Kathmandu Press

सरकारी कार्यालय कि ‘कोरोनाका बम’? ठेलमठेल भिडमा न दुरी कायम, न सावधानी!

विज्ञ भन्छन्– सरकारको कमजोरीले अवस्था भयानक हुन सक्छ ।
सरकारी कार्यालय कि ‘कोरोनाका बम’? ठेलमठेल भिडमा न दुरी कायम, न सावधानी!
Hardik ivfHardik ivf

काठमाडौं, असोज १३ : सोमबार सानो ठिमीस्थित प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)को परीक्षा नियन्त्रण कार्यालयमा करिब ३ सय युवा लाइनमा थिए। सिटिइभिटीले संचालन गरेका कार्यक्रम पास गरेका युवाहरु ट्रान्सक्रिप्ट, प्रोभिजनल तथा माइग्रेशन सर्टिफिकेट लिने लाइनमा बसेका हुन।

प्रमाणपत्र वितरण गर्ने भवनको प्रवेशद्वारमै लेखिएको थियो–सामाजिक दुरी कायम गरौं। 

तर, लाइनमा बसेका युवाहरुले न सामाजिक दुरी कायम गरेका थिए, न त स्वास्थ्य सावधानी नै अपनाएका थिए। खचाखच लाइनमा बसेर शुल्क तिर्ने, फारम भर्ने काम चलिरहेको थियो। 

सिटिइभिटीका सुरक्षा गार्डलाई लाइन मिलाउन हम्मेहम्मे परिरहेको थियो। जनकपुरमा टिएसएलसी लेभल सकेर ट्रान्सक्रिप्ट लिन आएका सुरेश यादव भन्दै थिए, ‘कोरोना बढेको बढ्यै छ। सरकारी कार्यालयकै व्यवस्थापन यस्तो छ। जनकपुरदेखि आइयो ट्रान्सक्रिप्ट नलिउ भने पनि नहुने, लिउँ भने कोरोना याहिँ सर्छ भन्ने डरको  भो।’ 

परीक्षा नियन्त्रक दिपक पौडेलले भने प्रहरीलाई बोलाएर सामाजिक दुरी कायम गराउने प्रयास गर्दासमेत सफल नभएको बताए। ‘हामीले दुरी कायम गराएर काम गर्ने कोशिस गरेका हौं। तर, प्रहरी बोलाएर दुरी कायम गराउने प्रयाससमेत सफल हुन सकेन,’ पौडेलले भने, ‘जोखिम कम गराउने सन्दर्भमा हामी सजग छौं। तर, लामो समयपछि एकैपटक यातायातदेखि कार्यालय सबै खुल्दा विद्यार्थीको भिड बढेको छ।’

एक साता अघि मोटरसाइकलको ब्लु बुक नविकरण गर्न नविन लुइँटेल यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगे। उनी एकान्तकुना पुग्दा सेवाग्राहीको भिड थामिनसक्नु थियो। सामाजिक दुरी कायम गरिएको थिएन, मानिसहरु टाँसिएर लाइनमा बसेका थिए। 

एकान्तकुनाको भिड देखेर डराएका लुइँटेल यातायात व्यवस्था कार्यालय सतुंगल पुगे। सतुंगलको अवस्था पनि उस्तै थियो। ग्लोबल आइएमइ बैंकमा सेवा शुल्क तिर्नेहरुको ठूलो भिड लागेका थियो। त्यती नै ठूलो भिड यातायात व्यवस्था कार्यालयमा थिए। ‘पहिले एकान्तकुना गएँ। भिड देखेपछि डर लाग्यो। अनि सतुंगल पुगेँ। त्यहाँको अवस्था पनि उस्तै थियो,’ लुइँटेलले भने, ‘काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित भेटिँदै आएका छन्। अव्यवस्थाको पराकाष्ठा हेर्दा सरकारी कार्यालय होइन, कोरोना सार्ने अखडा जस्तो स्थिती देखेँ।’ 

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख नेत्रप्रसाद भट्टराई ६ महिनादेखि रोकिएको काम गराउन आएका सेवाग्राहीको भिड लाग्ने गरेको बताउँछन्। ‘भिडभाड बढेको छ। हामीले भौतिक दुरी कायम गर्नुस्, मास्क र स्यानिटाइजरको प्रयोग गर्नुस भनेका छौं। तर हाम्रो प्रयास सफल हुन सकेको छैन,’ उनी भन्छन्, ‘हामीले मानिसहरु लाइनमा बस्दा हुने जोखिमलाई ध्यानमा राखेर टोकन प्रणालीबाट काम गर्ने तयारी गरेका छौं। तर, हाम्रो मुख्य कमजोरी अनलाइन प्रणालीबाट काम गर्न नसक्नु नै हो। यसले कर्मचारी र सेवाग्राही दुवैलाई जोखिम बढाएको छ।’ 

सिटिइभीटी र यातायात कार्यालय त उदाहरण मात्रै हुन्। देशभरका सरकारी कार्यालयमा सेवाग्राहीको चाप बढेको छ। विशेषगरी काठमाडौं उपत्यकामा सरकारी कार्यालयमा सेवाग्राहीको चाप उच्च छ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण रोकिएका काम गर्न सेवाग्राही सरकारी कार्यालय पुग्ने गरेका छन्। कोरोना संक्रमणको ग्राफसमेत उच्च गतिमा बढिरहेको रहेको काठमाडौं उपत्यकाका सरकारी कार्यालयमै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा जोखिम थप बढेको छ। 

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सामाजिक दुरी कायम गर्न र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ। मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डसमेत जारी गरेको छ। तर, मन्त्रालयले जारी गरेको मापदण्ड र आग्रहको धज्जी सरकारी कार्यालयमै उड्ने गरेको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सरकारी कार्यालय नै ‘कोरोना बम’ बन्न सक्ने अवस्था सिर्जना भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई सरकारी कार्यालयमै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको बारेमा जिज्ञासा राख्दा उनले अनविज्ञता प्रकट गरे। ‘हाम्रो कार्यालयमा सबैलाई मास्क लगाउन भनेका छौं, दुरी कायम गर्न भनेका छौं। अन्य कार्यालयलाई पनि अनिवार्य गराउन भनेका छौं’ उनले भने।

प्रवक्ता गौतमले अन्य कार्यालयमा भिडभाड भएको मास्क प्रयोग नभएको तस्विर देखाउन चुनौती दिए। हामीले सिटिइभिटीमा भएको भिडभाडको तस्विर उनको भाइबरमा पठाएर कुरा गर्न खोज्दा उनी तयार भएनन्। यद्यपी उनले मंगलबारको प्रेस ब्रिफिङमा सरकारी, निजी कार्यालयमा भिडभाड बढ्दा संक्रमण बढेको भन्दै अनिवार्यरुपमा सामाजिक दुरी कायम गर्न र हात धुने व्यवस्था मिलाउन आग्रह गरेका छन्।   

विज्ञ भन्छन्– सरकारको कमजोरीले अवस्था भयानक हुन सक्छ 

विज्ञहरुले सरकारी कार्यालयमा देखिएको हेलचेक्राइँले आगामी दिनमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने बताएका छन्। ‘सरकार इन्फरमेशन र कम्युनिकेसनको पार्टमा चुकेको छ। अहिले जसरी मानिसहरुको सरकारी कार्यालयमा भिडभाड देखिएको छ। यो गम्भीर लापरवाही हो,’ सरुवा रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पाले भनिन्, ‘चाडवर्प नजिकएको र कार्यालयदेखि सवारी साधनसमेत खुलेको अवस्थामा सावधानी अपनाउने कुरामा सरकार चुकेको छ।’  

उनले २ मिटर दुरी कायम गरेर मात्रै नपुग्ने र हावामा समेत भाइरस बाँच्ने तथ्य अध्ययनले पुष्टि गरेको अवस्थामा टाँसिएरै लाइन बस्नुपर्ने स्थिती दुःखद् भएको बताइन्। ‘सरकारको काम दैनिक यति संक्रमित थपिए, निको भए र यति जना मरे भन्ने मात्रै होइन,’ उनले भनिन्, ‘इन्फरमेसन र कम्युनिकेसनमा समेत ध्यान दिनुपर्ने हो। तर, त्यसो गरिएको देखिएन।’  

जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डे लकडाउन र निषेधाज्ञा खुलेपछि के गर्ने भनेर रणनीति बनाउन नसक्दा समस्या देखिएको बताउँछन्। ‘जनस्वास्थ्यका मापदण्ड पुरा भयो की भएनन् भनेर सरकारले अनुगमन र निगरानी गर्नुपर्छ। मापदण्ड पालना नगर्नेलाई कडा कारबाही गर्नुपर्छ। अन्य देशमा पनि यस्तो व्यवस्था गरिएको छ,’ उनी भन्छन्, ‘मास्क लगाउन नसक्नेलाई निःशुल्क मास्क वितरण गर्ने व्यवस्था मिलाउनुपर्छ। सरकारी कार्यलयमा सकेसम्म अनलाइन प्रणालीमा काम हुने व्यवस्था मिलाए पनि अहिले जस्तो भिडभाड हुने अवस्था आउँदैन थियो।’

उनले हरेक युद्ध बलले नभएर रणनीतिले जितिने भन्दै सरकारले छुट्टै रणनीति बनाएर अघि बढ्नुपर्ने बताए। ‘लामो समयदेखि कार्यालय नखुल्दा फाइन पर्ने डरले सेवाग्राही सेवा लिन गएका हुन्। सरकारले योबारे सोच्नुपर्छ। हेरक युद्ध बलले मात्रै होइन रणनीतिले जितिन्छ,’ उनले भने, ‘अहिलेसम्मको कोरोनाविरुद्धको युद्धको समिक्षा गर्दै नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ। होइन भने स्थिती नियन्त्रण बाहिर जानसक्छ।’ 

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्