Kathmandu Press

कोरोनाको मापदण्ड पालना नगर्ने ८ सय सवारी साधन कारबाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै असोज १ यता मापदण्ड पुरा नगरी संचालन भएका ७३० वटा सार्वजनिक सवारी कारबाहीमा परेका छन्।
कोरोनाको मापदण्ड पालना नगर्ने ८ सय सवारी साधन कारबाहीमा
Hardik ivfHardik ivf

काठमाडौं, असोज १३ : सरकारले तोकेको मापदण्ड पुरा नगर्ने सवारी साधन धमाधम कारबाहीमा पर्न थालेका छन्। ट्राफिक प्रहरीले मापदण्ड पुरा नगरी संचालन भएका करिब ८ सय सवारी साधनलाई कारबाही गरेको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै असोज १ यता मापदण्ड पुरा नगरी संचालन भएका ७३० वटा सार्वजनिक सवारी कारबाहीमा परेका छन्। यस्तै लामो दुरीका ७० वटा सवारी साधान कारबाहीमा परेका छन्। ‘असोज १ यता ७० वटा लामो दुरीका र उपत्यकाभित्र संचालन हुने ७३० वटा भन्दा धेरै सवारी साधन कारबाहीमा परेका छन्,’एसपी रामेश्वरप्रसाद यादवले भने, ‘उपत्यकामा दैनिक ६० वटा भन्दा धेरै सवारी साधन कारबाहीमा पर्ने गरेका छन्।’

सवारी संचालकहरुले यात्रु जवर्जस्ती चढेकाले मापदण्ड मिचिन पुगेको गुनासो गर्ने गरेका छन्। ‘उपत्यकाका सार्वजनिक यातायातमा यात्रु आफैं जवर्जस्ती चढ्ने गरेको गुनासो आउँछ,’ उनले भने, ‘उपत्यकामा सबै कार्यालय तथा व्यवसाय सञ्चालनमा छन्। तर सार्वजनिक यातायातमा भने जोरविजोर प्रणाली लागू छ । त्यसैले  यात्रुको धेरै भिडभाड भएको देखिन्छ।’ 

लामो दुरीको सावारी साधनमा भने हाल यात्रुको चाप धेरै नदेखिएको यादव बताउँछन्। ‘चाडपर्व नजिकै आइरहेको छ। यो समयमा लामो दुरीको सवारी साधनमा यात्रुको चाप बढ्न सक्छ। यही अवस्थालाई ध्यानमा राखेर ट्राफिक प्रहरीलाई सिभिल ड्रेसमा सार्वजनिक यातायतमा परिचालन गरिरहेका छौं।’

सरकारले असोज १ गतेदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा खुला गरेको थियो। सरकारले लामो दुरीको सवारी साधनमा सिट क्षमता भन्दा ५० प्रतिशत कम यात्रु राखि तोकिएको भाडा भन्दा ५० प्रतिशत बढि लिन पाउने गरी सञ्चालन गर्न अनुमति दिएको छ।

एक हजारदेखि पाँच हजारसम्म जरिबाना 

यातायात विभाग र स्वास्थ्य मन्त्रालयले सार्वजनिक सवारी साधन सञ्चालनको लागि निश्चित मापदण्ड तोकिदिएको छ। मापदण्ड उल्लंघन गर्नेलाई कारबाही  र जरिबानाको व्यवस्था गरिएको छ। प्रवक्ता यादवका अनुसार लामो दुरीका सवारी साधनलाई पहिलो पटक मापदण्ड पालना नगरेमा कारबाही गरेर छोडिन्छ।

‘नियम पालना नगरेको भेटिएमा साँझ ८ बजेसम्म रोकेर राखिदिन्छौं,’ उनले भने, ‘गल्ती पुनः दोहोरिएमा एक हजारदेखि पाँच हजारसम्म जरिबानासहित ८ घण्टासम्म रोकेर राख्छौं।’ उपत्यका सवारी साधन र लामो दुरीको सवारी साधनमा एउटै मापदण्ड रहेको उनी बताउँछन्।
 

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्