवारी तीनै तहका सरकारलाई दिइएको छ। एउटै पालिकाभित्रका सवारी साधनको व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, प्रदेशभित्रको प्रदेश सरकार र दुई वा सोभन्दा बढी प्रदेशमा चल्ने सवारी साधनको व्यवस्थापनको जिम्मेवारी संघीय सरकारको हुने उल्लेख छ। रासस

प्रकाशित मिति: ०१:४२ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्